लिभरपुल र टोटनह्यामले आ–आफ्नो खेलमा अंक बाँडे – Nepal Press

लिभरपुल र टोटनह्यामले आ–आफ्नो खेलमा अंक बाँडे

एजेन्सी । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले रेलिगेसन जोनमा संघर्षरत वेष्टब्रुमसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । पाँचौं स्थानको टोटनह्यामले पनि वुल्भ्ससँग समान नतिजा जोडेको हो ।

एनफिल्डमा अन्तिम १० मिनेट अग्रता जोगाउन नसक्दा लिभरपुल बराबरीमा रोकिनुपरेको हो । साडियो मानले १२ औं मिनेटमा गरेको गोलमाफर्त घरेलु टोलीले अग्रता बनाएको थियो ।

पुछारबाट दोस्रो स्थानमा रहेको वेष्टब्रुमले ८२ औं मिनेटमा गोल फर्कायो । म्याथ्युज पेरेइराको पासमा सेमी अजेयीले हेडमार्फत गोल गरेपछि लिभरपुलले २ अंक गुमायो ।

नाइजेरियाका अजेयीले प्रिमियर लिगमा जारी सिजन पहिलो गोल गरेका हुन् । लिभरपुललाई उसकै मैदानमा गोल गरेपछि वेष्टब्रुमका खेलाडीले ठूलो खुसियाली मनाएका थिए ।

बराबरीपछि १५ खेलबाट ३२ अंकसहित लिभरपुलले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ । वेष्टब्रुमका लागि भने यो बराबरीले खासै फरक परेको छैन । १९ औं स्थानमा रहेको उसले समान खेलबाट ८ अंक हासिल गरेको छ ।

टोटनह्यामलाई भने वुल्भ्सले बराबरीमा रोकेको हो । पाहुना टोली टोटनह्यामका लागि डोम्बेलेले पहिलो मिनेटमै गोल गरेका थिए । उसले पनि अन्तिम ५ मिनेटको अग्रता जोगाउन नसक्दा अंक बाँड्नुपरेको हो ।

८६ औं मिनेटमा रोमेन साइसले पेड्रो नेटोको पासमा गोल गरी टोटनह्यामबाट अंक खोसेका हुन् ।

बारबरीपछि १५ खेलबाट २६ अंकसहित टोटनह्याम पाँचौं स्थानमा उक्लिएको छ । म्यानचेस्टर सिटीको समान २६ अंक भए पनि गोलअन्तरमा पछि परेको हो । वुल्भ्सको भने १५ खेलबाट २१ अंक भएकको छ र तालिकाको एघारौं स्थानमा छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *