व्यापार घाटा झन्डै ११ प्रतिशत घट्यो, खुसी हुने कि दु:खी ! – Nepal Press

व्यापार घाटा झन्डै ११ प्रतिशत घट्यो, खुसी हुने कि दु:खी !

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को पाँच महिना व्यापार घाटामा १०.९१ प्रतिशतले कमी आएको छ । भन्सार विभागले बुधबार प्रकाशित गरेको मंसिर महिनासम्मको यो तथ्यांकले देशलाई फाइदा होइन उल्टै घाटा पुर्‍याएको बताउँछन्, पूर्व मुख्य सचिव विमल कोइराला ।

कोइरालाका अनुसार कोरोनाको महामारीपछि भएको व्यापार घाटा कमले उल्टै देश विकासलाई असर पारेको छ । अहिले व्यापार घाटा कम हुनुको मुख्य कारण कोभिड–१९ महामारी नै हो । कोभिडका कारण देश विकासका लागि चाहिने औद्योगिक सामान, कच्चा पदार्थ, इन्जिनियरिङ सामग्रीहरू अन्य मुलुकबाट न्यून मात्रमा आयात भएका छन् ।
देशका उद्योगधन्दा, कलकारखाना पूर्ण क्षमतामा चलेका छैनन् । नयाँ उद्योग व्यवसाय खुलेका छैनन् । यस्तो परिस्थितिमा देश विकासमा चाहिने सामग्रीको आयात कम भई व्यापार घाटा कम हुनु राम्रो कुरा होइन । यसले देशलाई दूरगामी असर गर्नेछ ।

भन्सार विभागको तथ्यांकअनुसार आव २०७७/७८ को साउनदेखि मंसिरसम्म ९.५९ प्रतिशतले आयातमा कमी आएको छ । आयातमा कमी आइरहेको बेला निर्यातमा भने वृद्धि भएको छ । निर्यातमा वृद्धि र आयात कम हुँदा व्यापार घाटामा करीब ११ प्रतिशतले कमी आएको हो ।

कोइराला भन्छन्, ‘हामीले उपभोग गर्ने दाल, चामल, पीठो, तेल, नुन जस्ता सामग्रीको आयातमा कमी भई व्यापार घाटा कम भएको अवस्थामा भने देश आत्मनिर्भरतातर्फ जान्छ । र, यसले देशलाई ठूलो फाइदा पुर्‍याउँछ । तर, अहिलेको तथ्याङ्कले उपभोग्य र विलासिताका सामानमा वृद्धि देखाउँछ । यो हुनु भनेको देश विकासका लागि बाधक हो ।’

आव २०७७/७८ को यो पाँच महिनामा ५० अर्ब ५ करोड ५६ लाख ८ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको छ । आव २०७६/७७ मा सोही समयमा नेपालबाट अन्य मुलुकमा ४७ अर्ब ६१ करोड ६८ लाख ३५ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको थियो । यो निर्यातमा ५.१२ प्रतिशतले वृद्धि भएको हो ।

‘निर्यातमा वृद्धि हुनु अत्यन्त राम्रो कुरा हो । तर, अझै पनि हामीले आफैं उत्पादन गरेर प्रशस्त निर्यात गर्न सकिरहेका छैनौं । अहिले भएको भटमासको तेललाई हेरौं । भटमास उत्पादन हाम्रो होइन । अन्य देशबाट ल्याएर यसलाई रिफाइन गरेर निर्यात गरिन्छ । जुन सबैभन्दा धेरै नेपालबाट निर्यात हुनेमा पर्छ । भटमास आफ्नो उत्पादन हुन्थ्यो त हामीले अझ धेरै आम्दानी गर्न सक्थ्याैं’, कोइरालाले भने ।

आव २०७७/७८ को मंसिरसम्ममा ५ खर्ब २५ अर्ब ४९ करोड ८१ लाख ४२ हजार रुपैयाँ बराबरको सामान नेपाल भित्रिएको छ । गत आवको मंसिर महिनासम्ममा नेपालमा विभिन्न मुलुकबाट ५ खर्ब ८१ अर्ब २५ करोड ७१ लाख १९ हजार रुपैयाँ बराबरको सामान आयात गरिएको थियो ।

आव २०७६/७७ को मंसिरसम्ममा कुल कारोबार ६ खर्ब २८ अर्ब ८७ करोड ३९ लाख ५४ हजार रुपैयाँ बराबरको रहेको थियो । आव २०७७/७८ मा ५ खर्ब ७५ अर्ब ५५ करोड ३७ लाख ५१ हजार रुपैयाँ बराबरको कुल कारोबार भएको छ ।
नेपालमा सबैभन्दा धेरै गत आवमा ४३ अर्ब ७ करोड ७८ लाख ६१ हजार बराबरको मिनरल फ्यूल, मिनरल तेललगायत सामग्री भित्रिएको छ । त्यसैगरी, यो पाँच महिनामा इलेक्ट्रिक मेशिनरी र इक्वीपमेन्टका साथमा यसका पार्टस्हरू ३६ अर्ब २४ करोड ६९ लाख ७६ हजार रुपैयाँ बराबरको नेपाल भित्र्याइएको छ ।

यसैगरी भारतबाट मात्र नेपालमा यो पाँच महिनाको अवधिमा ३ खर्ब ४५ अर्ब ६९ करोड ९२ लाख ८५ हजार रुपैयाँ बराबरको सामान आयात भएको छ । त्यसैगरी चीनबाट सोही अवधिमा ७७ अर्ब ४६ करोड २२ लाख ५५ हजार रुपैयाँ बराबरको सामान आयात गरिरहेको छ ।

व्यापार घाटा कम हुनुमा सरकारले गरेको नीतिगत व्यवस्था जस्तै सवारी कर्जामा कडाई, मुद्रा सटही सुविधामा कमीले पनि व्यापार घाटा कम गर्न सहयोग पुर्‍याएको छ ।

सरकारले यो पाँच महिनामा १ खर्ब १६ अर्ब १३ करोड २० लाख २१ हजार रुपैयाँ बराबरको राजश्व उठाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर