आन्तरिक पर्यटकले बढाए सौराहाकाे राैनक – Nepal Press

आन्तरिक पर्यटकले बढाए सौराहाकाे राैनक

रासस । कोरोना भाइरस सङ्क्रमणका कारण करिव १ वर्षदेखि थलिएको सौराहाको पर्यटन क्षेत्र विस्तारै माथि उठ्न थालेको छ । आन्तरिक पाहुनाका कारण सौराहाका पर्यटकीय गतिविधि यतिबेला चलायमान बन्न थालेका छन् ।

होटल रेस्टुरेन्टमा छूट र हात्ती सफारीमा घुम्ने समय थप गरेर भए पनि व्यवसायीले पर्यटन क्षेत्र चलायमान बनाउने प्रयास गरेका छन् । शुक्रबार र शनिबारको दिन सौराहामा आन्तरिक पर्यटकको राम्रै चहलपहल देखिन्छ । तिहारपछि आन्तरिक पर्यटकको आगमनले राहत र हौसला मिलेको व्यवसायी बताउँछन् ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले पछिल्लो समय सौराहालाई आन्तरिक पर्यटकले चलायमान गराउन थालेको बताए । ‘पछिल्लो समय आन्तरिक पर्यटकका कारण सौराहाले लय समात्न खोजेको छ, खर्च धान्ने अवस्था बन्न थालेको छ’, उनले भने । भट्टराईले आन्तरिक पर्यटक आकर्षित गर्न देशव्यापीरुपमा ‘‘घुमौं सौराहा’ अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए । अङ्ग्रेजी नयाँ वर्षअघि जनकपुर, वीरगञ्ज, विराटनगरलगायतका शहरमा पुगेर सौराहा भ्रमणको प्रचार गर्ने योजना उनले सुनाए । ‘देशका मुख्यमुख्य शहरमा अभियान सञ्चालन गर्छौं,’ उनले थपे, ‘त्यहाँका उद्योगी, व्यवसायी र संघ संस्थाका प्रतिनिधिसँग भेटघाट गरेर सौराहा खुला छ र सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्छौं।’

सौराहामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न हात्ती सफारीको अवधि थप गरिएको छ । कोरोनाका कारण भएको बन्दाबन्दीले थला परेको सौराहाको पर्यटनलाई उठाउन व्यवसायीले पर्यटकलाई थप समय घुमाउने निर्णय गरेका हुन् । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिका अध्यक्ष ऋषि तिवारीले पर्यटक आकर्षित गर्न संघले विभिन्न प्याकेज दिएको बताए । एक घण्टाको प्याकेजमा हात्ती सफारी गर्नेका लागि डेढदेखि दुई घण्टासम्म घुमाउने गरेको उनले जानकारी दिए । ‘चार जना भएपछि मात्रै सफारीमा लैजाने गरिन्थ्यो, तर अहिले दुई जना भए पनि जाने गरिएको छ,’ उनले नाफाभन्दा पनि व्यवसाय धान्ने र पर्यटकलाई आकर्षित गर्ने योजनाका साथ काम गरिरहेको बताए । अहिले होटलदेखि हात्ती चढ्ने स्थानसम्म निःशुल्क गाडीको व्यवस्था गरिएको छ ।

पर्यटन दिवसको दिनदेखि लामो समयदेखि बन्द रहेका यहाँका होटल तथा रेष्टुरेन्ट खुलेका थिए । अहिले सौराहाका होटलमा खचाखच पर्यटक भरिने समय हो । व्यवसायीलाई पर्यटकको स्वागतदेखि निकुञ्ज घुमाउन भ्याइनभ्याइ हुन्थ्यो । होटल तथा रेष्टुरेन्टले प्याकेजअन्तर्गत २५ देखि ३० प्रतिशतसम्म छुट दिएको बताएका छन् ।

होटलभन्दा रेष्टुरेन्टमा पर्यटक केही धेरै छन् । रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले अन्तर जिल्लाका पर्यटकको आवागमन रहेको र करिब ३० प्रतिशत पर्यटक रेष्टुरेन्टमा आउन थालेको बताए । उनले आन्तरिक पर्यटक बढ्न थालेपछि केही आशावादी बनेको बताए। उनले एशोसिएशनको तर्फबाट १५ प्रतिशतसम्म छुट दिइएको जानकारी दिए । निकुञ्जले हात्ती, जिप र डुङ्गा सफारीबापत लिँदै आएको राजश्वमा छुट र नयाँ रुट खोलिदिनुपर्ने उनको माग छ ।

सौराहामा ठूला साना १४० होटल छन् भने करिब ५० रेष्टुरेन्टसञ्चालनमा रहेका छन् । सफारीका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रख्यात छ । स्वदेशी र विदेशी पर्यटक यहाँ जङ्गल सफारीका लागि आउने गर्दछन् । दुर्लभ एकसिंगे गैंडा, बाघ, घडियाल गोहीजस्ता जनावर, चराचुरुङ्गीको अवलोकन गर्न पर्यटक आउने गर्दछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *