भोजपुर–काठमाडौं सम्पर्क मञ्चको निष्कर्षः अदालतले जे फैसला गरे पनि सत्यको बाटो नछाड्ने – Nepal Press

भोजपुर–काठमाडौं सम्पर्क मञ्चको निष्कर्षः अदालतले जे फैसला गरे पनि सत्यको बाटो नछाड्ने

काठमाडौं । ओली पक्षीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भोजपुर–काठमाडौं सम्पर्क मंचले बदलिएको राजनीतिक परिस्थितिमा अदालतको फैसला भन्दा पनि सत्यको बाटोमा हिंड्नुपर्ने निष्कर्ष निकालेको छ ।

काठमाडौंमा आयोजिक एक छलफल कार्यक्रममा नेकपा प्रदेश नं १ का अध्यक्ष देवराज घिमिरेले भने, ‘पार्टी पंक्तिले अहिलेको बदलिंदै गरेको परिस्थितिमा अदालतले के निर्णय दिन्छ ? कसले के भन्छ ? भन्ने नसोचेर सच्चाई र सत्य केहो त्यसतर्फ हिंड्नुपर्नेछ ।’

उनले सिद्धान्तलाई व्यवहारमा लागू गर्न नसके पार्टी कमजोर हुने भन्दै नेपालका पार्टीहरुमा पहिल्यैदेखि यो रोग रहिआएको बताए। ‘पार्टी कमजोर हुने अर्को ठूलो रोग पदको भोक हो, जसले नेकपालाई यो स्थितिमा ल्याएको छ’, उनले भने ।

पूर्व सांसद धनहर्क राईले सरकारले मध्यावधि निर्वाचन घोषणा गर्नु जनताको पक्षमा भएको बताए । जनादेश मान्नु राजनीतिकर्मीको कर्तव्य भएको बताउँदै उनले भने, ‘निर्वाचन घोषणा गर्नु कुनै हालतमा प्रतिगमन हुन सक्दैन ।’

पूर्वमन्त्री तथा हालै मनोनीत केन्द्रीय सदस्य कृपासुर शेर्पाले नेकपा पहिले पनि विभाजन हुँदै एकता हुँदै आएको पार्टी भएको हुनाले अहिलेका अफ्ट्यारालाई पनि पार लगाउने क्षमता राख्ने बताए।

नेकपा भोजपुर जिल्ला कमिटी अध्यक्ष तथा हालै केन्द्रीय सदस्यमा मनोनीत अर्का सदस्य प्रेमकुमार राईले नेकपाले आफूलाई समयसापेक्ष परिवर्तन गर्न नसकेको कुरा उल्लेख गरे।

छलफललाई हालै मनोनीत केन्द्रीय सदस्य नन्दकुमार राईले सम्बोधन गर्दै समृद्ध र सुखी नेपालीको अभियानलाई कसैले रोक्न नसक्ने बताए ।

भेलाले हालै भोजपुर जिल्लाबाट केन्द्रीय कमिटीमा मनोनीत पार्टीका धनहर्क राई , कृपासुर शेर्पा, देवीराम चौलागाईं, प्रेमकुमार राई, सिर्जना राई, पासाङ दोर्ची शेर्पा, भरत तामाङ, सुरेन्द्र उदासलाई बधाई तथा सम्मान गरेको छ।

भेलामा सम्पर्क मंचका पूर्व अध्यक्षहरु, जिल्लाका समाजसेवी, व्यवसायी, महिला, युवा, विद्यार्थी तथा समाजका विभिन्न पक्षका व्यक्तित्वको सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर