बालुवाटारमा मन्त्रीको सूची बन्दै, शीतलनिवासमा आजै साँझ शपथ ग्रहण – Nepal Press

बालुवाटारमा मन्त्रीको सूची बन्दै, शीतलनिवासमा आजै साँझ शपथ ग्रहण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार तथा पुनर्गठन गर्ने भएका छन् । मन्त्रीहरुको सूची बनाउन केही समय लागे पनि आजै साँझ नयाँ मन्त्रीहरुको शपथग्रहण हुने स्रोतले जनाएको छ ।

मन्त्रीहरुको शपथग्रहणको लागि राष्ट्रपति कार्यालयलाई जानकारी गराइसकिएको बालुवाटार स्रोतले जनाएको छ । साँझ सात बजेसम्म शपथग्रहण हुनसक्ने र शीतलनिवासमा शपथग्रहणको लागि तयारी भइरहेको स्रोतले जनाएको छ ।

२५ सदस्यीय मन्त्रिपरिषदमा ७ जना मन्त्रीले राजीनामा दिएपछि हाल १८ जना मन्त्री र राज्यमन्त्रीहरु छन् । त्यस्तै रक्षा मन्त्रालय पछिल्लो समय प्रधानमन्त्रीसँगै छ । प्रधानमन्त्रीले आठ वटा मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्न सक्ने अवस्था छ ।

प्रतिनिधिसभा विघटनपछि प्रचण्ड माधव नेपाल पक्षका मन्त्रीहरु घनश्याम भुसाल, गिरिराजमणि पोखरेल, योगेश भट्टराई, वर्षमान पुन, शक्ति बस्नेत, रामेश्वर राय यादव र विना मगरले राजीनामा दिएका थिए ।

उनीहरुको ठाउँमा अब सबै ओली नेतृत्वको नेकपाका मन्त्रीहरु थपिने भएका छन् । प्रधानमन्त्रीले कस कसलाई मन्त्री बनाउँछन् भन्ने निकटस्थहरुले पनि अनुमान लगाउन सकेका छैनन् ।

माओवादी समूहबाट ओलीलाई साथ दिएका टोपबहादुर रायमाझी मन्त्री बन्ने पक्का भए पनि अरुको बारेमा अनुमान मात्र लगाउन सकिने एक नेताले बताए ।

त्यस्तै पूर्व माओवादी समूहबाट ओली पक्षका मणि थापा र दावा तामाङ पनि मन्त्री बन्ने सूचीमा रहेको स्रोतले जनाएको छ । दावा लामाले खानेपानी मन्त्रालय पाउने बताइएको छ । सिन्धुपाल्चोकका लामा बादल निकट मानिन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर