गर्भ रोक्न वार्षिक २५ लाख ट्याबलेट पिल्स, के भन्छन् विशेषज्ञ ? (भिडियोसहित) – Nepal Press

गर्भ रोक्न वार्षिक २५ लाख ट्याबलेट पिल्स, के भन्छन् विशेषज्ञ ? (भिडियोसहित)

काठमाडौं । पछिल्लो समय महिलाहरुले आकस्मिक गर्भनिरोधक साधन पिल्सको अत्यधिक प्रयोग गर्न थालेका छन् । तथ्यांकअनुसार अविवाहित युवतीले समेत गर्भनिरोधक ‘७२ घण्टे’ पिल्सको अधिक प्रयोग गर्न थालेका छन् । वार्षिक २५ लाख ट्याब्लेट आकस्मिक गर्भनिरोधक पिल्स बिक्री हुने गरेको तथ्यांकले देखाएको छ ।

औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीका अनुसार नेपालमा आकस्मिक गर्भनिरोधक ७२ घण्टे पिल्स अर्थात् लिभोनोरजेस्ट्रेल औषधि बिक्री गर्न स्वदेशी र विदेशी गरी १८ वटा कम्पनीले अनुमति लिएका छन् । सबै कम्पनीको गरी वार्षिक २५ लाख ट्याब्लेट आकस्मिक गर्भनिरोधक ७२ घण्टे पिल्स नेपाली बजारमा बिक्री हुने गरेको छ ।

स्वदेशी कम्पनी ओएचएम फर्मास्युटिकलको मात्रै अनवान्टेड नामक ७२ घण्टे पिल्स वार्षिक एक लाख ८० हजार ट्याब्लेट बिक्री हुने गरेको कम्पनीले जनाएको छ ।

त्यस्तै अन्य स्वदेशी र केही भारतीय कम्पनीको गरी नेपालमा वार्षिक करीब २५ लाख ट्याब्लेट आकस्मिक गर्भनिरोधक ७२ घण्टे पिल्स बिक्री हुने गरेको देखिएको छ ।

फर्मासिष्टहरूका अनुसार नेपालमा ७२ घण्टे पिल्स खरीद गर्न विशेषगरी १८ देखि ३० वर्ष उमेर समूहका महिला बढी आउँछन् ।

के हो आकस्मिक गर्भनिरोधक ७२ घण्टे पिल्स ?

असुरक्षित यौन सम्पर्कको ७२ घण्टाभित्र सेवन गरिसक्नुपर्ने भएकाले यसलाई ७२ घण्टे पिल्स भनिएको हो । यो औषधि नेपाली बजारमा आइपिल, अनवान्टेड ७२, इ–७२ म्याक्स, इकोन, ओके, एमटीपी प्रिग्नो, एमटी पिल्स जस्ता ब्राण्डनेममा बिक्री भैरहेको छ ।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजालका अनुसार आकस्मिक गर्भनिरोधक चक्कीमा लिभोनोरजेस्ट्रेल वा युलिप्रिस्टल एसिटेट नामक हर्मोन हुन्छ । यो हर्मोनले महिलाको डिम्बाशयबाट निस्कने डिम्बलाई रोक्ने, यदि डिम्ब निस्किसकेको छ भने शुक्रकीटसँग सेचन भई भ्रूण बन्न नदिने र यदि भ्रूण बनिसकेको छ भने पाठेघरमा टाँसिन दिंदैन । तर यसको सेवनले शतप्रतिशत गर्भ बस्दैन भन्ने चाहिं ग्यारेन्टी हुँदैन ।

७२ घण्टे पिल्स सेवन गरिसकेपछि वाक्वाकी आउने, रिंगटा लाग्ने, टाउको दुख्ने, थकान महसूस हुने, स्तन भारी महसूस हुने जस्ता लक्षण देखिन्छ । यी समस्या त एक दुई दिनमा हराएर जान्छ तर यसले पार्ने दीर्घकालीन समस्या भने पछिसम्म रहिरहन्छ ।

आकस्मिक रूपमा एक–दुई पटकको प्रयोगमा त्यति असर नगरे पनि पटक–पटकको प्रयोगले स्वास्थ्यमा गम्भीर असर देखिन सक्छ ।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ज्योती अग्रवालका अनुसार पछिल्लो समय आकस्मिक गर्भनिरोधक ७२ घण्टे पिल्स सेवन गरेर स्वास्थ्यमा समस्या देखिएर अस्पताल आउनेहरू बढेका छन् ।

पटकपटक आकस्मिक गर्भनिरोधक साधनको प्रयोगले निम्त्याएको स्वास्थ्य समस्या विकराल बन्दैछ ।

महीनावारी गडबड, महीनावारीको समयमा धेरै रगत बग्ने, तल्लो पेट दुख्ने र बाझोपनको समस्यालगायत महिलाको प्रजनन् स्वास्थ्यमै गम्भीर असर निम्त्याएको कारणहरू मध्ये पटकपटकको आकस्मिक गर्भनिरोधक साधन पनि एक हो ।

डा. अग्रवालका अनुसार आकस्मिक गर्भनिरोधक साधन आकस्मिक अवस्थाको प्रयोगको लागि मात्र हो पटकपटक प्रयोग गर्ने औषधि होइन । बलात्कारबाट गर्भ बस्न सक्ने हुँदा, सन्तानको रहर पुगेका दम्पतीको असुरक्षित सम्पर्क हुँदा, कण्डम फुटेर योनीभित्रै वीर्य स्खलन भएमा या नियमित परिवार नियोजनको चक्की बिर्सेर वा परिवार नियोजनका अस्थायी साधन उपलब्ध नहुने ठाउँमा आकस्मिक यौन सम्पर्क भएमा अनावश्यक र अनिच्छित गर्भ रोक्न आकस्मिक गर्भनिरोधकको चक्की सेवन गर्ने हो । तर यौन सन्तुष्टि नपाइएला भनेर कण्डम प्रयोग नगरी असुरक्षित यौनसम्पर्क गर्ने र त्यसपछि गर्भ रोक्न ७२ घण्टे पिल्स खानेहरूले आकस्मिक गर्भनिरोधक औषधिको दुरुप्रयोग गरेको विज्ञहरू बताउँछन् ।

डा. भोला रिजाल नेपालमा यो औषधिको ‘मिसयुज’ बढेको बताउँछन् । गर्भपतनले वैधानिकता पाउनुपर्छ भनेर वर्षौं आवाज उठाएपछि गर्भपतनसम्बन्धी कानून बन्यो । यसले मातृ मृत्युदर घट्ला भन्ने विश्वास थियो त्यो पनि हुन सकेन ।

गर्भपतन र गर्भपतन गराउने औषधिको दुरुप्रयोग झन् बढ्यो र यसले महिला स्वास्थ्यको स्थिति नाजुक बनाउँदै लगेको छ । अहिले आकस्मिक गर्भनिरोधक औषधिको दुरुप्रयोगले पनि बाँझोपनको समस्या बढेको छ । यस्ता औषधिको प्रयोग यही हिसाबले बढ्दै गए अबको केही वर्षपछि बाँझोपनको समस्याले विकराल रूप लिन सक्ने डा. रिजाल बताउँछन् ।

आकस्मिक गर्भनिरोधक चक्की प्रयोग गर्नेहरू शिक्षित वर्ग नै बढी छन् । अहिलेको नयाँ जेनेरेसन नै यो औषधिको दीर्घकालीन असर थाहा हुँदाहुँदै पनि प्रयोग गरिरहेका छन् ।

फर्माशिष्ट अमित श्रेष्ठ भन्छन्, केही युवतीहरू ५०औं पटकसम्म ७२ घण्टे औषधि खरीद गर्न आउने पनि छन् । यो औषधि धेरै सेवन गर्नुहुँदैन भन्दा आफ्नो पार्टनरले कण्डम प्रयोग गर्न नमान्दा यसरी पिल्स सेवन गर्न बाध्य भएको सुनाउँछन् ।

आकस्मिक गर्भनिरोधक साधनलाई कण्डम जस्तो जत्ति पटक यौन सम्पर्क भयो त्यति पटक प्रयोग गर्ने ट्रेन्ड नै छ । केही युवतीहरू त हप्तैपिच्छे खरीद गर्न आउने गरेको श्रेष्ठ बताउँछन् ।

स्त्री रोग विशेषज्ञ डा. ज्योती अग्रवाल यो औषधिलाई सरकारले प्रेसक्रिप्सन विना खरीदबिक्री हुन् दिन नहुने बताउँछिन् । चिकित्सकको सल्लाह विना यो औषधि सेवन गर्दा पहिल्यै स्वास्थ्य समस्या भएका कतिपय महिलाको ज्यान पनि जान सक्छ । अन्य रोग भएका र त्यसको औषधि सेवन गरिरहेका महिलाले आकस्मिक गर्भनिरोधक पिल्स सेवन गर्नै हुँदैन ।

अन्तर्राष्ट्रिय मेडिकल जर्नलमा प्रकाशित भएको अध्ययन अनुसार आकस्मिक गर्भनिरोधक औषधिले एस्ट्रोजोन हर्मोनमा गडबडी ल्याइदिन्छ, जसले गर्दा शरीरमा क्यान्सरका कोष वृद्धि हुने जोखिम बढ्छ । भविष्यमा स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर जस्ता जटिल समस्या देखिन पनि सक्छ ।
आकस्मिक गर्भनिरोधक साधनको धेरै प्रयोगले पाठेघरको भित्ता पातलो बनाइदिन्छ । जसका कारण भविष्यमा सन्तान चाहिंदा गर्भ तुहिने सम्भावना बढेर जान्छ । आकस्मिक गर्भनिरोधक साधन धेरै प्रयोग गरे हर्मोन असन्तुलित भई मूड परिवर्तन भइरहने, तौल बढ्ने, टाउको दुखाइ हुने जस्ता समस्या पनि देखिन सक्छ । आकस्मिक गर्भनिरोधक साधनको प्रयोग गर्नेले कन्डमको प्रयोग गर्दैनन्, जसका कारण यौनरोग लाग्न सक्छ ।

गर्भनिरोधक प्रयोग नगरे विकल्प के त ?

गर्भनिरोधक पिल्स नखाने, परिवार नियोजनका साधन प्रयोग नगर्ने, कण्डम नलगाउने र गर्भ रहन पनि नदिने हो भने सुरक्षित चक्र राम्रो विकल्प हो । नियमित रूपमा महीनावारी हुने महिलामा महीनावारी भएको कतिऔं दिनमा यौन सम्पर्क राखे गर्भ रहँदैन भन्ने जानकारी हुनुपर्छ ।
महीनावारी गडबड नभएका महिलामा महीनावारी भएको ८ दिन अघि र २२ दिनपछि कुनै साधन विना सम्पर्क राखे पनि गर्भ रहँदैन ।

महीनावारी भएको आठदेखि बाइस दिनसम्म यौनसम्पर्क राख्दा गर्भ रहन सक्छ । यस अवधिमा यौनसम्पर्क राख्नुपर्ने भए कण्डम, फेमिडोम अर्थात् महिला कण्डम, अन्य अस्थायी साधनहरू प्रयोग गर्नुपर्छ । तर महीनावारी अनियमित हुने महिलामा यो विधि भरपर्दो हुँदैन ।

पिल्सलाई आकास्कि स्थितिमा मात्रै प्रयोग गर्न सुझाउँछिन् डाक्टर श्रेयसी अर्याल । पिल्सको नियमित प्रयोग प्रजनन् स्वास्थ्यका लागि घातक हुने उनको भनाइ छ ।

हेर्नुहोस्, पिल्स प्रयोगबारे डाक्टर श्रेयसी अर्यालको सुझाव


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर