नक्कली किसानहरू – Nepal Press

नक्कली किसानहरू

मौसुफको एक हुकुममा
हातमा बञ्चरो, हँसिया, कुटो, कोदालो बोकेर
लड्न हिँड्थे किसानहरू
मार्थे मरिदिन्थे
मौसुफको एक हुकुममा
मर्थे मारिदिन्थे
ती पो थिए त सक्कली किसान

आज
कुनै विखण्डनकारीले
नक्कली किसानहरू भेला गरेर
समृद्ध नेपालकाविरुद्ध नारा लगाइरहेको छ

सुखी नेपालीहरू त सुखी नै छन्
को हुन् यी विरोध गर्नेहरू ?
अब रुनु पर्दैन भन्दा पनि रोइदिने ?
अब आँसु खसाल्नुपर्दैन भन्दा पनि खसाल्दिने ?
मौसुफको आदेश नमान्ने ?
कसरी सक्कली हुनसक्छन् ?

सक्कली किसानहरू त
सिंहदरबारमा भेटिन्छन् हिमालका कुरा गर्छन्
बालुवाटारमा भेटिन्छन् रामको मन्दिर बनाउने कुरा गर्छन्
खुमलटारमा भेटिन्छन् लालिगुराँसका कुरा गर्छन्
माइतीघरमै पनि भेटिनसक्छन्
उनीहरू त आहा सरकार, ओहो सरकार, सरकार बचाउँ पो भन्छन्
मौसुफको आदेश होस्
म धरहराबाट हाम फाल्छु भन्छन्
चन्द्रागिरिबाट हेर्छन् काठमाडौं
र औँलो ठड्याएर भन्छन् आहा मेरो नेपाल प्यारो

यस देशमा
भोकका कुरा गर्नेहरू कसरी सक्कली हुन सक्छन् ?
खै यिनको टाउकोमा सगरमाथा जस्तो चारपाटे पहाडिया टोपी
खै यिनले लगाएको राष्ट्रवादको नारा ?
खै यिनको हातमा पार्टी सदस्यताको कागज ?
हेर त
कस्तो मल गन्हाएको यिनको शरीरमा
के गर्छन् यिनीहरूले ? खेती !
हैनन् यी सक्कली किसानहरू
सक्कली किसानहरु त व्यापार गर्छन्
खेती गर्दैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *