पीडितलाई न्याय दिँदै निगरानी समूह – Nepal Press

पीडितलाई न्याय दिँदै निगरानी समूह

सुर्खेत । वीरेन्द्रनगर १२ कि एक युवतीलाई उनको घरबाट लकडाउनको अवधीमा श्रीमानसहित परिवारले घरबाट निकालिदिए । उनलाई घरबाट निकालेपछि उनको बास सडकमा हुन पुग्यो ।

‘इन्सेक नेपाल’ले गठन गरेको हिंसा निगरानी समूहले न्याय दिलाउँछ भन्ने कुरा उनले सुनिन् । त्यसपछि वीरेन्द्रनगर ६ मा समूहका अध्यक्ष एवम अधिवक्ता गीता कोइरालाको सम्पर्क जान स्थानीयले उनलाई सुझाव दिए ।

गत माघमा गठन भएको हिंसा निगरानी समूहले अन्यायमा परेका, पिछडिएका र न्यायको ढोका नपहिल्याएका महिला दिदिबहिनीहरुलाई कानूनी देखि अन्य सेवा दिने गरेको थियो । उनी त्यहाँ अध्यक्ष कोइरालाको सम्पर्कमा गईन् । उनले त्यहाँ न्याय पाउ कि भेरी जाउँ भन्ने अवस्था भएको भन्दै दुखेसो पोखिन् ।

कोइरालाको सम्पर्कमा गएलगत्तै अध्यक्ष कोइरालाले सचिवालयको जुम बैठक बोलाईन् । उक्त बैठकले उनलाई सहयोग गर्ने निर्णय गर्यो । तत्पश्चात समितिको एक टिम उनको घर पुग्यो । छलफल गर्यो । उनलाई सँगै राख्न उनको परिवारले मानेन र ती युवतीले पनि अब आफूलाई मानापाथी भराई दिनुपर्ने माग गरिन् ।

समूहले उनको मागअनुसार सहजिकरण गर्यो । समूहको सहजिकरण पछि उनको परिवारले ति यूवतीलाई दुइ कट्ठा जमिन, आठ लाख नगद र जीवनभरि भरणपोषण गर्ने लिखित कागज गर्यो ।

अहिले ती युवतीलाई समूहले नै रोजगारमा लगाई दिएको छ । उनी अहिले आफूलाई समूहले न्याय दिलाएको बताउँछिन् । यी प्रतिनिधिमूलक पात्र मात्र हुन् । समूहले धेरै पीडितलाई न्याय दिने काम गर्दै आइरहेको छ ।

समूहले २१ जनालाई यस्तै न्याय दिएको अध्यक्ष कोइराला बताउँछिन् । यस्तै कोइरालाले भनिन्– दश जनालाई त पूर्ण रुपमा आर्थिक सहायता सहित सहयोग गरेका छौं । एक जना बलात्कृत भएकी चार वर्षीया बालिकालाई घरमै गएर आर्थिक सहयोग गरेका छौं । एक जनालाई मिलापत्रमा तथा अन्य आठ जनाको अदालतमा अहिले मुद्दा चलिरहेको छ । हामिले त्यहाँ बहस र पैरवी गरिरहेका छौं ।

उनका अनुसार पछिल्लो समयमा लकडाउन अवधीमा महिला हिंसा बढेको बताउँछिन् । हामीकहाँ आउने सबै पीडित महिलाको दर्दनाक कथा हुन्थ्यो । अहिले पनि निरन्तर आइरहेका छन् । उनी भन्छिन्– त्यसका लागि हामीले सकेसम्म न्याय दिने प्रयास गरेका छौं ।

समूहका सदस्य पूर्ण प्रसाद पौडेलका अनुसार समूह प्रति पीडित पक्षको भरोसा बढ्दै गएको छ । एक वर्षको अवधीमा समूहले सडकमा पुर्याइएका पीडितलाई कोठा खोज्ने देखि लिएर खानपिनको बन्दोबस्त सम्म गरेको पौडेलले बताए ।

उनले पीडित पक्षलाई न्याय दिन आफूहरु सदैव तयार भएपनि श्रोत र साधनको अभावका कारण दुर दराजका बस्तीमा पुग्न नसकेको दुखेसो गरे । ‘यो राज्यको काम हो । हामीले केहि प्रयास मात्र गरेका मात्र हौं’– उनले भने, अहिले हामीलाई साथ दिएको इन्सेकले समयावधी सकिएको बताएको छ, यद्यपी स्थानीय सरकार र इन्सेकले यो प्रभावकारी कार्यक्रमलाई निरन्तरता दिनेमा हामी आशावादी छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर