संसद विघटनबारे अन्तर्राष्ट्रिय मिडियाको चासो, कुन मिडियाले के लेखे ? – Nepal Press

संसद विघटनबारे अन्तर्राष्ट्रिय मिडियाको चासो, कुन मिडियाले के लेखे ?

संसद विघटन प्रकरणलाई अन्तर्राष्ट्रिय संचारमाध्यमले प्रमुखताका साथ प्रकाशन प्रसारण गरेका छन् । खासगरी, नेपालको विकसित घटनाक्रममा दक्षिण छिमेकी राष्ट्र भारतका मिडियाको मुख्य चासो देखिन्छ ।

न्यूयोर्क टाइम्सको हेडलाइन छ : नेपाल अस्थिरतामा फस्यो । चीन र भारतको चासो ।’ अमेरिकी अखबारले नेपालको राजनीतिलाई लामो समयदेखि बेइजिङ र दिल्लीको चासोले निर्देशित गरिरहेको लेखेको छ ।

वासिङ्टन पोस्टले चाहिं प्रमुख दलको आन्तरिक शक्ति संघर्षको कारण संसद विघटन भनेर हेडलाइन लेखेको छ । पार्टीभित्रको झगडाले देशलाई थप अस्थिरतातर्फ लैजाने उसले लेखेको छ । अघिल्लोपटकको चुनावमा ४७ करोड अमेरिकी डलर खर्च भएको भन्दै वासिङ्टन पोस्टले कोरोनाभाइरसको खोपका लागि ६७ करोड खर्च हुने भन्दै नेपालले यस्तो खर्च थेग्न नसक्ने उल्लेख छ ।

एसोसिएट प्रेसले पनि संसद भंग हुँदा राजनीतिक अस्थिरताको सुरुआत भएको लेखेको छ । पुष्पकमल दाहाललाई प्रधानमन्त्री पद दिन नमान्दा सुरु भएको पार्टीको झगडा संसद भंगसम्म आइपुगेको उल्लेख छ । नेपालमा बढ्दो बेइजिङको प्रभावलाई भारतले आफ्नोतर्फ धकेलिरहेको रोयटर्सले समाचारमा उल्लेख गरेको छ ।

भारतीय मिडिया प्रेस ट्रस्ट अफ इन्डियाले प्रचण्डसँगको झगडामा ओलीले संसद विघटन गरेको लेखेको छ । नेपालको संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिएको कुरा पीटीआईले लेखेको छ । हिन्दुस्तान टाइम्सले विरोधीलाई चकित पारेर ओलीले संसद भंग गरेको हेडलाइन लेखेको छ ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले नेपालको मन्त्रिपरिषदबाट संसद विघटनको लागि सिफारिश गर्ने निर्णयको विरोधमा सातजना मन्त्रीले राजीनामा दिएको समाचार लेखेको छ । टाइम्स अफ इन्डियाले सत्तारुढ पार्टीभित्रको विवादमा प्रधानमन्त्रीले संसद भंग गरेको हेडलाइन लेखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर