किम्फमा उत्कृष्ट सात फिल्म इन्टरनेट रिलिज, विहीबारसम्म दर्शकले निःशुल्क हेर्न पाइने – Nepal Press

किम्फमा उत्कृष्ट सात फिल्म इन्टरनेट रिलिज, विहीबारसम्म दर्शकले निःशुल्क हेर्न पाइने

काठमाडौंं । अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)का विजयी फिल्मलाई इन्टरनेटमा रिलिज गरिएको छ । फेस्टिभलको अफिसियल वेबसाइटमा विहीबारसम्म दर्शकले निःशुल्क फिल्म हेर्न सक्नेछन् ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा विजयी भएको इरान र फिलिपिन्सको फिल्म ‘द सिलहुट्स’ लाई हेर्न सकिनेछ । इरानी निर्देशक अफसानेह सालारीको यो फिल्म ८० मिनेट लामो छ । अफगानिस्तानको राजनीतिक अस्थिरताले घरेलु शरणार्थीको कठिन जीवनलाई यसले चित्रण गरेको छ ।

फिनल्यान्ड र नर्वेको संयुक्त लगानीको फिल्म ‘द बिलभ्ड डटर’ किम्फमा दोस्रो भएको थियो । ७१ मिनेट लामो यो फिल्मले नेपालको बालविवाह सम्बन्धी मुद्दालाई मुख्य पात्रमार्फत पेश गरेको छ । टीन म्याडिसन निर्देशित यो फिल्म भोजपुरी भाषामा छ ।

किम्फमा अमेरिकी फिल्म बाटो तेस्रो भएको थियो । लुकास मिलर्ड र केटी स्ट्राइकर निर्देशित फिल्मले पूर्वी नेपालको सडक अवस्था र त्यहाँको जनजीवन चित्रण गर्छ । अमेरिकाकै ‘युनाइटेड स्टेट्स अफ जोएज’ले जुरी स्पेसल मेन्सन अवार्ड जितेको थियो ।

नेपाली पानोरमातर्फ टेक्सी शेर्पाको फिक्सन फिल्म ‘सङ्स अफ क्लाउड्स’ उत्कृष्ट भएको थियो । यही खण्डतर्फ उत्कृष्ट डकुमेन्ट्री अवार्ड चाहिं सोनम छेकी लामाको ‘द स्नो लियोपार्ड कलिङ’ले जित्यो । जुरी स्पेसल मेन्सन सिकुमा राई निर्देशित ‘कम ओभर फर अ ड्रिंक कान्छी’ले जितेको थियो । फेस्टिभल निर्देशक रम्यता लिम्बूले विहीबारसम्म किम्फको वेबसाइटमा विजयी फिल्मलाई दर्शकले निःशुल्क हेर्न सक्ने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *