सरकारी जग्गामा ‘समाजसेवी’को घर ! – Nepal Press

सरकारी जग्गामा ‘समाजसेवी’को घर !

दाङ । तुलसीपुर उपमहानगरपालिकाको नाममा दर्ता स्रेस्ता कायम रहेको जग्गा व्यक्तिले अतिक्रमण गरी पक्की घर समेत बनाएर बिक्री गरेको भेटिएको छ ।

तुलसीपुर उपमहानगरको कार्यालय रहेको कित्ता नम्बर ८१२ को जग्गामा व्यक्तिले तीनवटा आरसीसीयुक्त घर बनाएको पाइएको छ । तीमध्ये तुलसीपुरमा चर्चित एकान्त होटलका संचालक टेकराम खड्काले सबैभन्दा ठूलो तीनतले घर बनाएका छन् । खड्का केही वर्षदेखि गर्मीयाममा निःशुल्क पानी वितरण गरेर समाजसेवीको रूपमा समेत परिचित थिए ।

सूचनाको हक प्रयोग गरी महानगरबाट प्राप्त विवरण अनुसार वडा नम्बर ५ ‘ख’ मा रहेको कित्ता नम्बर ५४५ को तीन कट्ठा जमीन अतिक्रमण गरेर पक्की घर ठड्याइएको पाइएको छ । त्यस क्षेत्रका पक्की घर ऐलानी जग्गामा बनेका भन्दै किनबेच हुँदै आएको छ ।

त्यसैगरी कित्ता नम्बर ५४४ मा पर्ने एक बिघा १० कट्ठा १४ धुर जग्गामध्ये तुलसीपुर उपमहानगरपालिकाले १० कट्ठा मात्रै भोगचलन गर्दै आएको छ भने एक बिघा १४ धुर व्यक्तिले कब्जा गरी पक्की घर बनाएर किनबेच गरिरहेका छन् ।

यस्तै वडा नम्बर ५ ‘ख’ को उपमहानगरपालिकाको नाममा रहेको २ बिघा ८ कठ्ठा १६ धुर जग्गा व्यक्तिको कब्जामा रहेको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ ।

साबिकको तुलसीपुर नगरपालिका कर्मचारीको भरमा चल्दाको समयमा व्यक्तिले कर्मचारीसँगको मिलेमतोमा नगरपालिकाको नाममा दर्ता स्रेस्ता कायम भएका जग्गा हडपेर पक्की घर बनाएको जानकारहरू बताउँछन् । तुलसीपुर नगरपालिकाका केही कर्मचारीले जग्गा अतिक्रमण हुँदा चुपचाप बस्ने शर्तमा मोटो रकम समेत असुलेको उनीहरू बताउँछन् ।

करीब २० वर्षपछि उपमहानगरपालिका बनेर जनप्रतिनिधि चुनिए पनि अतिक्रमण गरिएका जग्गा फिर्ता गराउन सकेका छैनन् ।

तुलसीपुर उपमहानगरपालिकाले आफ्नो अतिक्रमित जग्गा खोज्ने अभियान चलाएको बताएको छ । उपमहानगरपालिकाले अतिक्रमण भएको आफ्नो जग्गा खाली गर्न पटक–पटक सार्वजनिक सूचना समेत जारी गरेको छ । तर, न अतिक्रमित जग्गा अतिक्रमणकारीले खाली गरेका छन् न उपमहानगरपालिकाले डोजर लगाएर खाली गराउन नै सकेको छ ।

‘हाम्रो उपमहानगरको जग्गा अतिक्रमण गरिएको छ भन्ने सुन्नमा आएको छ’ उपमहानगरका प्रवक्ता श्याम डाँगीले भने, ‘भू–माफियाले अतिक्रमण गरेका जग्गा हामी खोज्ने अभियानमा छौं ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर