न्यायालयले जनताको भावनाविरुद्ध फैसला सुनाउँदैनः महेश बस्नेत – Nepal Press

न्यायालयले जनताको भावनाविरुद्ध फैसला सुनाउँदैनः महेश बस्नेत

जनकपुरधाम । नेकपा नेता महेश बस्नेतले प्रधानमन्त्रीले घोषणा गरेको निर्वाचन आमजनताले स्वीकार गरिसकेको दाबी गरेका छन् ।

जनकपुरमा भएको ओली पक्षका युवाहरुको भेलालाई सम्बोधन गर्न जनकपुरधाम आइपुगेका नेता बस्नेतले यस्तो दाबी गरेका हुन् । उनले औपचारिक रुपमा नेपाली कांग्रेसले विरोध गरे पनि निर्वाचनलाई स्वीकार गरिसकेको दाबी गरे ।

‘केपी ओली मधेशविरोधी हो भनेर गलत प्रचार गरिएको छ’ उनले भने, ‘तर उहाँ मधेशविरोधी होइन । मधेशी जनता पनि उहाँको पक्षमा छन् भन्ने सन्देश दिन जनकपुरमा युवा भेला गरेका छौं ।’ मधेशमा पनि ओली पक्षको मजबुत पकड रहेको उनको भनाइ छ ।

‘चौतर्फी घेराबन्दीमा पारेर प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र राष्ट्रपतिमाथि महाभियोग लगाउने योजना थाहा पाएपछि बाध्य भएर संसद विघटन गर्नुपरेको बताए । उनले भने, ‘घेराबन्दीमा परेपछि नराम्रा नेतालाई नेतृत्व सुम्पिनुभन्दा डेढ वर्ष अगाडि नै जनतामा जान्छु । जनता न्यायाधीश हुन् । जनताले नै दूध र पानी छुट्याउँछन् भनेर उहाँ (ओली)ले निर्वाचनको प्रस्ताव गर्नुभयो ।’

आवधिक निर्वाचनलाई असंवैधानिक भन्ने व्यक्तिहरु नै असंवैधानिक रहेको उनले तर्क गरे । ‘लोकतन्त्रमा बहुमत प्राप्त गरेका प्रधानमन्त्रीले चौतर्फी जनताको म्यान्डेड लिने भनिसकेपछि अर्को सरकार बन्ने विकल्प रहँदैन’, उनको धारणा छ ।

‘निर्वाचनको प्रक्रियालाई अदालतले अस्वीकार गर्छ भन्ने लाग्दैन’ उनले भने, ‘आमजनताले निर्वाचनलाई स्वीकार गरिसकेकाले न्यायालयले जनताको भावनाविरुद्ध फैसला लिंदैन । त्यसैले हामी चुनावी तयारीमा लागिसकेका छौं ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *