राष्ट्रिय महिला क्रिकेटमा कर्णाली प्रदेश फराकिलो अन्तरले पराजित – Nepal Press

राष्ट्रिय महिला क्रिकेटमा कर्णाली प्रदेश फराकिलो अन्तरले पराजित

रुपन्देही । दाङको लमहीमा जारी प्रधानमन्त्री कप  राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता टी–२० अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा प्रदेश २ ले कर्णालीलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको प्रदेश २ ले सान्त्वना जित हासिल गर्ने क्रममा कर्णालीलाई १ सय ४३ रनले पराजित गर्यो ।
सोमबारको पहिलो खेलमा प्रदेश २ ले प्रस्तुत गरेको १ सय ६६ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको कर्णाली निर्धारित २० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर २२ रनमा सिमित भयो ।

कर्णालीका लागि ओपनर ब्याटर त्रिशना विश्वकर्माले ७ रन र आयुशा टन्डनले अविजित रहँदै ४ रन जोडिन् । बलिङतर्फ प्रदेश २ का लागि सरस्वती कुमारी र कविता गौतमले समान ३(३ विकेट लिदा सन्तोषी चौधरी र आरती चौधरीले पनि १–१ विकेट लिएका थिए ।

त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ३ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो। टिमले ठूलो योगफल खडा गर्ने क्रममा उसका लागि ओपनर ब्याटर अनुराधा चौधरीले अर्धशतकीय पारी खेलिन् । अविजित रहेकी उनले ६० बलमा ६ चौकासहित ६९ रन बनाइन् ।

टिमले सुरुवाती देखिनै राम्रो सुरुवात गरेको थियो ओपनरद्वय अनुराधा चौधरी र सोभा आले ले ६६ रनको ओपनिङ साझेदारी गरेका थिए । ७.२ ओभरमा पहिलो विकेटका रुपमा पभेलियन फर्किएकी सोभाले २४ बलमा २ चौकासहित २३ रन बनाइन् । यस्तै टोलीका लागि विमला मगरले २१ रन र सन्तोषी चौधरीले ७ रनको योगदान गरिन् ।

बलिङतर्फ कर्णालीका लागि निशा पराजुलीले २ तथा सुजाता बोगटीले १ विकेट हात पारिन् । यो सँगै प्रतियोगिताको समूह ए मा रहेको कर्णालीले समूह चरणका सबै खेल गुमाउँदै प्रतियोगिताबाट बहिरिएको छ । यता प्रदेश २ दुई खेलमा पराजित हुँदा एक खेलमा जित हासिल गर्न सफल भयो । यस समूहबाट लुम्बिनी प्रदेश र विभागीय टोली एपीएफ सेमिफाइनल पुगेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर