ओलीविरुद्धको आन्दोलनमा किन सँगै आउन सकेन विपक्ष ? – Nepal Press

ओलीविरुद्धको आन्दोलनमा किन सँगै आउन सकेन विपक्ष ?

संयुक्त आन्दोलन गर्ने प्रचण्डको प्रस्ताव देउवाले अश्वीकार गरेका थिए

काठमाडौं । सोमबार भक्तपुरमा आयोजित सभामा कांग्रेस सभापति शेरबहादुर देउवाले तीनपटकसम्म भने–कांग्रेस एक्लै आन्दोलन गर्छ । यसको अर्थ के हो ? प्रचण्डले राखेको संयुक्त आन्दोलनको प्रस्ताव अस्वीकार गरेका देउवाले सम्भवतः यही भाषणबाट उत्तर दिन खोजेका हुन् ।

प्रतिनिधिसभा विघटन विरुद्ध सबै विपक्षी दल सडकमा छन् तर एक्ला एक्लै । आखिर किन केपी ओलीविरुद्ध संयुक्त आन्दोलन हुन सकेन ? प्रतिनिधिसभा पुनर्स्थापनाको मागमै एकमत नभएपछि विपक्षी दलहरु छिन्नभिन्न मात्र भएका छैनन्, प्रचण्ड–माधव नेतृत्वको नेकपा बाहेक सबै दलमा दुई धार छन् ।

गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि नेपाली राजनीति नयाँ चरणमा प्रवेश गर्‍यो । प्रतिनिधिसभा विघटन गर्ने कदमविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्ष, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) लगायतले वक्तव्य जारी गरे ।

प्रतिनिधिसभा भंग भएको दोस्रो दिन कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेकपा प्रचण्ड पक्ष र जसपाका शीर्ष नेताहरु पुगे । तीन दलका नेताहरुबीच भएको बैठकले दुई बुँदे निर्णय गर्‍यो ।

सोही दिन कांग्रेस केन्द्रीय कार्यालयबाट जारी विज्ञप्तिमा ‘प्रतिनिधिसभा विघटन गरिएको कार्य असंवैधानिक र अलोतान्त्रिक भएको तीनै दलको समान धारणा छ । उक्त कार्यको विरोध गर्न तीनै दल सहमत भएका छन्’, भनिएको छ ।

यद्यपि प्रतिनिधिसभा विघटनको विरुद्ध रहेका तीनै दल सरकार विरुद्ध संयुक्त प्रतिवादमा उत्रिएका छैनन् ।

नेपाली कांग्रेसले सोमबार देभरका १६५ निर्वाचन क्षेत्रमा सरकारविरुद्ध प्रदर्शन गर्‍यो । जसलाई राजनीतिक रुपमा ‘आन्दोलनभन्दा निर्वाचनको तयारी’ जस्तो देखिएको भनी टिप्पणी गरिएको छ ।

तीन दलमध्येको जसपाले सभामुख अग्नि सापकोटालाई संसद बैठक बोलाउन औपचारिक आग्रह गर्नुका साथै पहिलो चरणको प्रदर्शन समेत सम्पन्न गरेको छ । त्यस्तै नेकपा प्रचण्ड पक्षले सडक प्रदर्शनलाई निरन्तरता दिएको छ । सरकारको कदमविरुद्ध मुख्य तीन राजनीतिक शक्ति सडकमा उत्रिए पनि आपसमा सहकार्य गरेका छैनन् ।

नेपाली कांग्रेस र जसपाभित्र नेकपा प्रचण्ड पक्षसँग मिलेर आन्दोलन गर्न नहुने मत बढी छ । कांग्रेस सभापति शेरबहादुर देउवाले त भक्तपुरको सभामै ‘कांग्रेस आन्दोलन वा निर्वाचन दुवै मोर्चामा एक्लै होमिने’ घोषणा गरे ।

पुस ६ गते सानेपामा भएको तीन दलको बैठकमा पनि संयुक्त आन्दोलन गर्न नेकपा अध्यक्ष प्रचण्डले गरेको प्रस्तावमा देउवाले असहमति जनाएका थिए ।

‘तीन दलको बैठकमा संसद विघटनविरुद्ध संयुक्त वक्तव्य र आन्दोलन निकाल्न हाम्रो तर्फबाट गरिएको प्रस्तावमा सहमति जुट्न सकेन’, बैठकमा सहभागी प्रचण्ड पक्षका एक नेताले भने । सो बैठकमा कांग्रेसले ‘संयुक्त आन्दोलन’ अस्वीकार गरेका कारण सडकमा छुट्टाछुट्टै प्रदर्शन भएको ती नेताले बताए ।

विभाजित नेकपा अध्यक्ष प्रचण्डले सरकारविरुद्धको लडाईंमा कांग्रेस र जसपासँग सहकार्यको अपेक्षा गरेका थिए । यद्यपि कांग्रेस र जसपा दुवै संयुक्त आन्दोलनको पक्षमा उभिएनन् । कांग्रेस नेता प्रकाशमान सिंह कांग्रेस एक्लै आन्दोलन गर्न सक्षम हुने बताउँछन् ।

‘कांग्रेसले एक्लै आन्दोलन हाँक्न सक्छ । कम्युनिष्टहरु शासन गर्न लायक छैनन् भन्ने सन्देश लिएर जनतामा जाने हो । कसैसँग टाँस्सिएर आन्दोलनमा जानुहुँदैन भन्ने मत पार्टीमा बलियो छ’, सिंहले नेपाल प्रेससँग भने ।

जसपाले पनि सरकारविरुद्ध चरणबद्ध आन्दोलन गरिरहेको छ । संयुक्त आन्दोलनबारे पार्टीमा छलफल भए पनि त्यसका लागि पर्खने अवस्था नबनेको जसपा नेता केशव झा बताउँछन् ।

‘तीन दलको बैठकमा संयुक्त आन्दोलनको चर्चा भएको नेताहरुले बताउनुभएको छ । संसद विघटन असंवैधानिक भएकोले अरु पार्टीलाई पर्खन भन्दा आन्दोलन थालिहाल्न उपयुक्त ठान्यौं’, झाले भने ।

पुस ६ गते यता तीन दलबीच संयुक्त आन्दोलनका विषयमा छलफल भएको छैन । तीनै पार्टीका नेताहरु तत्काल संयुक्त आन्दोलनको सम्भावना कम रहेको बताउँछन् । ‘कांग्रेस र जसपाले आन्दोलनभन्दा चुनावको तयारी गरेझैं देखिन्छ । त्यसैले तत्काल संयुक्त आन्दोलनको सम्भावना टरेको देखिन्छ’, प्रचण्ड पक्षका एक नेताले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर