समयमा बारुण यन्त्र नआउँदा आगलागीबाट करोडौं क्षति – Nepal Press

समयमा बारुण यन्त्र नआउँदा आगलागीबाट करोडौं क्षति

जनकपुरधाम । जनकपुरको शिव चोकस्थित मिथिला डिपार्टमेन्ट स्टोरमा भएको भीषण आगलगी ३ घण्टापछि नियन्त्रणमा आएको छ । आगलागीबाट स्टोरको माथिल्लो तलामा रहेका सबै समान जलेका छन् ।

स्थानीयका अनुसार आगो बिहान साढे ९ बजे लागेको थियो । तर आगलागी भएको एकघण्टासम्म नियन्त्रणका लागि बारुण यन्त्र आएनन् ।
पौने ११ बजे जनकपुर विमानस्थलको बारुण यन्त्र आइपुग्यो ।

लगत्तै बर्दिबास, सबैला, जलेश्वर नगरपालिकाको पनि बारुण यन्त्र आए । तर तालिम प्राप्त जनशक्ति अभावमा आगलागी नियन्त्रण गर्न कठिन भएको स्थानीयले बताए ।

स्टोरका सञ्चालक हरिकान्त मिश्रले आगलगी कसरी सुरु भएको भन्ने थाहा नपाएको बताए । ‘आगो लाग्ने वित्तिकै हामीलाई खबर आयो । तत्कालै म यहाँ आएपछि भित्र छिर्न सक्ने अवस्था थिएन । आगो बलिरहेको थियो,’ मिश्रले भने ।

आगोलागीबाट करिब २ करोडभन्दा बढीको क्षति भएको उनले बताए ।

उपमहानगरपालिकाको लापरबाही

आगो लागेको स्टोरदेखि करिब ३ सय मिटरको दुरीमा मात्र जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय छ । उपमहानगरपालिकामा दुई बारुण यन्त्र पनि छ । तर दुबै बिग्रेका छन् ।

उपमहानगरपालिकाको चरम लापरबाहीले आगलागीबाट ठूलो क्षति भएको स्थानीय बताउँछन् ।
जनकपुरधाम उधोग वाणिज्य संघका महासचिव जीतेन्द्र महासेठले उपमहानगरपालिकाको बारुण यन्त्र नआउँदा आगलागीबाट ठूलो क्षति भएको बताए । उनले आगलगीबाट भएको व्यवसायीको क्षति व्यहोर्न स्थानीय सरकारसँग माग समेत गरे ।

‘प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम रहेपनि बारुण यन्त्र राख्न नसक्नु ठूलो बिडम्बना हो’, उनले भने, ‘तालिम प्राप्त जनशक्तिका कारण पनि आगलागी नियन्त्रणमा लिन ठूलो समस्या भयो । जलेश्वरबाट नगर प्रहरी आयो । तर नजिकैको उपमहानगरबाट आएन ।’

मेयर साहको विरोधमा प्रदर्शन

आगलागी नियन्त्रणका लागि बारुण यन्त्र खरीद गरेपनि बिगारेर राखेको भन्दै स्थानीय युवाहरू आक्रोशित भएर जनकपुरधामका मेयर लालकिशोर साहविरुद्ध प्रदर्शन गरेका छन् ।

आक्रोसित युवाहरूले उपमहानगरपालिकाको कार्यालयअगाडि मेयर साहविरुद्ध नाराबाजी गर्दै कार्यालय तोडफोडको प्रयास समेत गरे । प्रहरीले कार्यालयभित्र युवाहरूलाई छिर्न नदिएपछि दुई पक्षबीच केहिबेर घम्साघम्सी समेत भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *