विपक्षीको अनुहारमा थुक्ने फुटबलरलाई ६ खेलको प्रतिबन्ध – Nepal Press

विपक्षीको अनुहारमा थुक्ने फुटबलरलाई ६ खेलको प्रतिबन्ध

एजेन्सी । जर्मनीको शीर्ष डिभिजनको फुटबल बुन्डेस लिगाका क्रममा विपक्षी खेलाडीको अनुहारमा थुकेका कारण बोरुसिया मोन्चेनग्लाडबाचका स्ट्राइकर मार्कस थुरामलाई जर्मन फुटबल संघले लिगमा ६ खेलको प्रतिबन्ध र ४० हजार युरो जरिवाना तोकेको छ ।

शनिबार भएको खेलमा २३ वर्षीय फ्रान्सेली खेलाडी थुराम रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए भने टोलीले होफेनहिमसँग २–१ गोलको हार ब्यहोरेको थियो ।

सन् १९९८ को विश्वकप विजेता लिलियन थुरामका छोरा मार्कसले होफेनहिमका डिफेन्डर स्टेफान पोचको अनुहारमै थुकेको भिडियो रिप्लेमा देखिएको थियो ।

थुरामलाई उनको क्लबले पनि एक महीनाको पारिश्रमिक जरिवाना लगाएको छ । जर्मन अखवार बाइल्डका अनुसार उनको जरिवाना १ लाख ५० हजार युरो हुनेछ, जुन क्लब इतिहासकै सबैभन्दा ठूलो जरिवाना हो । यो रकम च्यारिटीलाई प्रदान गरिनेछ ।

‘मार्कसले यो जरिवाना स्वीकार गरेका छन् र उनले आफ्नो तर्फबाट सामाजिक कार्य सुरु गर्ने घोषणा पनि गरेका छन्,’ मोन्चेनग्लाडबाचका स्पोर्टिङ डाइरेक्टर म्याक्स बेर्लले भनेका छन्, ‘म उनलाई एक महान र चिन्तनशील व्यक्तिको रुपमा जान्दछु ।’

७८ मिनेटमा थुरामले रातो कार्ड पाउनुअघिसम्म १–१ को बराबरी थियो । तर होफेनहिमले खेलको अन्त्यतिर निर्णायक गोलसहितको जित निकाल्न सक्यो ।

इन्स्टाग्राममा क्षमायाचना गरेका थुरामले फ्रान्सका लागि तीन अन्तर्राष्ट्रिय खेल खेलेका छन् । ‘यो मेरो चरित्र थिएन र यस्तो कहिल्यै हुनुहुँदैनथ्यो’ उनले भनेका छन्, ‘मैले एक प्रतिस्पर्धीलाई गलत तरिकाले प्रतिक्रिया दिएँ र केही ठूलो गल्ती भयो तर त्यो नियोजित थिएन, दुर्घटना थियो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर