बादलले भने– प्रतिक्रान्तिको खतराबाट जोगाउन मूल नेतृत्वलाई साथ दिएँ – Nepal Press

बादलले भने– प्रतिक्रान्तिको खतराबाट जोगाउन मूल नेतृत्वलाई साथ दिएँ

काठमाडौं । नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले मुलुकलाई प्रतिक्रान्तिको खतराबाट जोगाउन मूल नेतृत्व (केपी ओली)लाई साथ दिनुपरेको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी ओली नेतृत्वको नेकपाको बैठकलाई सम्बोधन गर्दै बादलले निकै सोच विचार गरेर आफूले मूल नेतृत्वलाई जोगाउन यस्तो निर्णय लिएको बताए ।

उनले प्रचण्ड–माधव नेपाल समूहले प्रतिक्रान्तिलाई सघाउने निर्णय गर्दै अघि बढेको बताए । उनले पार्टीको नेतृत्वलाई जोगाउन आफू लाग्ने र गुटहरुलाई हावी हुन नदिने बताए । असारधारण अवस्थामा नेतृत्वले असाधारण निर्णय लिनुपर्ने भएकाले ओलीको नेतृत्वलाई सघाउन उनले आह्वान गरे ।

बैठकलाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री बादलले विदेशी प्रतिक्रियावादी शक्तिहरुको खेल प्रचण्ड–माधव समूहका कारण सफल भएको र एउटा गुट आफूहरुबाट बाहिरिएको बताए । उनले भने–एउटा गुट हामीहरुबाट बाहिरिएको छ तर क्रान्तिको नेतृत्व हामी गर्छौं । यहाँ हामी मूल नेतृत्वलाई साथ दिन सपथ खाँदैछौं ।

अर्को प्रसंगमा उनले प्रतिनिधिसभा विघटन क्रान्तिकारी तथा अग्रगामी कदम भएको भन्दै त्यसलाई ब्युँताउनु वा कायम राख्नु पश्चगामी र अस्थिरता निम्त्याउने कदम हुने बताए ।

पार्टीको विवादमा कतै नखुलेका र पछिल्लो समय दुवै पक्षका बैठकमा सहभागी नभएका बादल आजबाट ओलीको पक्षमा खुलेका हुन् । बैठकमा बादलको सम्बोधनअघि नयाँ केन्द्रीय सदस्यहरुलाई प्रधानमन्त्री ओली शपथग्रहण गराएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर