उपमेयरको घरमा कसरी पुगिन् बालिका ? बलात्कार प्रयासको आरोप – Nepal Press

उपमेयरको घरमा कसरी पुगिन् बालिका ? बलात्कार प्रयासको आरोप

बलात्कारकाे प्रयास भएकाे परिवारकाे दावी

जनकपुर । महोत्तरीको मनरा सिसवा नगरपालिकाकी उपमेयर रमिता प्रधानको घरको शौचालयमा मुख बाँधिएको अवस्थामा १४ वर्षीया बालिका फेला परेको घटना सार्वजनिक भएको छ ।

घटना बुधबारको हो । बुधबार साँझ करिव साढे छ बजेबाट बेपत्ता भएकी ती बालिकालाई प्रहरीको सहयोगमा २ घन्टापछि विनोद गामीको घरको शौचालयमा मुखमा कपडा कोचिएको अवस्थामा भेट्टाइएको महोत्तरीका डिएसपी राजन चापागाईंले जानकारी दिए । गामी उपप्रमुख रमिताका श्रीमान् हुन् ।

नगरपालिकाको वडा नम्बर ६ मा उपप्रमुख प्रधानको घर छ । हराएकी बालिकाको खोजी गर्ने क्रममा उपप्रमुखको घरअगाडि चप्पल भेटिएको थियो । बालिकाका परिवारले बालिकालाई शौचालयमा लगेर बलात्कारको प्रयास गरिएको दावी गरेका छन् ।

तर प्रहरीले भने स्वास्थ्य परीक्षण भएपछि मात्र बलात्कारबारे बोल्न सकिने जनाएको छ । उपप्रमुखको शौचालयमा बालिका भेटिएकोबारे नेपालप्रेसको जिज्ञाशामा महोत्तरी प्रहरीको तर्क चाहिँ हास्यास्पद छ, ‘हराइरहेकी बालिका भेटिएकी शौचालय उपमेयर प्रधानको होइन्, विनोद गामीको हो । हामी अनुसन्धान गर्दैछौं ।’ घटनापछि गामी फरार हुनुले परिवारको आरोपलाई बल पुगेको छ ।

यता उपप्रमुख प्रधानले भने आफूलाई फसाउन बालिकालाई उनकै आमाले शौचालयमा ल्याएर राखेको बताइन् । उनले नेपालप्रेससँग भनिन्, ‘म घर आउँदा ती बालिका आमासँगै आगो तापिरहेकी थिइन्, एकैछिनमा अपहरण भयो भनेर हल्ला गरियो । र, तुरुन्तै शौचालयमा भेटिइन् भनियो । सबै योजनाबद्ध रुपमा भएको छ ।’

उनले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहाले आफूलाई फसाउन योजनावद्ध रुपमा लागेको आरोपसमेत लगाएकी छन् । राज्यमन्त्री कुशवाहा त्यही क्षेत्रबाट तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित प्रदेश सांसद हुन् । रमिता भने तत्कालीन राजपाबाट उप–प्रमुख बनेकी छन् । पार्टी एकीकरणपछि अहिले दुवै जना एउटै पार्टी जसपामा छन् ।

राज्यमन्त्रीले किन तपाईंलाई फसाउन खोजेको भन्ने जिज्ञासमा उनले भनिन्, ‘पुरानो रिसिइबी हुनसक्छ ।’ उनले यसअघि पनि कुशबाहाले पटक पटक आफूलाई फसाउन प्रयास गरेको दावीसमेत गरिन् ।

राज्यमन्त्री कुशवाहाले घटनाबारे प्रहरीले जानकारी गराएपछि थाहा पाएको प्रतिक्रिया दिए । उनले भने, ‘यो घटनाबारेमा मैले आधिकारिक केहि भन्न सक्दिनँ । प्रहरीबाटै बुझ्नुस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर