माधव नेपालको आरोप–केपी ओली संघीयता र गणतन्त्र विरोधी हुन् – Nepal Press

माधव नेपालको आरोप–केपी ओली संघीयता र गणतन्त्र विरोधी हुन्

काठमाडौं । विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयताको विरोधी भएको आरोप लगाएका छन् ।

पार्टी विभाजनपछि पहिलो पटक आयोजित पत्रकार सम्मेलनमा नेपालले ओलीसँगको ४९ वर्षको सहकार्यका अनुभव सुनाउँदै ओलीलाई मनपर्ने केपीवाद मात्र हो भने । उनले केपीवाद स्वीकार गरेर दास बनाउन खोजेको आरोप लगाए । ओलीले गणतन्त्रप्रति अपनत्वबोध नरहेको भन्दै कम्युनिष्ट आन्दोलन सिध्याउन अग्रसर रहेको आरोप समेत लगाए ।

नेपालले भने– उहाँ गणतन्त्र नेपालमा आउन सक्दैन भनेर फरक विचार राख्ने मान्छे हो । गणतन्त्रप्रति मोह छैन, संघीयताको पनि विरोधी हो उहाँ । उहाँलाई बैठकबाट एलर्जी हुन्छ । तानाशाही प्रवृत्ति भएका व्यक्तिलाई बैठकबाट एलर्जी हुन्छ । आफूले छाड्नुपरे कुर्सी नै भाँच्ने मान्छे हो ।

ओलीले तत्कालीन सभियत रुसका अन्तिम कम्युनिष्ट राष्ट्रपति मिखाइल गोर्भाचोभले जस्तै कम्युनिष्ट पार्टी सिध्याउन खोजेको आरोप नेपालले लगाए । उनले विधि र पद्धतिमा पार्टी चलाउन आफू र प्रचण्डबीच एकता भएको भन्दै आफूहरुबीचको एकता दीर्घकालीन रुपमा अघि बढ्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर