संसद विघटनको निर्णय राष्ट्रघातीः विवेकशील साझा – Nepal Press

संसद विघटनको निर्णय राष्ट्रघातीः विवेकशील साझा

अनुमोदान नगर्न राष्ट्रपतिलाई सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय गरेर राष्ट्रघाती कदम चालेको विवेकशील साझा पार्टीको ठहर छ । अध्यक्ष रवीन्द्र मिश्रले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिलाई प्रधानमन्त्री ओलीको सिफारिस सदर नगर्न आग्रह गरिएको छ ।

‘प्रधानमन्त्री ओलीको किचेन क्याबिनेटका विश्वासिलो सहयोगीमा रूपान्तरित भएर राष्ट्रपतिको गरिमालाई नै बारम्बार गिराएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई यसपटक पदको गरिमा जोगाउन मन्त्रिपरिषदको सिफारिस सदर नगर्न विवेकशील साझा पार्टी जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्रीको कदमविरुद्ध आमनागरिक एक जुट भएर विरोधमा उत्रिन र सम्पूर्ण लोकतान्त्रिक शक्तिहरू एकवद्ध हुनसमेत विवेकशील साझा पार्टीले आह्वान गरेको छ ।

विज्ञप्तिमा प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेर अनायास संसद विघटनको सिफारिस गर्नु घोर असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदम भएको ठहर गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर