टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरी बाइडेनले लगाए कोरोना खोप – Nepal Press

टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरी बाइडेनले लगाए कोरोना खोप

एजेन्सी । हालै अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएका जोय बाइडेनले टेलिभिजन प्रत्यक्ष प्रसारणमा फाइजर कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लिएका छन् ।

टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्नुपर्नाको कारणबारे प्रष्ट पार्दै उनले भनेका छन्, ‘यो खोपको प्रयोग सुरक्षित छ भनेर सबै अमेरिकीलाई आश्वस्त पार्न सकुँ ।’

बाइडेनले जस्तै वर्तमान उपराष्ट्रपति माइक पेन्स, सभामुख न्यान्सी बेलोसीलगायतले यो खोपको पहिलो मात्रा लिइसकेका छन् । आइतबार खोपको दोस्रो मात्रा दिन सुरु गरिएको छ । अमेरिकामा पहिलो खोप लगाउने न्युयोर्ककी नर्स मोडर्नालाई नै दोस्रो मात्रा पनि दिइएको छ ।

समाचारहरुमा बताइएअनुसार ५ लाख भन्दा बढी अमेरिकीलाई कोरोना खोपको आवश्यकता छ । ‘म यो सन्देश दिन खोजिरहेको छु कि मानिसहरुले उपलब्ध खोपका लागि तयार हुन सकुन्,’ डेमोक्रेटिक नेता बाइडेनले न्युयोर्क डेलावेरमा भने, ‘कुनै चिन्ता लिनु पर्दैन ।’

उनले यो पनि भनेका छन् कि ट्रम्प प्रशासन खोप कार्यक्रम सुरु गर्नका लागि केही श्रेयको हकदार बनेको छ । बाइडेनकी श्रीमती जिल बाइडेनले खोपको पहिलो डोज अघिल्लो दिन नै लिएकी थिइन् ।

उपराष्ट्रपति पदको चुनाव जितेकी कमला ह्यारिस र उनका पति डग एमहोफले अर्को साता खोपको पहिलो डोज लिनेछन् ।

बाइडेनको टिमले ह्वाइटहाउसको जिम्मेवारी सम्हालेको १०० दिनभित्र १०० मिलियन कोरोना खोपको बन्दोबस्त गर्ने लक्ष्य राखेको छ ।

कोरोना महामारीको क्रममा अमेरिकामा विश्वमै सबैभन्दा धेरै १ करोड ८० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने ३ लाख १९ हजारभन्दा बढीको मृत्यु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर