नेकपा विवाद– ओली र प्रचण्डबीच आज पुनः वार्ता हुँदै – Nepal Press

नेकपा विवाद– ओली र प्रचण्डबीच आज पुनः वार्ता हुँदै

दुई अध्यक्षको छलफलपछि मात्र संवैधानिक परिषद बैठकको टुंगो लाग्ने

काठमाडौं । संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता र संसदको विशेष अधिवेशन बोलाउन प्रस्ताव लैजाने सहमति भएसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै अध्यक्ष पुनः छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले आज हुने छलफलमा सहमती हुन बाँकी विषयलाई टुंगोमा पुर्‍याउने अपेक्षा गरिएको छ । वालुवाटार श्रोतका अनुसार प्रचन्डले आज अपराह्न प्रधानमन्त्रीसँग भेट्नेछन् । दुवै अध्यक्षको संवादपछि मात्रै संवैधानिक परिषद बैठकको टुंगो लाग्ने बताइएको छ ।

मंगलबार प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएर संवैधानिक परिषदको बैठक गरेका थिए । परिषदको अघिल्लो बैठकमा कुनै निर्णय नभएको प्रष्टोक्ति प्रधानमन्त्रीले दिइसकेका छन् ।

नेकपाको स्थायी समिति बैठकले पनि संवैधानिक परिषदको नियुक्तिमा पार्टीभित्र सहमतिका आधारमा हुनुपर्ने निर्णय गरेको थियो ।

विवादको विषय बनेको प्रचन्डको ओलीमाथिको आरोपपत्र र त्यसमा ओलीको प्रत्युत्तरबारे आजको वार्तामा छलफल हुने छ । स्थायी समितिको बैठकमा दुवै अध्यक्षको आरोप–प्रत्यारोप खारेज गरी साझा सहमतिको प्रतिबेदन पेश हुनुपर्ने अडान ओलीपक्षको छ भने प्रचन्ड–माधव नेपाल पक्षले प्रचन्डको प्रस्तावमा छलफल हुनुपर्ने माग गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर