अन्नपूर्ण सुगर मिलले दैनिक एक करोड भुक्तानी गर्ने – Nepal Press

अन्नपूर्ण सुगर मिलले दैनिक एक करोड भुक्तानी गर्ने

काठमाडौं । रौतहटस्थित अन्नपूर्ण सुगर मिलले किसानको बक्यौता रकम भुक्तानी गर्न शुरु गरेको छ । उक्त मिलले एक विज्ञप्ति प्रकाशन गर्दै आजदेखि दैनिक एक करोडका दरले रकम भुुक्तानी गर्ने जनाएको हो ।

मिलले दैनिक एक करोडका दरले किसानको खातामा रकम जम्मा गर्ने सूची तयार पारेको भन्दै जतिसक्दो चाँडो भुक्तानी गर्ने मिलका सञ्चालक राकेश अग्रवालले जानकारी दिए । उनका अनुसार गत वर्ष किसानलाई १८ करोड भुक्तानी गरिएको थियो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्कअनुसार उक्त मिलले भुक्तानी गर्नुपर्ने रकम १७ करोड छ । यसैगरी राकेश अग्रवाल सञ्चालक रहेको नवलपरासीस्थित इन्दिरा सुगर मिलले चार करोड ७० लाख भुक्तानी गर्न बाँकी छ ।

सबैभन्दा धेरै बक्यौता रकम रहेको श्रीराम सुगर मिलले गत शुक्रबारदेखि भुक्तानी शुरु गरेको छ । उक्त मिलले सोमबारसम्म बक्र्यौता रकम भुक्तानी गरिसक्ने उद्योग मन्त्रालयमा सहमति गरिसकेको छ ।

मन्त्रालयमा गरेको सहमति अनुसार उक्त मिलले शुक्रबार छ हजार किसानलाई १६ करोड ४४ लाख ७० हजार बक्र्यौता रकम भुक्तानी गरेको बताएको छ ।

गत वर्षको पुस १८ गते सरकार, चिनी मिल र उखु किसानबीच भएको सम्झौता अनुसार रकम भुक्तानी नपाएको भन्दै गत आइतबारदेखि उखु किसानले काठमाडौंमा आन्दोलन गर्दै आएका छन् ।

मन्त्रालयको तथ्याङ्कअनुसार लुम्बिनी चिनी मिलको आठ करोड ४१ लाख, इन्दिरा सुगर मिलको चार करोड ७० लाख, अन्नपूर्ण सुगर मिलको १७ करोड र श्रीराम सुगर मिलको ३५ करोड गरी पाँच चिनी मिलबाट ६५ करोड ३१ लाख रकम भुक्तानी गर्न बाँकी रहेको छ ।
दुई मिलले बक्यौता रकम भुक्तानी गर्न शुरु गरे पनि अन्य मिलले भुक्तानी शुरु गरेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर