कोरोना देखिँदा फ्लू भाइरस गायब ! – Nepal Press

कोरोना देखिँदा फ्लू भाइरस गायब !

यो समयमा कोरोनाभाइरसको समस्या नहुँदो हो त म आम नागरिकहरुलाई फ्लू भाइरसको बारेमा परामर्श दिइरहेको वा उपचार गरिरहेको हुन्थें । अर्थात् नेपालमा हरेक वर्ष यो समयमा स्वाइन फ्लू, हङकङ फ्लूको नामले चिनिने फ्लू भाइरस सक्रिय हुने गर्छ ।

वास्तवमा नेपालमा फ्लूको दुइटा सिजन देखिने गर्छ । पहिलो– बर्खा मौसमको मध्य र अन्त्यतिर र दोस्रो– जाडो मौसमभरि । दुई सिजनमध्ये नेपालमा यसको बढी संक्रमित पहिलो अर्थात् बर्खा मौसममा भेटिने गरेको नेपालको तथ्यांकले देखाउँछ ।

फ्लू भाइरस नदेखिनु आफैंमा राम्रो हो, तर हरेक वर्ष देखिने फ्लू भाइरसका बिरामी पहिलो सिजनमा नभेटिंदा मैले केही समयअघि आश्चर्य प्रकट गरेकै थिएँ । फ्लू भाइरसको पहिचानका लागि परीक्षणहरु नभएका भने होइनन् । म आश्चर्यचकित त भएको छु नै र, यसले जिज्ञासु पनि बनाएको छ । आखिर फ्लू भाइरस गयो चाहिं कहाँ ? कोरोनाका कारण फ्लू भाइरस गायव भएको हो ?

इन्फ्लुएन्जा भाइरसलाई छोटकरीमा फ्लु भन्ने गरिन्छ । यो कोरोनाभाइरस जस्तै श्वास–प्रश्वास संक्रामक रोग हो । यसको लक्षणहरु सामान्यदेखि कडासम्म हुन्छ । फ्लू ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारका छन् ।

यीमध्ये हरेक सिजनमा फ्लू ‘ए’ र ‘बी’ले मानिसहरुलाई बढी असर पार्ने गरेको छ । फ्लू ‘ए’ हालको कोरोनाभाइरस (सार्स–कोभ–२) जस्तै बेला बेलामा महामारीको रुपमा विश्वव्यापी देखिने गरेको इतिहास छ । फ्लू ‘ए’ अन्तर्गत पर्ने स्वाइन फ्लू नामले चिनिने ‘एचवानएनवान पीडीएम ०९’ लाई विश्व स्वास्थ्य संगठनले पछिल्लो पटक सन् २००९ सालमा महामारीको घोषणा गरेको थियो ।

यसको खोप उपलब्ध भए पनि यो फ्लू हरेक वर्ष देखिने गरेको छ । कोरोनाभाइरसको खोप उपलब्ध भए पनि फ्लू भाइरसजस्तै पूर्ण समाधान नहुने वा निरन्तर देखिने हो कि भनेर वैज्ञानिकहरुले शंका तथा चिन्ता व्यक्त गरेको पाइन्छ ।

फ्लू खोपको वर्षौंदेखि प्रयोग गरिंदै आएको भए पनि यो भाइरसको जटिलताबाट अमेरिकामा मात्र वर्षेनि औसत ५० हजार मानिसको मृत्यु हुने गरेको तथ्यांक छ । यसको मुख्य कारण भनेको फ्लू भाइरसको ‘जीन’मा देखिने तीव्र परिवर्तन र खोपले प्रभावकारी रुपमा काम गर्न नसक्नुलाई मानिएको छ ।

कोरोनाभाइरसले पनि आफ्नो ‘जीन’मा तीव्र परिवर्तन गर्ने कुराहरु आइरहेका छन् । हालै बेलायतमा ‘म्युटेसन’ भएको नयाँ कोरोनाभाइरस देखिएको र त्यसैकारण विभिन्न देशहरुले बेलायत यात्रा प्रतिबन्ध लगाएको खबरहरु सार्वजनिक भइरहेका छन् । तत्काल यसले हालसालै विकसित भएको खोपलाई असर गर्दैन भनिएको छ यद्यपि आगामी दिनहरुमा कोरोनाले ‘जीन’मा परिवर्तन गर्दै गएमा चुनौती नहोला भन्न सकिंदैन। शायद यसकारणले पनि खोप उपलब्ध हुनु भनेको कोरोना समस्याको सम्पूर्ण समाधान हो भनेर बुझ्नुहुँदैन ।

पश्चिमा देशहरुमा जाडो महिना फ्लू भाइरस सबैभन्दा सक्रिय रहने सिजन हो । अमेरिकामा डिसेम्बरदेखि मार्चसम्म फ्लू संक्रमित बढी देखिने गर्छ । यसो हुनाले फ्लुको कारणले वर्षेनि हजारौंको मृत्यु हुने गरेको र कोरोनाको महामारी निरन्तर देखिंदा मानवीय क्षति दुई गुणाभन्दा बढी हुनसक्ने अनुमानित तथ्यांकहरु सार्वजनिक भएका छन् ।

ती देशहरुमा कोरोनाभाइरसको महामारी सुरु हुँदा र अहिलेसम्म निरन्तर रहँदा फ्लूको सिजन थिएन र छैन । तर दक्षिणी गोलार्द्धमा भने कोरोनाको महामारीसँगै फ्लूको सिजन थियो । तर आश्चर्य, त्यहाँ पनि विगत त्यही समयमा अत्यधिक मात्रामा देखिने फ्लू कोरोनाको महामारीसँगै सोचेभन्दा अत्यधिक कम संख्यामा देखिएको थियो ।

नेपालमा मात्र होइन भारतमा पनि फ्लूको संख्या अत्यधिक देखिने महिना अगस्ट–अक्टोबर महिनामा अत्यधिक कम देखिएको तथ्यांक पाइन्छ । हाल पछिल्लो समयमा अमेरिकामा गरिरहेको फ्लू सर्भेलेन्सको तथ्यांकले पनि फ्लूको संक्रमण विगत वर्षहरुको यही समयमा (महिनाहरुमा) देखिने भन्दा अत्यधिक कम देखाएको छ । यी उदाहरणहरु हेर्दा वर्षेनि देखिने ठूलो संख्याको फ्लू भाइरस कोरोनाको महामारीसँगै लगभग गायब नै भएको देखिन्छ ।

कोरोनाको महामारीमा जारी रहँदा विश्वमा नै फ्लू भाइरसको उपस्थिति लगभग शून्य प्रायः देखिएको छ । वैज्ञानिकहरुको अनुमान विपरित देखिएको यो आश्चर्य परिस्थितिको पछाडि खास कारण भेटिएको छैन । तर एकै कोषिकामा दुई भाइरस हुन नसक्ने भन्ने वैज्ञानिक मान्यतालाई यसले व्यावहारिक पुष्टि गरेको छ, जसलाई ‘भाइरल इन्टरफेरेन्स’ भन्ने गरिन्छ ।

कोरोना र फ्लू भाइरसबीच अन्तरसम्बन्ध कस्तो रहन्छ भन्ने अनुसन्धान र अध्ययन भएको त छैन तर ‘भाइरल इन्टरफेरेन्स’ मान्यता यसमा पनि लागू हुने र भएको त होइन भन्ने सम्भावनालाई भने नकार्न सकिंदैन। यद्यपि आगामी दिनहरुमा गरिने अनुसन्धानहरुको नतिजाले यसको पुष्टि गर्ला जसले गर्दा कोरोना महामारीमा फ्लू भाइरसको अनुपस्थितिको कारण थाहा पाउन सहज हुनेछ ।

नेपाललगायत विश्वमा देखिएको यो अब्जरभेसनले फ्लूको जस्तो लक्षणहरु देखिए त्यो कोरोनाभाइरस हुनसक्ने सम्भावना छ । हाल कोरोना र फ्लू भाइरसलाई लक्षणको आधारमा छुट्याउन सहज भने छैन तर धेरै नेपालीहरु जाडो महिना लाग्दै गर्दा सामान्य लक्षणहरुकै आधारमा सामान्य रुघाखोकी वा फ्लू भाइरस हो भनेर अनुमान गर्ने गरेको पाइन्छ र ढिलो हुँदा जटिल अवस्थामा पुगेर अस्पताल पुगेको देखिन्छ ।

नागरिकको यो प्रवृत्ति हाल कोरोना परीक्षण गर्ने र संक्रमण देखिने संख्यामा कमी आउनुमध्येको प्रमुख कारक मानिन्छ । माथि उल्लेख गरे झैं तथ्यांकलाई आधार मान्ने हो भने रुघा खोकी जस्तो लक्षणहरु देखिए ‘सेल्फ आइसोलेसन’मा बसिहाल्नुपर्छ । र, कोरोनाको परीक्षण गर्नुपर्छ । जसले गर्दा कोरोनाभाइरस थप फैलनबाट रोकियोस् । यस्तो अब्जरभेसनले चिकित्सकलाई यो जाडो महिनामा खासगरी कोरोना हो कि फ्लू भाइरस भनेर पहिचान वा शंका गर्न पनि सहज हुनेछ ।

डा शेरबहादुर पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक तथा भाइरोलोजिस्ट हुन् । सरुवा रोगका बिरामीको उपचारमा झन्डै दुई दशकदेखि संलग्न उनी कोरोनाभाइरस र यसले नेपालमा पारेको प्रभावबारे अनुसन्धान गरिरहेका छन् । उनी कोरोना संक्रमितको उपचारमा पनि संलग्न छन् । रुसबाट एमबीबीएस र जापानबाट भाइरस र संक्रमणबारे उच्च अध्ययन गरेका डा पुन शुक्रराज अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक पनि हुन् । सरुवा रोगबारे जनचेतना फैलाउँदै संक्रमणबारे आम जनतालाई सचेत गराउन पनि उनी उत्तिकै सक्रिय छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *