झापामा नेकपाको गणितः दुई तिहाइ जनप्रतिनिधि ओलीको पक्षमा – Nepal Press

झापामा नेकपाको गणितः दुई तिहाइ जनप्रतिनिधि ओलीको पक्षमा

झापा । नेकपा विभाजनसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाका जनप्रतिनिधि पनि दुई समूहमा विभाजित भएका छन् । यद्यपि, झापाका दुई तिहाइ जनप्रतिनिधि प्रधानमन्त्री ओली पक्षीय नेकपामा छन् ।

१५ स्थानीय तह, पाँच निर्वाचन क्षेत्र र ११ सिट रहेको झापाका अधिकांश जनप्रतिनिधि ओली पक्षमा लागेका हुन् । झापाका १५ स्थानीय तहमध्ये नेकपाबाट प्रमुख र उपप्रमुख गरी १९ जनाले जितेका थिए । तीमध्ये १५ जना ओली पक्षका छन् भने ३ जना प्रचण्ड–नेपाल समूहका छन् ।

विर्तामोडकी उपप्रमुख पवित्रा महतरा अहिलेसम्म कतै खुलेकी छैनन् । मेचीनगर नगरपालिकामा नेकपाले उपप्रमुख मात्र जितेको थियो । त्यहाँकी उपप्रमुख मीना पोखरेल उप्रेती ओली पक्षमा लागेकी छन् ।

त्यस्तै बिर्तामोडका प्रमुख ध्रुव शिवाकोटी, बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मीरा भूर्तेल, अर्जुनधारा नगरपालिकाकी उपप्रमुख कमला आचार्य पनि ओली पक्षमा छन् । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मञ्जु प्रसाई, शिवसताक्षी नगरपालिका प्रमुख चन्द्र शेर्मा पनि ओली पक्षमा छन् ।

कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले, उपाध्यक्ष बेनु शिवाकोटी, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, गौरादह नगरपालिकाकी उपप्रमुख गीता भेटवाल, झापा गाउँपालिकाकी उपाध्यक्ष कुन्ती बुढाथोकी पनि ओली पक्षमा छन् ।

त्यस्तै भद्रपुर नगरपालिका प्रमुख जीवन श्रेष्ठ र हल्दिवारी गाउँपालिका उपाध्यक्ष डम्बर गिरी ओली पक्षका हुन् ।

अर्जुनधारा नगरपालिका प्रमुखका हरि राना, भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्रा श्रेष्ठ र शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपाल प्रचण्ड–नेपाल समूहका हुन् ।

झापामा नेकपाबाट १९, कांग्रेसका ७ र राप्रपाबाट ४ जना प्रमुख/उपप्रमुखमा निर्वाचित भएका थिए ।

प्रदेशसभा सांसदमा पनि ओलीपक्ष नै बलियो

यस्तै, प्रदेशसभामा निर्वाचित सांसदहरु पनि ओली पक्षका धेरै छन् । जिल्लामा १० जना निर्वाचित र १ जना समानुपातिक प्रदेश सांसद छन् । समानुपातिकबाट जसमाया गजमेरलाई प्रदेशसभा सदस्य बनाइएको थियो । गजमेरले ओली पक्षको केन्द्रीय सदस्य पद अस्वीकार गरेकी छन् ।

निर्वाचित १० जनामध्ये ७ जना ओली पक्षका छन् । श्रीप्रसाद मैनाली, एकराज कार्की, बृख प्रधान, बसन्त बानियाँ, हिरा थापा, हिक्मत कार्की र अर्जुन राई ओली पक्षका हुन् । यस्तै, गोपाल बुढाथोकी, पूर्णसिंह राजवंशी, झलकसिंह दर्लामी प्रचण्ड– नेपाल समूहका हुन् ।

झापाको पाँच प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये १ जना राप्रपाका राजेन्द्र लिङ्दनेबाहेक सबै नेकपाबाट निर्वाचित भएका थिए । लिङ्देन झापा–३ बाट निर्वाचित भएका थिए । झापा–१ बाट राम कार्की, २ बाट पवित्रा निरौला खरेल, ४ बाट एलपी साँवा र ५ बाट केपी ओली निर्वाचित भएका थिए । यसमध्ये कार्की र खरेल प्रचण्ड–नेपाल समूहका हुन् ।

त्यस्तै विघटित प्रतिनिधिसभाका समानुपातिक सांसदहरुमध्ये धर्मशिला चापागाई प्रचण्ड–माधव नेपाल पक्षमा लागेकी छन् भने कुमारी मेचे र विमला विक ओली पक्षमा छन् ।

जिल्ला कमिटी अध्यक्ष चिन्तन पाठक ओली पक्षका हुन् भने इन्चार्ज रविन कोइराला प्रचण्ड माधव नेपाल पक्षका हुन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर