कांग्रेसमा ध्रुवीकरण : देउवा ओलीतिर, पौडेल प्रचण्डतिर – Nepal Press
कांग्रेस बैठक

कांग्रेसमा ध्रुवीकरण : देउवा ओलीतिर, पौडेल प्रचण्डतिर

नेताहरुले औंल्याए आन्दोलनमा अरु एजेण्डा पनि घुस्ने खतरा

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोध गर्दै आएको नेपाली कांग्रेसभित्र आन्दोलन वा निर्वाचनमध्ये कुनलाई प्राथमिकता दिने भन्नेमा ध्रुवीकरण देखिएको छ । सभापति शेरबहादुर देउवा पक्षले ‘आन्दोलनभन्दा अदालतको निर्णय कुर्नुपर्ने’ तर्क गरेको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल ‘संविधान जोगाउन आन्दोलन गर्नुपर्ने’ पक्षमा उभिएका छन् ।

मंगलबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठकको सुरुमै विषय प्रवेश गराउँदै सभापति देउवाले संसद विघटनपछि मुलुकमा गम्भीर राजनीतिक वातावरण बनेकोले पार्टीभित्र बृहद छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने बताएका थिए ।

देउवाले सरकारको कदम अलोकतान्त्रिक र असंवैधानिक रहेको बताए पनि पार्टीको रणनीति के हुने भन्नेमा बैठकले सुझबुझपूर्ण निर्णय लिनुपर्ने उल्लेख गरेका थिए ।

‘हामीले सरकारको विरोध गरिसकेका छौं । अदालतमा मुद्दा परेको छ । अब आन्दोलन गर्ने वा निर्वाचनमा जाने साथीहरुले आफ्नो धारणा राख्नुहोला’ बैठकमा देउवाले भनेका थिए । देउवाले सत्तारुढ पार्टीको आन्तरिक किचलोका कारण संसद विघटन भएको भन्दै नेकपाको राजनीति कसरी अगाडि बढ्छ, सोहीअनुसार नै कांग्रेसको रणनीति बनाउनुपर्नेमा जोड दिएको केन्द्रीय सदस्यहरुले बताएका छन् ।

देउवालगत्तै बोलेका वरिष्ठ नेता पौडेलले भने संसदमात्रै नभएर संविधानविरुद्ध नै षड्यन्त्र भएकोले आन्दोलनको विकल्प नरहेको बताए ।

‘यो देशमा ठूल्ठूला अपराध गर्ने र अपराध लुकाउनलाई झन् ठूलो अपराध गर्ने श्रृखंलाको निरन्तरता हो प्रतिनिधिसभा विघटनको कदम । लोकतन्त्रप्रति घात गर्ने निर्णय उल्ट्याउनुपर्छ त्यसका लागि जेजे गर्नुपर्ने हो तयार हुनुपर्छ’, पौडेलले बैठकमा भने । पौडेलले ‘अध्यादेशदेखि विघटनसम्म’ मिलीभगत भएको हुनसक्ने आशंका गर्दै संविधान जोगाउनका लागि आन्दोलनमा जानुपर्ने बताएका छन् ।

‘संवैधानिक परिषद सम्बन्धी अध्यादेशमार्फत गरिएका संवैधानिक नियुक्ति पनि खारेज गर्नुपर्छ । कसैले भाग पाउँदैमा संवैधानिक नियुक्ति सदर हुँदैन’, बैठकमा पौडेलले भने ।

मंगलबारको केन्द्रीय समिति बैठकमा देउवा र पौडेलबाहेक तीन जना केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए । तीनै जनाले आन्दोलनभन्दा निर्वाचनलाई प्राथमिकता दिनुपर्ने बताए । ‘संसद विघटन प्रधानमन्त्री केपी ओलीको मात्रै कदम होइन । यो निर्णयको स्रोत प्रचण्ड र माधव नेपाल पनि हुन् । यसर्थ समग्र नेकपा यो प्रकरणमा दोषी छ’ केन्द्रीय सदस्य महेश आचार्यले भने ।

महेश आचार्यले नेकपाको प्रचण्ड पक्षसंग सडक वा अदालत कुनै पनि स्थानमा सहकार्य गर्न नहुने भन्दै अदालतको आदेश कुर्नुपर्ने बताए । आफ्नो ‘लाइन’ मा बोलेपछि सभापति देउवाले बैठकपछि आचार्यलाई आफ्नो चेम्बरमा बोलाएर एक्लै कुराकानीसमेत गरेका थिए ।

बैठकमा धारणा राखेका सभापति देउवा निकट केन्द्रीय सदस्य एनपी साउदले आन्दोलन अन्तिम विकल्प नभएको बताए । ‘संसद विघटनविरुद्ध अदालतमा मुद्दा परिसकेकोले हामीले मुद्दा दिन आवश्यक छैन । अदालतले नै यसको निरुपण गर्ने भएपछि हामी आन्दोलनमा जानैपर्ने पनि छैन । त्यसैले अब चुनावको तयारीमा लाग्नुपर्छ’, बैठकमा साउदले भने । उनले सरकारले गरेको कमजोरी कि त अदालतले कि त जनमतले उल्टाउने उल्लेख गरेका थिए ।

बैठकमा बोल्ने अर्का केन्द्रीय सदस्य डा. नारायण खड्काले पनि आन्दोलन खतरनाक विकल्प हुने बताए । ‘आन्दोलन डेन्जरस हुनसक्छ । भोलि सबैका एजेण्डा सडकमा आउँदा हाम्रो एजेण्डा लजिकल इन्डमा नपुग्न पनि सक्छ । त्यसैले पार्टीलाई एकताबद्ध गरेर चुनावमा जानुपर्छ’, बैठकमा खड्काले भने ।

कांग्रेस केन्द्रीय समितिको बैठक अझै केहीदिन लम्बिने निश्चित छ । सभापति देउवा संसद विघटनबारे अदालतमा परेका मुद्दाबारे प्रारम्भिक सुनुवाई नहुँदासम्म बैठक लम्ब्याउने पक्षमा छन् । सर्वोच्च अदालतले १० वटा रिटहरुमाथि बुधबार पेशी तोकेको छ भने संवैधानिक इजलास पुगेका दुई रिटमाथि शुक्रबार पेशी तोकिएको छ ।

देउवा ओलीतिर, पौडेल प्रचण्डतिर

कांग्रेस केन्द्रीय समितिको मंगलबारको परिदृश्य हेर्दा ध्रुवीकरण प्रष्ट देखिन्थ्यो । सभापति देउवा निकट केन्द्रीय सदस्यहरुले आन्दोलनभन्दा चुनावको तयारी गर्नुपर्ने धारणा राख्न थालिसकेका छन् ।

बैठकलगत्तै पौडेल पक्षका केही केन्द्रीय सदस्यहरु भने पौडेलको कोठामा परामर्शमा जुटेका थिए । पौडेल पक्षका एक केन्द्रीय सदस्यले संसद विघटनको निर्णयका कारण कांग्रेसमा पनि ध्रुवीकरण चुलिने बताए ।

‘शेरबहादुर दाइ ओलीले चुनाव गराउँछन् र कांग्रेसले बहुमत पाउँछ भन्नेमा ढुक्क देखिनुभयो । रामचन्द्र दाइ ओलीले चुनाव गराउनेमा कन्भिन्स हुनुहुन्न र प्रचण्डसँग मिलेर भएपनि आन्दोलन गर्नुपर्छ भन्नेमा हुनुहुन्छ । यसपटकको बैठकमा दुवै पक्षबीच कडा टक्कर हुने देखिन्छ’, ती केन्द्रीय सदस्यले नेपाल प्रेससँग भने ।

संसद विघटन लगत्तै सार्वजनिक भएको संवैधानिक नियुक्तिको सूचीमा सभापति देउवाले दिएका नामहरु समेटिएको थियो । यसकारण देउवा ओलीप्रति ‘सफ्ट’ हुने आकलन छ । वरिष्ठ नेता पौडेलले भने शुक्रबार नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालसँग गोप्यरुपमा भेटेर संयुक्त आन्दोलनका लागि तयार हुनसकिने संकेत गरेका थिए ।

प्रतिनिधिसभा विघटन प्रकरणले सत्तारुढ नेकपालाई ‘औपचारिक फुट’ मा पुर्‍याइसकेको छ । यही प्रकरणमा कांग्रेसभित्रको ध्रुवीकरण भने कहाँसम्म पुग्ने हो ? निश्चित छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर