विश्व चर्चित फेसन ब्रान्ड केन्जोले नेपालको बाघ संरक्षणमा सघाउने – Nepal Press

विश्व चर्चित फेसन ब्रान्ड केन्जोले नेपालको बाघ संरक्षणमा सघाउने

पेरिसको फेसन ब्रान्ड क्यू केन्जोले नेपालको बाघ संरक्षणमा सहयोगी हात अघि बढाएको छ । इक्लेक्टिक र हाइ एनर्जी स्टाइलले विश्व चर्चित यो फेसन ब्रान्डले आफ्ना उत्पादन विक्री भएबापत १० प्रतिशत नेपालको बाघ संरक्षणमा जाने बताएको हो ।

उक्त च्यारिटी रकम विश्व वन्यजन्तु कोषमार्फत नेपालमा लगानी हुने जनाइएको छ । केन्जोले केही महिना पहिले डब्लुडब्लुएफसँग मिलेर क्याप्सुल कलेक्सन सार्वजनिक गरेको थियो । टिसर्ट, स्वेटसर्ट र हुडिज विक्रीको १० प्रतिशत बाघ संरक्षणका लागि भैरहेको प्रयासमा खर्चिने जनाइएको छ ।

यी पहिरनको मूल्य १९५ अमेरिकी डलरदेखि ४९५ सम्म छन् । सन् २०२० को अन्त्यसम्म यो फेसन ब्रान्डले बाघको संख्यालाई दोब्बर बनाउने डब्लुडब्लुएफको योजनालाई सघाउने भएको छ । यी दुई नामहरुको परियोजनालाई टीएक्सटु इनिसिएटिभ भनिएको छ ।

ग्लोबल टेक्सटाइटलको मापदण्डमा रहेर बनाइएका विशुद्ध सूतीका पहिरन बिक्रीमा केन्जो अगाडि छ । रिहाना, बियोन्से, सेलेना गोमेज र लर्डी यो उत्पादनका प्रशंसक छन् । सन् १९७० मा जापानी फेसन डिजाइनर केन्जो ताकाडाले ब्रान्ड स्थापना गरेका थिए ।

यसअघि पनि नेपालको बाघ संरक्षणमा हलिउड अभिनेता लियोनार्दो डिकाप्रियोले एक मिलियन अमेरिकी डलर सहयोग गरेका थिए । ‘टाइटानिक’ अभिनेता स्वयम नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमणमा आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *