दुवै अध्यक्षका ‘लिखत’ फिर्ता गराउन दोस्रो तहका नेता सक्रिय – Nepal Press
नेकपा विवाद

दुवै अध्यक्षका ‘लिखत’ फिर्ता गराउन दोस्रो तहका नेता सक्रिय

काठमाडौं । बुधवारको स्थायी कमिटी बैठकअघि दुई अध्यक्षलाई अध्यादेश र संसद्को विशेष अधिवेशन माग गर्ने निवेदन फिर्ता गराउन सफल भएका नेकपाका दोस्रो तहका नेताहरु पुस ५ को अर्को बैठकअघि नै दुवै अध्यक्षका अभियोग र प्रतिअभियोगपत्र फिर्ता गराउन सक्रिय भएका छन् ।

उनीहरुको यो सक्रियतालाई उपाध्यक्ष बामदेव गौतम, गृहमन्त्री रामबहादुर थापा (बादल) र महासचिव विष्णु पौडेलले पनि साथ दिएका छन् ।

प्रचण्डको ‘अभियोगपत्र’ फिर्ता नभएसम्म त्यसमाथि छलफल हुने कुनै पनि बैठकमा आफू सहभागी नहुने अडानमा प्रधानमन्त्री तथा पहिलो अध्यक्ष केपी शर्मा ओली यथावत् छन् ।

ओलीले प्रचण्डसँगका भेटमा उक्त अभियोगपत्र फिर्ता लिएर साझा प्रस्तावका साथ बैठकमा जान आग्रह गरिरहेका छन् । तर प्रचण्ड–माधव नेपाल पक्ष भने पार्टीको बैठकमै छलफल हुनुपर्ने अडानमा छ ।

ओली यसबीचमा स्थायी कमिटीका दुई बैठकमा सहभागी भएका छन् तर अर्कै कार्यसूची भएका बेला मात्र । मंसिर २८ गतेको बैठकमा कमानसिंह लामाको निधनमा शोक प्रस्ताव मात्र पारित गरिने भएपछि सहभागी ओली पुस १ गते अध्यादेश र संसद् अधिवेशनको निवेदन पत्र फिर्ता गर्ने निर्णय गर्न सहभागी भएका थिए । त्यो पनि चार नेताको प्रयास सफल भएपछि ।

दोस्रो तहका नेताहरु सुवास नेम्वाङ,घनश्याम भुसाल,शंकर पोखरेल र योगेश भट्टराईले दुवै अध्यक्षका एक अर्काप्रति आरोप लगाइएका लिखत फिर्ता गरेर पार्टीमा नयाँ ढंगले सहमति कायम गर्न सक्रिय भएका छन् । पछिल्लो समय उपाध्यक्ष बामदेव गौतम पनि पार्टी फुट्न नदिन दुवै अध्यक्षका अभियोगपत्र र प्रतिअभियोगपत्र स्थायी कमिटीबाटै फिर्ता होस् भन्ने पक्षमा उभिएका छन् ।

गौतम निकट स्रोतले भन्यो–हामी सचिवालयका सदस्यहरु दुवै अध्यक्षका लिखतका एक एक पक्षमा उभिएका छौं । तर पार्टी एकता जोगाउनका लागि ती अभियोगहरु फिर्ता गराउन स्थायी कमिटीका बहुमत सदस्यहरु उभिए भने फुट टर्न सक्छ भन्ने उहाँको धारणा छ । कतिपय नेताहरुले उहाँलाई दुई अध्यक्षबीच समझदारी गराउन अग्रसर हुन आग्रह पनि गरिरहेका छन् ।

दुई अध्यक्षबीच दुईबुँदे सहमति कायम गराउन खटिएका संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीलाई संकटबाट जोगाउन दुवै अध्यक्षका लिखित प्रस्ताव फिर्ता गराउने प्रयास भइरहेको बताए । बुधवारै बालुवाटारको छलफलमा यसबारेमा कुरा भए पनि ठोस सहमति नभएको उनले जानकारी दिए । यद्यपि प्रयास त्यसै दिशामा रहेको उनको भनाइ छ ।

घनश्याम भुसाल, प्रचण्ड, माधव नेपाल, बामदेव गौतमलगायतका नेतासँग पनि यसबारेमा छलफल गरिरहेको निकट स्रोतको दावी छ । हरिबोल गजुरेल, मणि थापा, टोपबहादुर रायमाझीलगायतका नेता पनि दुवै अध्यक्षका लिखित आरोप प्रत्यारोप फिर्ता गराएर नयाँ समझदारी हुनुपर्ने पक्षमा क्रियाशील छन् ।

सहमति जुटाउन क्रियाशील एक नेताले भने–पार्टी कुनै पनि अवस्थामा फुट्न दिंदैनौं । त्यही भएर हामीले अनेक आरोप खेपेर भने पनि दुवै अध्यक्षका लिखित प्रस्ताव भने पनि आरोप प्रत्यारोप भने पनि ती लिखत फिर्ता गराउने र भदौ २६ को अवस्थामा फर्काएर एकता जोगाउने प्रयास गरेका छौं । दुवै अध्यक्षको साझा प्रस्ताव लैजान सकियो भने ठूलो सफलता हुन्छ ।

स्थायी कमिटीले नै दुवै अध्यक्षका प्रस्तावलाई स्थगन गरेर कार्य विभाजन, जिम्मेवारी बाँडफाँडलगायतका विषयमा समझदारी गरेर पार्टी फुटबाट जोगाउन सक्ने माधव नेपाल निकट नेता जगन्नाथ खतिवडाले बताए । भदौ २६ को निर्णय केपी ओलीले नै उल्लंघन गरेकाले ओलीबाटै सच्चिनुपर्ने उनको भनाइ छ ।

सहमतिको प्रयासमा नेताहरु लागे पनि नेकपाका दुवै पक्ष एक अर्काको रणनीतिप्रति सशंकित छन् । ओली पक्षलाई प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरेको आशंका छ । त्यस्तै अर्को पक्षलाई प्रधानमन्त्रीले अर्को कुनै कदम चाल्ने र पार्टी विभाजन हुने आशंका छ । दुवै पक्षबीच विश्वासको चरम संकट छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर