केपी ओलीले प्रदेशसभा पनि भंग गर्न सक्छन्– प्रचण्ड – Nepal Press

केपी ओलीले प्रदेशसभा पनि भंग गर्न सक्छन्– प्रचण्ड

म त लुत्रुक्क परेर उनीहरुले राखिदिएको कुर्सीमा बसेँ

काठमाडौं । विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले अदालत र निर्वाचन आयोगसँगको सेटिङमा प्रतिनिधिसभा विघटन गरेको भन्ने आफूलाई विश्वास नरहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले अदालत र निर्वाचन आयोगले स्वच्छ र निष्पक्ष रुपमा संविधानको पक्षमा फैसला गर्ने विश्वास समेत व्यक्त गरे ।

प्रचण्डले भने– कमरेड केपी ओलीले सोच्नुभएको होला म जस्तै सबै जालीझेली र सेटिङमै चल्छन् । तर उहाँ त्यस्तो भ्रममा नपरे हुन्छ । हामीले यो प्रतिनिधिसभा विघटन स्वीकार गरेका छैनौं र संसद जीवितै छ ।

आफूहरुले ओलीका सामान्य कमजोरी औंल्याउँदा संसद नै विघटन गरिदिएको भन्दै त्यस्तै सनकले प्रदेशसभा पनि भंग गर्न सक्ने बताए । प्रचण्डले भने– उहाँले प्रदेशसभा पनि भंग गर्दिन सक्नुहुन्छ । त्यसपछि उहाँ सम्पूर्ण रुपमा ध्वस्त भएर इतिहासमै कलंकित नहुन्जेल यस्ता कर्म गरिरहनुहुन्छ । यो भनेको उहाँ सफल हुने बाटो होइन ।

प्रचण्डलाई मटियामेट पार्ने मिसनमा ओलीले आफू बस्ने कुर्सी नै हटाइदिएको समेत उनले बताए । उनले माधव नेपालले आफूलाई कुर्सी बोकेर गएर ओलीलाई उता सार्नुस् भन्ने आग्रह समेत गरेको सुनाउँदै प्रचण्डले आफू त्यही दिनबाट सात जनाको लहरमा पुगेको बताए ।

प्रचण्डले भने–माधवजीले त म भए कुर्सी बोकेर उता सर्नुस् भन्थें भन्नुहुन्थ्यो । तर म त लुत्रुक भएर उहाँहरुले जहाँ राख्यो कुर्सी त्यहीं गएर बसें ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर