नेपाली सुपरमोडलको संगीत डेब्यु, न्यूयोर्क फेसन विकदेखि गायनसम्म – Nepal Press

नेपाली सुपरमोडलको संगीत डेब्यु, न्यूयोर्क फेसन विकदेखि गायनसम्म

न्यूयोर्क फेसन विकको चर्चित नाम हो वर्षा थापा । सुपरमोडलको रुपमा विश्व चर्चित यी नेपाली डीभाले अब संगीत कम्पोजमा समेत डेब्यु गरेकी छन् । उनले यसैसाता आफ्नो मातृभाषा नेपालीमा चार गीत रिलिज गरेकी छन् ।

ती चारै गीतको लेखन एवं कम्पोज उनी स्वयंले गरेकी हुन् । यीमध्ये अधुरो बोलको गीतमा निर्माण भएको म्युजिक भिडियो इन्टरनेट लन्च भएको छ । गत वर्ष सीता भर्जिन ब्यान्डका सदस्य रब मास्ट्रियानीले वर्षालाई गिटार सिकाएका थिए ।

एल्बमको नाम ‘माया’ राखिएको छ । गत अप्रिलमा रिलिज भएको एल्बममा अधुरो बोलको गीत संग्रहित छ । ‘यो एल्बम मेरो सिकाइको सुरुआत हो’ उनले भनिन्, ‘समय सबथोक हो । बितेको वर्षदेखि मैले यो कुरा महसूस गरिरहेकी छु ।’

‘नेपालीमै गीत लेख्नुको अर्थ चाहिं भावना व्यक्त गर्न असमर्थ नेपाली महिलाहरुलाई उत्प्रेरणा दियोस् भन्ने उद्देश्यले हो’ भन्छिन्, ‘अर्को वर्ष यिनै गीतलाई अंग्रेजी भाषामा रुपान्तरण गर्नेछु जसले गर्दा अन्तर्राष्ट्रिय दर्शक र श्रोता बढ्नेछन् ।’ गीतमा वर्षा स्वयमको सुरिलो आवाज सुन्न सकिन्छ । ‘अधुरो’ बोलको उक्त गीत चाहिं उनले आफ्ना दिवंगत पिताको सम्झनामा लेखेकी हुन्। वर्षा आठ वर्षकी छँदा उनका पिताको देहान्त भएको थियो ।

विश्व फेसनका चर्चित नाम बोर्टेगा भेनेटा, प्रबल गुरुङ, राल्फ लाउरेन, मुग्लेर, अलेक्जेन्डर वाङ, हर्मिज र हालै ब्रान्डेल म्याक्सवेलको डिजाइनमा वर्षाले रनवे नापिसकेकी छन् । प्रायः उनी हलिउडका नेपाली फेसन डिजाइनर प्रबल गुरुङको डिजाइनमा देखिने गर्छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *