माघदेखि खुल्दै नेपाली नाटक घरहरु – Nepal Press

माघदेखि खुल्दै नेपाली नाटक घरहरु

कोरोनाभाइरस महामारीले बन्द भएका नेपाली नाटक घरहरु पुस अन्त्यदेखि खुल्ने भएका छन् । स्वास्थ्य मापदण्ड पालना गर्दै अंग्रेजी नयाँवर्षदेखि नाटकका गतिविधि सुरु गर्न लागिएको हो ।

‘अंग्रेजी नयाँवर्षलाई आशाको किरण मानेर सोही छेकोदेखि नाटक घरहरु खुल्नेछन्’ नेपाल प्रेससँग थिएटर हबका संयोजक देव न्यौपानेले भने, ‘कोभिड मापदण्ड पालना गर्दै नाटकका गतिविधि सुरु हुनेछन् । तर, सुरुआतमै नाटक देखाउने स्थिति भने छैन ।’

माघदेखि नाटक सम्बन्धी इभेन्ट आयोजना गरेर घर खुलाइनेछ भने खुलेको तीन महिनापछि नाटकको नियमित मंचन हुनेछ । लकडाउनअघि सुदाम सिके निर्देशित ‘एनिमल फार्म’सहित तीन नाटक रिहर्सलमा थिए । केही महिनामै यी तीन नाटकको मंचन सुरु गर्ने तयारी छ ।

थिएटर मलका संचालक केदार श्रेष्ठले आउँदो साता बस्ने नाट्यकर्मीको बैठकमा नाटक घर खुलाउने मिति यकिन हुने बताए । ‘सुरुमा माहाेल बनाउने काम हुनेछ र यसका लागि साथीहरुसँग छलफल पनि हुँदैछ’ श्रेष्ठले भने, ‘सुरुमा गतिविधि खुलाउने तरिकाले काम अघि बढ्नेछ ।’

उनका अनुसार माहाेल बनाउन र दर्शकलाई नाटकतिर आकर्षण गर्न केही गतिविधि हुनेछन् । ‘एकडेढ महिना परिस्थिति हेरेर नियमित नाटक मंचनको काम सुरु हुन्छ’ न्यौपानेले जनाए । अहिले काठमाडौंमा ६ सहित देशभर ८ नाटक घर छन् । थप तीन नाटकघर खुल्ने तयारीमा छन् ।

एउटा नाटक घरमा झन्डै बीस जनाको समूह हुन्छ । अधिकांश नाट्यकर्मी कामलाई निरन्तरता दिने पक्षमा छन् । केही प्रतिशत चाहिं पेशाबाट पलायन भएको अनुमान गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर