लिटरेचर फेस्टिभलमा स्वास्थ्य बहस – Nepal Press

लिटरेचर फेस्टिभलमा स्वास्थ्य बहस

काठमाडौं । ‘शुक्रराज ट्रपिकल तथा टेकु अस्पताल कोरोनाविरुद्धको लडाइँमा कसरी एक नम्बर देखियो ?’ अस्पतालका विशेषज्ञ एवम् महामारीमा खटिने फ्रन्टलाइनर डाक्टर अनुप बास्तोलालाई यो प्रश्न सोधिएको थियो । डा. बास्तोलाले बेलीविस्तार लगाए, ‘नेपालमा पहिलो संक्रमित हामीले पत्ता लगाएपछि राज्य पनि तात्यो । रोगग्रस्त क्षेत्रबाट आएकालाई आइसोलेसन गर्न हामी तात्यौं । भारतमा संक्रमण बढ्न थालेपछि नेपालमा सजिलै बढ्न सक्छ भन्ने थाहा थियो । त्यतिबेला अन्य अस्पतालले ढोका लगाएर बसेका थिए ।’

एउटा प्रसंग झिक्दै उनी बोल्दै थिए, ‘निमोनिया भएको महिलालाई अन्य अस्पतालमा उपचार नगरेर कोरोना भन्ने ठानेर ढोका लगाएको अवस्था थियो । यस्तो बेलामा हामी रेस्पोन्डर भयौं ।’

टेकुले उपचार गर्न आउने कुनै पनि कोरोनाको बिरामीलाई घर फर्काएन । बास्तोलाका अनुसार टेकु टिम बलियो बनाउनतर्फ अघि बढ्यो । यसअघिका सरुवा रोगको अनुभव सँगालेको टेकुले अनवरत रुपमा बेस्ट उपचार दिन लागिपर्यो ।

आईएमई लिटरेचर फेस्टिभलको ‘कोरोनाले गलाएको जनस्वास्थ्य’ सेसनमा वक्ताका रुपमा उभिएका अनुपले कोरोनासँग लड्दै गर्दाको अनुभव सुनाए । अनुपसँगै थिए सङ्क्रामक रोग विज्ञ डा. अनुप सुवेदी र डा. रोलिना धिताल । प्रस्तोता थिइन् सोविता गौतम । डा अनुप समग्र कोरोना पक्षबारे नेपालमा राम्रा काम भइरहेको पनि सुनाउँछन् । यही प्रसंगमा दूरदराजमा भ्याक्सिन पठाउन सरकार नचुकेको बताउँछन् । ‘कोरोनाले हामीलाई धेरै पाठ पढाएको छ । पीसीआर मेसिन बढ्नु र जनमानसमा सचेतना बढ्नु ठूलो उपलब्धि हो,’ डा अनुप भन्छन् ।

कोरोनाकालमा कहाँ चुक्यौं ?

डा. रोलिना कोरोनाले स्वास्थ्य क्षेत्र गलाइनसकेको तर्क गर्छिन् । नेपालको स्वास्थ्य प्रणाली विश्वको तुलनामा बलियो नहुँदा पनि केही राम्रा पक्ष रहेको उनको दावी थियो । कोरोनाको सवालमा नेपालले यो लेभलको महामारी ह्याण्डिल गरेको पहिलो पटक हो । सुरुवाती चरणमा कोरोनाविरुद्ध नेपालको तयारी राम्रो रहेको उनको बुझाइ छ ।

‘नेपालले सुरुमा छिटो लकडाउन गरेर राम्रो काम गरेको थियो । पछि कन्ट्याक्ट ट्रेसिङमा बाटो बिरायौं ।’ रोलिनाले भियतनामसँग तुलना गर्दै भनिन्, ‘भियतनाममा एउटालाई संक्रमण भयो भने ६०० भन्दा बढीलाई ट्रेसिङ गरियो । हाम्रोमा रिसोर्स छैन भनेर बिरायौं । आज भियतनामले महामारीमा राम्रो गरेको छ ।’

यस्तो महामारीले पाठ सिकाएको उनको भनाइ थियो ।

कमजोर अनुसन्धान

संवादमा डा अनुप सुवेदीलाई प्रस्तोताको प्रश्न थियो, ‘स्वास्थ्यमा अनुसन्धान किन भइरहेको छैन ?’ डा सुवेदी यसभित्रका अन्तर्यबारे बोल्छन् । विश्वविद्यालयमा थुप्रै प्राध्यापक मेथोडोलोजी नबुझेका भएकाले रिसर्च कल्चरमा विकृति आएको बताउँछन् । ‘विश्वविद्यालयका प्राध्यापक आफैं जर्नल लेख्ने, आफैं प्रकाशित गर्ने, त्यो देखाएर प्रमोसन माग्ने कल्चर छ,’ डा सुवेदी भन्छन् ।

राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदमा पनि संरचनागत समस्या भएको उनको ठहर छ । ‘यसले इथिकल रिभ्यू गर्छ । तर, यहाँ ठूलो द्वन्द्व छ । कसैले अनुसन्धान गर्छु भनेर आयो भने स्वीकृति दिनेहरूको नाम प्राइमरी इन्भेस्टिकेसनमा राखिसकेपछि मात्र त्यो पास हुन्छ । बाहिरबाट पढेर आएर त्यहाँ रिसर्च गर्ने मान्छेको भन्नुभएको तीतो अनुभव छ, उहाँहरू अनुसन्धानको एप्लिकेसन हालेपछि ४/५ महिना झुलाइन्छ । जब कि त्यो सामान्य स्टडी हुन्छ,’ डा सुवेदी सुनाउँछन् ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.