नेकपा विभाजनमा चीनको चासो, आज आउँदैछ प्रतिनिधिमण्डल – Nepal Press

नेकपा विभाजनमा चीनको चासो, आज आउँदैछ प्रतिनिधिमण्डल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विभाजन लगत्तै चिनियाँ कम्युनिष्ट पार्टीको एक प्रतिनिधिमण्डल आज काठमाडौं आउँदैछ ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबाट चिन्तित बनेको चीनले पछिल्लो अवस्था आकलनपछि पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाेउ नेतृत्वको टोली काठमाडौं पठाएको हो ।

चिनियाँ राजदूत होउ यान्छीले यसबीचमा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि विभिन्न नेताहरुसँग भेट गरेकी छन् । चीनले नेकपा विभाजन हुन नदिन यसबीचमा पटक पटक प्रयास गरेको थियो ।

चिनियाँ नेताले कस-कसलाई भेट्दैछन् भन्ने औपचारिक रुपमा जानकारी दिइएको छैन । तर नेकपाका दुवै पक्षसहित विपक्षमा रहेका अन्य पार्टीका नेतासँग पनि भेट गर्न सक्ने स्रोतले जनाएको छ ।

राजदूत यान्छीले जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव लगायतसँग पनि भेट गरेकी थिइन् । चीनले नेकपा विभाजनपछि नेपालको अवस्था कता जान्छ भन्ने चासो व्यक्त गरेको छ ।

चीन अझै पनि नेकपालाई एकीकृत अवस्थामा फर्काउन प्रयासरत रहेको स्रोतहरु बताउँछन् । भारतीय सञ्चारमाध्यमहरुले चिनियाँ राष्ट्रपति तथा कम्युनिष्ट पार्टीका महासचिव सी जिनपिङ आफैंले पहल लिएर उच्चस्तरीय टोली नेपाल पठाउन लागेको टिप्पणी गरेका छन् ।

सोङ ताओ प्रमुख रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग चिनियाँ राष्ट्रपतिलाई विदेश मामिलामा सल्लाह दिने महत्वपूर्ण निकाय हो ।

आज नेपाल आउन लागेका गुझाेउ विभागका दोस्रो वरियताका उपमन्त्री हुन् । ताओ यसबीचमा दुई पटक नेपाल आइसकेका छन् । यो विभागमा अन्य पाँच जनासहित ७ जना नेताहरु रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर