एकैदिन आठ माउन्टेन फ्लाइट – Nepal Press

एकैदिन आठ माउन्टेन फ्लाइट

काठमाडौं । सर्वोच्च शिखर सगरमाथासहितका हिमालको मनोरम दृश्वावलोकन गर्न पाउने भएपछि मुलुकको पर्वतीय उडानमा यात्रुको आकर्षण बढेको छ ।

कोभिड–१९ सङ्क्रमणकै बीच गत मङ्सिर २० देखि सञ्चालनमा आएको पर्वतीय उडान उत्साहवर्द्धक भइरहेको एयरलाइन्सले जनाएका छन् । बन्दाबन्दीको झण्डै नौ महिनापछि खुलेको पर्वतीय उडानमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । कोभिडअघि प्रायः विदेशीका लागि मात्र हुने पर्वतीय उडानमा नेपालीहरु हिमाल अवलोकन गर्न रुचाएका छन् ।

नेपाली यात्रुलाई लक्षित गर्दै एयरलाइन्सले छुटसहितका अफर ल्याएपछि यो उडानमा झनै यात्रु ओइरिएका छन् । दुवै कम्पनीले एक टिकट खरिदमा अर्को सित्तैमा उपलब्ध गराएका हुन् । निजी वायुसेवा कम्पनी बुद्ध र यती एयरलाइन्सले हरेक शनिबार पर्वतीय उडान गर्दै आएका छन् । शनिबार एकै दिन आठ पर्वतीय उडान भएका छन् । बुद्ध एयरका पाँच र यती एयरका तीन उडान भएका हुन् ।

यतीको सिमराबाट पनि पर्वतीय उडान तय गरेको भए पनि मौसम खराबीका कारण उडान रद्द भएको कम्पनीले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ७ः०० बजे पर्वतीय उडान हुने गरेको छ । अघिल्लो शनिबार दुवै कम्पनीका उडान रद्द भएकाले पनि आज एकै दिन धेरै उडान भएका हुन् ।

गत शनिबार बुद्धका चार र यतीका सिमरासहित चार उडानमध्ये यतीले एक मात्र उडान गरेको थियो । आज बुद्ध एयरले पाँच उडानमार्फत ३०० यात्रुलाई सगरमाथा अवलोकन गराएको जनाएको छ । यात्रुको उत्साहवर्द्धक माग बढेकाले अन्य दिन पनि पर्वतीय उडान गर्ने बुद्ध एयरको योजना छ ।

यतीको सातामा दुई दिन पर्वतीय उडान

यती एयरलाइन्सले यात्रुको मागलाई मध्यनजर गर्दै सातामा दुई दिन पर्वतीय उडान गर्ने भएको छ ।

हाल शनिबार मात्र पर्वतीय उडान गर्दै आएको यतीले हरेक आइतबार पनि उडान गर्ने भएको हो ।

भोलि आइतबारका लागि दुई उडान निर्धारण गरिएको कम्पनीले जनाएको छ । यती एयरलाइन्सका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले यात्रुको मागबमोजिम हरेक शनिबार र आइतबार पर्वतीय उडान गरिने जानकारी दिए ।

उनका अनुसार यतीले काठमाडौँबाट सातामा दुई दिन र सिमरा आधार भएर हरेक शनिबार एक दिन उडान गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर