चिनियाँ कम्युनिस्ट नेताको टोली कहाँ के गर्दैछ ? – Nepal Press

चिनियाँ कम्युनिस्ट नेताको टोली कहाँ के गर्दैछ ?

वैकल्पिक गेटबाट नेतालाई छिराउँदै दूतावासभित्रै वार्तालाप

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउसहित चार सदस्यीय टोली आइतबार काठमाडौं अवतरण भएदेखिनै सबै गतिबिधि गोप्य राखिएका छन् । उनीहरुले नेपाल प्रहरीको तर्फबाट सुरक्षार्थ खटिएको टोलीलाई ‘सुरक्षा नचाहिने’ भन्दै फिर्ता जान अनुरोध गरेका थिए ।

एयर चाइनाको विशेष उडानमा बेइजिङबाट उनीहरु काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा अपराह्न १ बजेर ५७ मीनेट गएको थियो । उनीहरु कोरोनाबाट जोगिन पिपिइ सहित आएका थिए ।

अवतरणअघि नै नेपाल प्रहरीको भृकुटीमण्डपस्थित मुख्य घटना सहायता कार्यदल (नगर प्रहरी) ले इन्स्पेक्टर डिल्लीराज सापकोटाको कमाण्डमा ३० जनाको प्रहरी टोली विमानस्थलमा तैनाथ गरेको थियो ।

तर, उनीहरु पुग्नुअघि नै त्यहाँ चिनियाँ दूतावासबाट खटिएर पुगेका दुईजना सुरक्षाकर्मी पुगिसकेका थिए । ती सुरक्षाकर्मी दूतावासमा खटिने चिनियाँ सैनिक सहचारीमध्येका थिए ।

प्रहरी टोलीले चिनियाँ टोलीसँग समन्वय गर्न खोज्यो । इन्स्पेक्टर सापकोटाले विषयबारे जानकारी दिनासाथ चिनियाँ टोलीका कमाण्डरले भने, ‘उहाँहरु सरकारी काममा आउनुभएको होइन । ‘अर्कै काममा’ आएको बेला हामीले सरकारी सुरक्षा लिने गरेको छैन ।’

यसपछि इन्स्पेक्टर सापकोटाले आफ्ना कमाण्डर नगर प्रहरीका डिएसपी दिलिप खड्कालाई यसबारे जानकारी दिए ।

उनले पनि आफैँ जवाफ दिन सकेनन् । शुरुमा काठमाडौं प्रहरी परिसरका एसएसपी अशोक सिंहबाट आदेश मागे । अशोकले पनि उपत्यका प्रहरी प्रमुख एआइजी हरिबहादुर पालसँग सोधे । पालले पनि यसै भन्न सकेनन् ।

र, नक्सालस्थित हेडक्वार्टरमा सोधेपछि बल्ल एयरपोर्टमा तैनाथ इन्स्पेक्टर सापकोटाको टाेलीले आदेश पायो, ‘त्यहाँबाट उहाँहरु पुग्ने ठाउँको बाहिरसम्म पुग्नु, उहाँहरु भित्र छिरेपछि बाहिर अर्कै टोली पुग्छ, तपाईंहरु फर्किएर अफिस जानु ।’

उपमन्त्री गुओ येझाउको टोली विमानस्थलबाट सीधै बालुवाटारस्थित चिनियाँँ दूतावास गएको थियो । त्यसक्रममा नगर प्रहरीसहित गौशाला र पछि मालिगाउँ प्रहरी बृत्तको टोलीले नियमित ड्युटीको शैलीमा सुरक्षा दियो ।

नगर प्रहरीबाट खटिएको टोली बालुवाटार पुगेर भृकुटीमण्डप फर्कियो । तर, दूतावास अघिल्तिर मालिगाउँ प्रहरी बृत्तको एउटा टोली दिनभर बसिरहेको छ ।

काठमाडौंका प्रहरी प्रमुख अशोक सिंहले एउटै टोलीलाई नखटाएर आवश्यकताअनुसार विभिन्न टोलीले सुरक्षा दिने नीतिअनुसार नगर प्रहरी फिर्ता भएको नेपालप्रेसलाई बताए ।

‘उहाँहरु दूतावासबाट कतै निस्कनुभयो भने निस्कनासाथ हामीले दिने सुरक्षामा कुनै कमी छैन, टोली स्ट्याण्डबाई छ’, एसएसपी सिंहले बताए ।स्रोतका अनुसार उपमन्त्री गुओसहितको टोलीले नेकपा विवादबारे दूतावासभित्र परामर्श गरिरहेको छ । तर, त्यहाँ को–को गए ? यसबारे नेपालका कुनै पनि सुरक्षा निकाय जानकार छैनन् ।

स्रोतका अनुसार चिनियाँ दूतावास हाताको मूल प्रवेशद्वारबाहेक अरु दुई वटा वैकल्पिक प्रवेशद्वार छन् । ती द्वार विशालनगर र टुकुचा खोलातिर छन् । नेकपा नेताहरुलाई तिनै वैकल्पिक द्वारबाट भित्र्याइएको हुनुपर्छ । वा, बेलुकीमात्र नेताहरु बोलाइन सक्छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार, हरेक विदेशी पाहुना आउँदा उनीहरुको सुरक्षामा प्रहरी अनिवार्य तैनाथ हुन्छ ।‘उहाँहरुले चाहिएन भने पनि हामीले दिनुपर्ने सुरक्षा र गर्नुपर्ने जिम्मेवारी निर्वाह गरिरहेका हुन्छौँ, त्यो हाम्रो कर्तव्य हो’, उनले भने ।

प्रवक्ता कुँवरलाई नेपाल प्रेसले सोध्यो, ‘त्यसो भए उनीहरुले क–कसलाई भेटे त ?’ उनले भने, ‘हामीलाई सबै कुरा थाहा हुन्छ, तर यस्ता संवेदनशील पाहुना र विषयबस्तुबारे तपाईंहरुलाई केही पनि भन्न मिल्दैन ।’

चिनियाँ  टोलीका सबै भेटघाटहरु गोप्य राखिएका छन् । प्रधानमन्त्री सहित नेकपाका शीर्ष नेताहरुसँग भेट गर्ने भनिए पनि दुवै पक्षले खुलाएका छैनन् ।

विभाजित नेकपाका एक अध्यक्ष माधवकुमार नेपालका स्वकीय सचिव मोहन गौतमले भेट्ने कुरा तय भए पनि समय टुंगो नलागेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर