कर्णाली नेकपामा प्रचण्ड–नेपाल समूह बलियो, सुर्खेतका जनप्रतिनिधि बराबर बाँडिए – Nepal Press

कर्णाली नेकपामा प्रचण्ड–नेपाल समूह बलियो, सुर्खेतका जनप्रतिनिधि बराबर बाँडिए

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजन हुँदा कर्णाली प्रदेश कमिटीमा प्रचण्ड–नेपाल समूह बलियो देखिएको छ ।

प्रदेश इन्चार्ज पूर्व मन्त्री जनार्दन शर्मा, सहइन्चार्जमा प्रकाश ज्वाला र कालिबहादुर मल्ल प्रचण्ड–नेपाल पक्षका हुन् भने सहइन्चार्ज यामलाल कँडेल ओली पक्षका हुन् । प्रदेश अध्यक्ष गोरख बोगटी ओली पक्षका हुन् भने प्रदेश सचिव मायाप्रसाद शर्मा प्रचण्ड–नेपाल पक्षधर हुन् ।

पदाधिकारीमा पनि प्रचण्ड–नेपाल पक्षको बहुमत भएको नेकपा स्रोतको दाबी छ । कर्णाली प्रदेश कमिटी १७७ सदस्यीय रहेको छ जसमा ओली पक्षमा ५५ जना उभिएका छन् भने नेपाल पक्षका ३३ जना र तत्कालीन माओवादी पक्षका ८९ जना गरी १२२ जना प्रचण्ड–नेपाल समूहमा खुलेर लागेका छन् ।

कर्णाली प्रदेशबाट नेकपा केन्द्रीय सदस्यको संख्या जम्मा ३० जना थियो । त्यसमध्ये तत्कालीन माओवादी पक्षबाट १६ जना, नेपाल पक्षबाट ६ जना थिए भने ओली पक्षबाट ८ जना केन्द्रीय सदस्य थिए । केन्द्रीय सदस्यको संख्या हेर्दा पनि प्रचण्ड–नेपाल समूहमा २२ जना सदस्य पुगेका छन् ।

सुर्खेतको अवस्था के छ ?

पार्टी एकता कायम रहेका समयमा सुर्खेतबाट नेकपाका चार जना केन्द्रीय सदस्य रहेकोमा तीन जना प्रचण्ड–नेपाल पक्षमा लागेका छन् । नरबहादुर विष्ट नेकपाका सुर्खेत इन्चार्ज हुन् । सहइन्चार्जको रूपमा विन्दमान विष्ट र झकबहादुर मल्ल रहेका छन् । यी तीनै जना नेपाल–प्रचण्ड समूहका हुन् ।

सुर्खेतका जनप्रतिनिधि बराबर बाँडिए

दुई संघीय तथा चार प्रदेश निर्वाचन क्षेत्र रहेको कर्णालीको राजधानी सुर्खेतका जनप्रतिनिधि बाँडिएका छन् । निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद ध्रुवकुमार शाही प्रचण्ड–नेपाल पक्षमा लागेका छन् । उनीसँगै प्रदेश सभा सदस्यहरू विन्दमान विष्ट, पदमा खड्का, सीता नेपाली र पुष्पा घर्ती मगर नेपाल–प्रचण्ड पक्षमा खुलेर लागेका छन् ।

ओली पक्षमा निर्वाचन क्षेत्र नं. २ का सांसद एवं स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतसँगै प्रदेशसभा सांसद यामलाल कँडेल, ठम्मर विष्ट, खड्कबहादुर खत्री, राजु नेपाली खुलेर लागेका छन् । नेकपामा दश जना जनप्रतिनिधिमा पाँच–पाँच जना बाँडिएका छन् ।

जिल्ला कमिटीमा प्रचण्ड–नेपाल समूह बढी

जिल्ला कमिटी अध्यक्षमा ध्रुवकुमार शाही र सचिवमा जितेन्द्र जिसी रहेका छन् । यी दुवै प्रचण्ड–नेपाल समूहमा खुलेर लागेका छन् । ओली समूहमा ३८ जना जिल्ला कमिटी सदस्य छन् ।

निर्वाचन क्षेत्रीय कमिटीमा पनि प्रचण्ड–नेपाल समूह नै धेरै

सुर्खेतमा निर्वाचन क्षेत्र समन्वय कमिटी ६ वटा छन् । निर्वाचन क्षेत्र नं. १ मा बखत खत्री संयोजक हुन् भने सचिवमा गणेश विक छन् । प्रदेश सभा ‘क’ मा कमिटी गठन गरिएको छैन भने ‘ख’ मा बोधविक्रम जिसी संयोजक छन् । यी सबै प्रचण्ड–नेपाल पक्षमा छन् ।

निर्वाचन क्षेत्र नं. २ मा संयोजक गोविन्द तिमिल्सेना नेकपा प्रचण्ड–नेपाल समूहमा छन् भने सचिव इन्द्र केसी ओली समूहमा छन् । ‘क’ मा टोपबहादुर विसी संयोजक र रत्न गाहा मगर सचिव छन् । यी दुवै प्रचण्ड–नेपाल समूहमा नै छन् । ‘ख’ मा खडक विक प्रचण्ड–नेपाल समूहमा छन् भने घनश्याम पाण्डे ओली समूहमा छन् ।

नौ पालिकामा को कता ?

सुर्खेतमा नौ वटा स्थानीय तह छन् । ती सबै तहका पार्टी कमिटीमा प्रचण्ड–नेपाल समूहकै पदाधिकारीको बहुमत देखिएको छ । वीरेन्द्रनगर नगरपालिकाका अध्यक्ष गंगाराम तिमिल्सेना प्रचण्ड–नेपाल समूह, सचिव गणेश ओली ओली समूहमा रहेका छन् । बराहताल गाउँपालिकाका अध्यक्ष ओम महतारा र बलबहादुर कठायत प्रचण्ड–नेपाल समूहमा छन् ।

पञ्चपुरी नगरपालिकाका अध्यक्ष मनबहादुर विक र सचिवमा केशव शाही तथा चौकुने गाउँपालिकाका अध्यक्ष गंगाराम विश्वकर्मा र सचिव हरि अधिकारी प्रचण्ड–नेपाल समूहमा रहेका छन् ।

भेरीगंगा नगरपालिकाका अध्यक्ष नरेन्द्र कार्की प्रचण्ड–नेपाल समूहमा छन् । सचिव टिकाराम सुवेदीले मुख भने खोलिसकेका छैनन् । गुर्भाकोट नगरपालिकामा अध्यक्ष देवबहादुर खत्री र मोती विश्वकर्मा, लेकबेसी नगरपालिकामा टीकाराम सोमै र मदन गाहा प्रचण्ड–नेपाल समूहमा आवद्ध रहेको नेकपा स्रोतको दाबी छ ।

चिंगाड गाउँपालिकामा समर विक अध्यक्ष प्रचण्ड–नेपाल समूहमा तथा सचिव हर्क राना कुन समूह जाने भन्ने अलमलमा रहेका छन् । सिम्ता गाउँपालिकामा कविन्द्र केसी अध्यक्ष छन् भने सचिवमा झुपबहादुर बुढा रहेका छन् । ती दुवै प्रचण्ड–नेपाल समूहमा लागेका छन् ।

पालिकाका जनप्रतिनिधि पनि प्रचण्ड–नेपाल समूहमै बढी

सुर्खेतमा नेकपाले तीन वटा पालिकामा जितेको छ । सिम्तामा अध्यक्ष कविन्द्रकुमार केसी, चौकुनेमा धीरबहादुर शाही र लेकबेसी नगरपालिकाका नगरप्रमुख गगनसिंह सुनार प्रचण्ड–नेपाल समूहका हुन् । वीरेन्द्रनगर नगरपालिकामा उपप्रमुख मोहनमाया ढकाल ओली पक्षमा छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर