प्रचण्ड–माधव समूहको जोड–संसदको पुनर्स्थापना, पार्टीको आधिकारिकता – Nepal Press

प्रचण्ड–माधव समूहको जोड–संसदको पुनर्स्थापना, पार्टीको आधिकारिकता

काठमाडौं– विभाजनको सम्पूर्ण राजनीतिक प्रक्रिया टुंग्याइसकेका नेपाल कम्युनिष्ट पार्टीका दुवै पक्ष अहिले आफू नै वैधानिक भएको प्रमाणित गर्ने ध्याउन्नमा छन् ।

ओली पक्षले पहिलो वरियताको अध्यक्ष र महासचिव आफूसँगै रहेकाले आफू नै वैधानिक भएको दाबी गरिरहेको छ । प्रचण्ड–माधव पक्ष पनि बहुमत आफूसँग भएकाले आफू नै वैधानिक रहेको प्रतिदाबी गरिरहेको छ ।

दुईदिने केन्द्रीय कमिटी बैठक सिध्याएर शुक्रबार पत्रकारसँग साक्षात्कार गर्न लागेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले के भन्लान् भन्ने चासो सबैतिर थियो ।

वैधताको लडाइँले निर्वाचन आयोगको प्राङ्गण ‘क्रस’ नगरिसकेको अवस्थामा पत्रकार सम्मेलनमा अध्यक्षद्वय प्रचण्ड र नेपालले पनि त्यही कुरा उठाए । त्यसलाई वरिष्ठ नेता झलनाथ खनालले पुट दिए ।

शुक्रबार बिहान साढे नौ बजेदेखि दिउँसो पौने चारबजेसम्मको उनीहरुको कसरत आफूहरु नै वैधानिक भएको भनेर निर्वाचन अयोग, अदालत र मिडियामार्फत सर्वसाधारणलाई ‘कन्भिन्स’ गर्नमा केन्द्रित देखिन्थ्यो ।

पत्रकारसामु उपस्थित भएका प्रचण्डले आफूहरुकै पक्षमा फैसला हुने भन्दै अदालतप्रति भरोसा जताएका थिए। भनेका थिए, ‘संविधानको मर्म र भावना, जनभावना अनुसार प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक छ भन्ने फैसला गर्छ भन्ने विश्वास लिएका छौं ।’

न्यायालयको विरलै प्रशंसा गर्ने उनले यसपटक भने प्रशंसा गर्न छुटाएनन् । ‘अदालतले बेला–बेला निकै सकारात्मक फैसला गर्ने गरेको छ’ उनको भनाइ थियो, ‘अब पनि त्यस्तै सकारात्मक फैसला हुन्छ भन्नेमा म विश्वस्त छु ।’

‘हामी यहाँ छौं’ भन्दै विघटित संसदका आफूपक्षीय सांसद र केन्द्रीय सदस्यसहित शुक्रबार मध्यान्हतिर प्रचण्ड, नेपाललगायतका नेताहरु निर्वाचन आयोग पुगेका थिए। र, पत्रकार सम्मेलनमा आयोगमा भएको संवादको विवरण संचारकर्मीहरुलाई प्रचण्डले सुनाएका थिए ।
प्रचण्डको भनाइ थियो–हामी २९५ जनाको हस्ताक्षरसहित आयोगमा पुग्यौं । आयोग प्रमुखले नियम अनुसारै प्रमाणका आधारमा आधिकारिकता प्रदान गर्छौं भन्नुभयो । मलाई विश्वास छ, उहाँहरुले हामीलाई नै आधिकारिकता प्रदान गर्नुहुन्छ ।

साविकको नेकपाका ४४१ केन्द्रीय सदस्यमध्ये ३१५ जना आफूहरुतिर रहेको दाबी गर्दै प्रचण्डले केही प्राविधिक कारणले आजको हस्ताक्षरमा केही छुटेको बताएका थिए ।

आवश्यक परे हस्ताक्षर गरेका सबै केन्द्रीय सदस्यलाई भौतिक रुपमै आयोगमा उपस्थित गराउन तयार रहेको प्रचण्डले बताउनुले नेकपाभित्र दलको नाम, झण्डा र निर्वाचन चिन्हको लडाइँले कति अर्थ राख्छ भन्ने कुराको संकेत गर्थ्याे।

पत्रकार सम्मेलनमा प्रचण्डले पत्रकार र पत्रकारिताको पनि निकै प्रशंसा गरेका थिए । प्रधानमन्त्रीले चालेको कदमविरुद्ध उभिएको भन्दै पटक–पटक मिडियाको प्रशंसा गरेका उनले अबको लडाईँमा पनि आफूहरुलाई साथ दिन आग्रह गरेका थिए । उनले जनआन्दोलन र त्यसपछिका परिवर्तनमा मिडियाको भूमिका स्मरण समेत सम्मेलनमा पटक–पटक गरेका थिए ।

सारमा भन्दा प्रचण्ड आफूहरु नै बहुमतमा रहेको र वैधानिकता पनि आफ्नै हुने भनेर अदालत, निर्वाचन आयोग र मिडियालाई ‘कन्भिन्स’ गराउनेमा केन्द्रित थियो।

ओलीमाथि संयुक्त प्रहार
पार्टी नफुटेको र केही समूह मात्रै चोइटिएको बताएका नेताहरुले पत्रकार सम्मेलनमा केपी ओलीमाथि संयुक्त रुपमा प्रहार गरेका थिए ।

तीनै जना नेताले ओलीसँग सहकार्य गर्दा आफूहरु पीडित मात्रै भएको अनुभव सुनाएका थिए।

ओलीको आलोचना गर्न उनीहरुले तिखा शब्दावलीको समेत प्रयोग गरे । प्रचण्डले ओली ‘बाहिर मीठो बोलेर भित्रभित्रै छुरा घोप्ने’ चरित्रको भएको बताएका थिए।

‘उहाँ बाहिर बोल्दा मीठो बोल्नुहुन्छ’ प्रचण्डको भनाइ थियो, ‘भित्रभित्रै छुरा घोप्नुहुन्छ । बाहिर भ्रष्टाचार गर्दिनँ, हुन पनि दिन्न भन्नुहुन्छ। भित्रभित्रै संरक्षण पनि गर्नुहुन्छ।’

वरिष्ठ नेता खनालले पनि ओलीप्रति त्यस्तै कडा अभिव्यक्ति दिएका थिए । खनालले त ओलीलाई ‘गोमन साप’सँग समेत तुलना गरेका थिए । उनले भनेका थिए, ‘उहाँ गोमन सापजस्तै हुनुहुँदोरहेछ ।’

नेपालले पनि उस्तै चर्को आलोचना गरे । ‘उहाँलाई गणतन्त्रप्रति अपनत्व छैन, गणतन्त्र विरोधी मान्छे हो’ नेपालको भनाइ थियो ।

नेता नेपालले ओलीलाई रुसी तथा सोभियत युनियनका नेता मिखाइल गोर्भाचोभसँग समेत तुलना गर्न भ्याएका थिए । ओली लक्षित उनको आशंका थियो, ‘नेपालमा गोर्भाचोभको जन्म हुन लागेको त होइन ?’

प्रचण्ड–माधव सम्बन्धको चर्चा
पत्रकारहरुले पटक–पटक प्रचण्ड र माधव नेपालबीचको दीर्घकालीन सहकार्यमा संशय व्यक्त गरेपछि उनीहरुबीचको लामो सम्बन्धको चर्चा समेत सम्मेलनमा भएको थियो ।

केपी ओलीसँग ४९ वर्ष सहकार्य गरेको सुनाउँदै नेता नेपालले प्रचण्डसँग पनि ३५ वर्षदेखिको सहकार्य रहेको बताएका थिए । विधि र मूल्यमान्यतालाई पार्टी भित्र सम्बन्धको आधार बनाउने भन्दै नेता नेपालले आफूहरुबीच त्यस्तो कुनै समस्या नआउने दाबी गरेका थिए ।

पत्रकारहरुले नेता खनालको वरियता घटेको भन्ने प्रसंगमा प्रश्न सोधेपछि त्यो ठूलो कुरा नभएको बताउँदै खनालले दुई अध्यक्ष भने समान वरियतामा रहने भनाइ राखेका थिए ।

खनालले एकताको महाधिवेशनपछि दुई अध्यक्ष नरहने बताए पनि त्यो महाधिवेशन कहिले हुन्छ भनेर स्पष्टसँग भन्न भने सकेनन् । पहिलो चरणको आन्दोलनले नपुगे दोस्रो चरणको आन्दोलन कडा हुने बताएका नेताहरुले भावी कदम बारे भने धेरै प्रष्ट पारेनन् ।

उनीहरुको हालको प्राथमिकता आफूलाई नेकपाको वैधानिक पक्ष सावित गर्नु र प्रतिनिधिसभा पुनर्स्थापित गर्नु रहेको बुझ्न भने प्रष्टै सकिन्थ्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर