आईसीयूमा भर्ना भएका कोरोना संक्रमित अस्पतालबाट भागेपछि…. – Nepal Press

आईसीयूमा भर्ना भएका कोरोना संक्रमित अस्पतालबाट भागेपछि….

रुपन्देही । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष आइसोलेसन अस्पतालबाट एकजना कोरोना संक्रमित भागेका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको कोरोना विशेष अस्पतालको आईसीयूमा भर्ना भएका बुटवल १३ बेलबासका ५५ वर्षीय पुरुष आइतबार बिहानै साढे ५ बजेतिर अस्पतालको शौचालयबाट भागेका हुन् ।

आईसीयूमा कार्यरत स्वास्थ्यकर्मीसँग शौचालय जान्छु भनेर हिंडेका उनी शौचालयबाटै भागेको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएपछि उनी पुस ८ गतेदेखि कोरोना अस्पतालको आईसीयूमा भर्ना भएका थिए ।

स्वास्थ्य अवस्था सुधारउन्मुख भइरहे पनि अस्पतालबाट डिस्चार्ज गर्न मिल्ने अवस्था नभइसकेको भए पनि उनले शनिवार डिस्चार्ज गरिदिन आग्रह गर्दै आएको डा. थापाले जानकारी दिए । आइतबार बिहान भने शौचालयबाट भागेपछि उनको खोजी भइरहेको अस्पतालले जनाएको छ ।

शौचालयबाट भागेको देखेपछि अस्पतालका कर्मचारी र कुरुवाहरुले केहीबेर पिछा गरे पनि राजमार्ग पार गरेर जङ्गल भित्र पसेपछि नियन्त्रणमा लिन नसकिएको डा. थापाले जानकारी दिए ।

अस्पतालबाट बिरामी भागेको जानकारी अस्पताल प्रशासनले प्रहरीलाई जानकारी गराए पनि उनको बारेमा अहिलेसम्म जानकारी हुन नसकेको प्रहरीले जनाएको छ । ती पुरुषलाई अस्पताल भर्ना हुने बेलामा परिवारका सदस्यले मानसिक औषधि सेवन गरिरहेकाले निगरानी गरिदिन अनुरोध गरे अनुसार उनलाई निगरानीमा राखिएको अस्पतालले जनाएको छ ।

तर बिरामीका आफन्तले भने अस्पतालको लापरबाहीको कारण बिरामी हराएको आरोप लगाएका छन् ।

आईसीयूमा भर्ना भएका बिरामीलाई निगरानीमा नराखी शौचालयमा जाँदा पनि एक्लै जान दिएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर