फोटो भिडियोमा हेर्नुहोस् माइतीघरमा प्रचण्ड–माधव पक्षधर नेकपाको प्रदर्शन – Nepal Press

फोटो भिडियोमा हेर्नुहोस् माइतीघरमा प्रचण्ड–माधव पक्षधर नेकपाको प्रदर्शन

काठमाडौं । ‘हामी यहाँ छौं’ शुक्रबार माइतीघरमण्डलमा प्रदर्शनमा उत्रिएका प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपा नेताहरुको छातीमा यही व्यहोराको प्लेकार्ड टाँसिएको थियो । तर ‘हामी यहाँ छौं’ भन्नेहरुको भीडमा विघटित प्रतिनिधिसभाका सदस्य र विभाजित नेकपाका केन्द्रीय सदस्यहरु मात्र देखिए । सबैले किन यस्तो प्लेकार्ड भिरेनन् ? यसको अर्कै कारण छ ।

संसद विघटनको विरुद्धमा उभिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड पक्ष औपचारिक रुपमा सडक आन्दोलनमा उत्रिएको पहिलो दिन हो शुक्रबार । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई ‘प्रतिगमन’ भन्दै प्रचण्ड–माधव पक्षले ‘संघर्ष समिति’ नै गठन गरेर आन्दोलनमा उत्रिएका नेकपाका नेताहरुको छातीमा लेखिएको नारामा धेरैको ध्यान गयो ।

केहीदिन अघि आफू पक्षीय संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले संसद जीवितै रहेको बताएका थिए । त्यसलाई पुष्टि गर्दै सांसद र केन्द्रीय सदस्यहरुले आफूहरु संसद, सडक सबैतिर बहुमतमा रहेको सन्देश दिन खोजेका हुन् ।

‘बहुमत हामीसँग छ, संसदीय दलमा होस् वा केन्द्रीय कमिटीमा । त्यसैले संसद मरेको छैन, हामी मरेका छैनौं’, प्रचण्डले भनेका थिए । उनले हामी जीवितै छौं भनेर सर्वोच्च अदालतमा पनि जाने बताएका थिए ।

प्रचण्डको त्यही अभिव्यक्तिको निरन्तरता नै माइतीघर प्रदर्शनको नारा बन्यो । प्रचण्ड नेतृत्वको नेकपाले सरकारलाई मात्रै नभएर अदालत र निर्वाचन आयोगलाई समेत आफूहरुसँँग रहेको बहुमत देखाउन यस्तो नारा तय गरेको हो ।

‘बहुमत कता छ भन्ने सरकार, निर्वाचन आयोग र अदालतले समेत देखोस् भनेर हामी सडकमा उभिएका हौं । हामी यहाँ छौं भन्नुको अर्थ हाम्रो ‘हेड काउण्ट गर, बहुमत यता छ’ भनेर देखाउन खोजेका हौं’, नेकपा केन्द्रीय सदस्य यज्ञराज सुनुवारले नेपाल प्रेस सँग भने ।

उक्त प्रदर्शन माइतीघरमण्डलबाट निर्वाचन आयोगतिर गइरहेको छ । आयोगलाई सशरीर बहुमत देखाउन यस्तो प्लेकार्डसहित प्रदर्शन गरिएको विघटित प्रतिनिधिसभा सदस्य झपड रावलले बताए ।

नेकपाको बहुमत सडकमा भएकोले अल्पमतका कदम खारेज गर्न ‘हामी यहाँ छौं’ भनेर देखाउन खोजिएको उनले बताए । हस्ताक्षर मात्र होइन टाउको गनेर देखाउन यस्तो नारा लेखिएको उनको भनाइ छ ।

नेकपा प्रचण्ड–माधव नेपाल पक्षले प्रतिनिधिसभा पुनःस्थापनाको माग राखेर देशव्यापी आन्दोलनको घोषणा गरिसकेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २,५०१ सदस्यीय आन्दोलन परिचालन समिति पनि गठन गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर