महेन्द्र भन्दा बीपी नै सही थिए, पुस १ नै गणतन्त्रको प्रस्थानविन्दु – Nepal Press
सन्दर्भ- पुस १

महेन्द्र भन्दा बीपी नै सही थिए, पुस १ नै गणतन्त्रको प्रस्थानविन्दु

२०१७ साल पुस १ गते । अमेरिकाको एक होटलमा म टिभी हेर्दै थिएँ । जुन टिभीका लागि दैनिक १ डलर अतिरिक्त तिर्नुपर्थ्याे ।

अचानक नेपालसम्बन्धी एक समाचारले मलाई ‘झसङ्ग’ बनायो । ‘हिमालयन किङडमका राजाले संसद विघटन गरी शासन हातमा लिए’ समाचार सक्किइसकेको थियो । मैले अन्तिमको हेडलाइन मात्रै हेरेछु । समाचारमा विघटन भयो भनिएको संसद नेपालको पहिलो जननिर्वाचित थलो मात्रै थिएन, म स्वयं त्यसको सदस्य समेत थिएँ ।

मैले तत्काल मित्र विश्वबन्धु थापालाई कल गरे ।
‘समाचार हेर्‍यौ ?’
‘छैन त’ उनले भने ।
‘राजाले संसद भंग गरेछन् । मैले यतिमात्रै समाचार हेरे‌ँ ।’ मेरो भनाईपछि विश्वबन्धु र म अमेरिकाका लागि नेपाली राजदूत ऋषिकेश शाहसँग सम्पर्क गर्न लाग्यौं । राजा महेन्द्रले चालेको कदमबारे उनलाई पनि त्यत्ति नै थाहा रहेछ, जति हामीलाई थियो ।

‘राजाले मसँग एकथरी सल्लाह गरेर अर्को निर्णय गरे । राजाको कदम सही छैन ।’, ऋषिकेशले कडा शब्दमा भने । तर उनी त्यहाँ सरकारकै प्रतिनिधि थिए । दरबारले केहीदिनमै ‘तार’ मार्फत मलाई र विश्वबन्धुलाई कुनै सुविधा नदिन र नेपाल फर्काउन निर्देशन दिएको थियो । ऋषिकेशले भने हामीप्रति हार्दिकता देखाए । शाही आदेशको पालना गरेनन्, बरु हाम्रो अगाडिको यात्रामा सहजीकरण गरे ।

नेपालबारे पर्याप्त सूचना नपाइरहेकै अवस्थामा म इटाली पुगेँ । युनाइटेड नेसन्सको सम्मेलनमा भाग लिन प्रधानमन्त्री वीपी कोइरालासहितको प्रतिनिधि मण्डलको सदस्यका रुपमा म अमेरिका पुगेको थिएँ । प्रधानमन्त्री फर्किए पनि युरोपका केही देशहरुमा भ्रमण पूर्वनिर्धारित भएकाले मेरो अमेरिका बसाइँ लम्बिएको थियो ।

अब म भ्रमण छोट्याउँदै थिए । इटालीको एक विमानस्थलमा मेरो रातो पासपोर्ट हेरेपछि अध्यागमनका एक अधिकारीले भने, ‘तिमी नेपाल नजाउ । नेपालका राजाले भीआइपीहरुलाई धमाधम जेल हाल्दैछन् ।’ उसको भनाईले नेपालको स्थिति ‘ठीक नभएको’ आँकलन गर्न मलाई गार्‍हो भएन ।

राजा महेन्द्रले ‘कु’ गरेको सातौं दिन म कलकत्ता पुगे । जहाँ सुवर्णशमशेर हुनुहुन्थ्यो । देशभरबाट साथीहरु जुट्ने क्रम थियो । केही दिनमा हामीले कलकत्तामा पत्रकार सम्मेलन गर्‍यौ र कांग्रेसको धारणा राख्यौ । कांग्रेसको प्रष्ट माग थियो – संसद पुर्नबहाली, राजबन्दीहरुको रिहाई र मानवअधिकारको सम्मान ।

०००

नेपाली कांग्रेसको नेतृत्वमा क्रान्ति नभएको भए जनताले प्रजातन्त्र र स्वतन्त्रता पाउने थिएनन् । २००४ सालमै जयतु संस्कृतमको आन्दोलनमा सक्रिय भएसंगै मभित्र राजनीतिका माध्यमबाट जनताको सेवा गर्ने सोच आइसकेको थियो ।

मेरा पिताजी मलाई संस्कृतको धुरन्धर विद्वान बनाउन चाहनुहुन्थ्यो । उहाँ संस्कृत महाविद्यालयमा प्राचार्य हुनुहन्थ्यो । संस्कृतमा मैले आचार्यसम्मको औपचारिक अध्ययन गरे । तर मलाई पहिलेदेखि नै अंग्रेजी पढ्न रुची थियो ।

२००४ सालमा मैले पद्मोदय हाइस्कुलबाट एसएलसी उत्तीर्ण गरे । एसएलसी सकेपछि उच्च शिक्षाको लागि त्रिचन्द्र कलेज भर्ना भए । देशभित्र विश्वविद्यालय खुलिसकेका थिएनन् । त्रिचन्द्र कलेजबाट विद्यार्थीहरु परीक्षा दिनका लागि बनारस जानुपर्थ्याे ।

त्यतिबेला बनारसमा वीपी कोइरालासहितका नेताहरु राष्ट्रिय कांग्रेसको भेला बैठक गर्नुहुन्थ्यो । परीक्षाका लागि बनारस जाँदा म धेरै पटक कांग्रेसको बैठकहरुमा सहभागि भएँ ।

पढाई सकेपछि म कांग्रेसको राजनीतिमा सक्रिय नै रहे‌ं । पार्टीभित्र खासगरी सुवर्णशमशेर नजिक रहेर मैले काम गरे । पछि उहाँले मलाई पार्टीको सह-महामन्त्रीसम्म बनाउनुभयो ।

काठमाडौंमा जन्मे हुर्केको भएपनि मैले राजनीतिक क्षेत्र पाल्पालाई बनाएँ । जसका लागि मलाई साथी काशीनाथ गौतमले प्रेरित गरे । ‘हेर अच्युत पाल्पा सबै कम्युनिष्टले खाइसके । तिमीजत्तिको मान्छे पाल्पा गएर कांग्रेसको काम गर’, काशीले एकदिन मलाई त्यसो भनेर पाल्पा जान प्रेरित गरे ।

पाल्पामा मेरा आफन्तहरु धेरै थिए । आफन्त भेट्ने जाने भन्दै पाल्पाका गाउँ–गाउँमा पुगे । कांग्रेसबारे त्यहाँका मानिसलाई बताउँथे र समिति बनाएर फर्कन्थेँ । जब २०१५ सालमा आम निर्वाचन हुने भयो मलाई पार्टीले पाल्पा ९३ नम्बरमा टिकट दियो ।

म त्यसबखत नेपाली कांग्रेस पाल्पाको सचिव थिए । मेरा प्रतिस्पर्धी हुनुहुन्थ्यो, केशरजंग रायामाझी । उहाँ नेपाल कम्युनिष्ट पार्टीको महासचिवजस्तो मान्छे । मलाई कुनै प्रतिस्पर्धीको रुपमा लिनुभएन ।

त्योबेलाको परिस्थिति र राजाको डरले गर्दा मान्छेहरु बोल्न सकेनन् त्यसैले गणतन्त्र आउन ज्ञानेन्द्रको पालासम्म कुर्नुपर्‍यो । अन्यथा गणतन्त्र ल्याउन महेन्द्रको ‘कु’ नै काफी थियो

‘कम्युनिष्ट भनेको गरिब हुनुपर्ने । केशरजंगको त दरबार जत्रो घर छ मेरो घरमा त टीनको छानो पनि छैन ।’, चुनाव अभियानका दौरान यही भनेर मैले धेरै जनताको विश्वास जितेँ । निर्वाचन परिणाममा  केशरजंगलाई मैले झण्डै दोब्बर मतले जिते । त्यतिबेला देशविदेशमा चर्चा हुन्थ्यो रे,‘कांग्रेसको डिष्ट्रिक्ट सेक्रेटरीले कम्युनिष्ट पार्टीको जेनरल सेक्रेटरीलाई हरायो ।’

०००

देशमा अहिले राजावादीहरुको आन्दोलन भइरहेको छ । राजतन्त्र आफ्नै कमजोरीले समाप्त भएको हो तर गणतन्त्रवादीले पनि जनतालाई खुसी बनाउन सकेका छैनन् । राजाका रुपमा ज्ञानेन्द्र शाहले सही काम नगरेकै कारण गणतन्त्र सम्भव भएको हो । यद्यपि मेरो विचारमा गणतन्त्रको बीउ त २०१७ साल पुस १ गते नै रोपिएको थियो ।

राजाभन्दा वीपीको निर्णय सही थियो, राजाले पुस १ को कदम नचालेको भए नेपाल आज एसियाकै सबैभन्दा सफल र विकसित राष्ट्र हुन्थ्यो

ज्ञानेन्द्रको भन्दा महेन्द्रको कदमका कारण नेपालमा गणतन्त्रका लागि बाटो खुलेको हो भन्ने लाग्छ । कतिपयले महेन्द्रको उद्देश्य असल थियो भन्छन् । तर प्रजातन्त्र खोस्नु राजाको असल काम होइन । जब पुस १ मा महेन्द्रले ‘कु’ गरे तब आम जनतामा राजतन्त्रप्रतिको सम्मान घट्यो । त्योबेलाको परिस्थिति र राजाको डरले गर्दा मान्छेहरु बोल्न सकेनन् त्यसैले गणतन्त्र आउन ज्ञानेन्द्रको पालासम्म कुर्नुपर्‍यो । अन्यथा गणतन्त्र ल्याउन महेन्द्रको ‘कु’ नै काफी थियो ।

कतिपयले राजा महेन्द्र र तत्कालीन प्रधानमन्त्री वीपीको तुलना गरेको पाउँछु । यस्तो तुलना आवश्यक छैन । राजाभन्दा वीपीको निर्णय सही थियो । राजाले पुस १ को कदम नचालेको भए नेपाल आज एसियाकै सबैभन्दा सफल र विकसित राष्ट्र हुन्थ्यो ।

नेपालजस्तो देशमा संसदीय व्यवस्था स्थापित हुन लागेको र प्रधानमन्त्री वीपीले विकासका काम अगाडि बढाएकोले अन्तर्राष्ट्रिय समुदाय खुसी पनि थियो । वीपीको ठाउँमा अरु कोही प्रधानमन्त्री भएको भए महेन्द्रले ‘कु’ गर्दैनथे भन्ने तर्कपनि हुने गरेको छ । मलाई चाहिं त्यस्तो लाग्दैन ।

राजा महेन्द्र महत्वाकांक्षी नै थिए । उनी दलहरुलाई अधिकार दिन चाहदैनथे । पन्ध्र सालको निर्वाचन महेन्द्रका लागि प्रजातन्त्रको अभ्यास होइन केबल एउटा प्रयोग मात्रै थियो । यो कुरा मैले महेन्द्रबाटै थाहा पाएको हुँ ।

निर्वाचनको केही महिनाअघि म पाल्पामा क्रियाशील थिएँ । राजा महेन्द्र पश्चिम भ्रमणमा निस्केका थिए । म सल्लाहकार सभाको सदस्य समेत भएकोले स्वागतका लागि पुगेको थिएँ ।

‘सरकार चुनाव हुन्छ भनेर म यहाँ आएँ । सल्लाहकारसभाले चुनाव नगर्ने भन्ने प्रस्ताव पास गरेछ । म पनि त्यसको सदस्य हुँ । सरकारले चुनाव नगर्ने भए म किन यहाँ बसिरहनु ? काठमाडौं जान्छु ।’ मैले राजा महेन्द्रसँग भनें ।

चन्द्रशमशेरको मृत्यु भएर भीमशमशेर प्रधानमन्त्री भएको मलाई थाहा छ । त्यसदेखि यता राणा , राजा, बहुदल गणतन्त्र सबै भोगियो । जनता आजसम्म खुसी देख्दिनँ

‘हेर यहाँ सबैतिर तयारी भइसकेछ । एकपटक चुनाव गराएर हेरौं, के फरक पर्छ र ?’, राजा महेन्द्रको यस्तो जवाफले म झसङ्ग भए । त्यतिबेलै मेरो निष्कर्ष थियो कि राजा चुनाव होस् र प्रजातन्त्र बलियो होस् भन्ने चाहँदैनन् ।

चुनावलाई राजा महेन्द्रले प्रयोग गर्न खोजेका थिए तर कांग्रेसको दुई तिहाई आएपछि मात्रै उनको होस् उड्यो । प्रजातन्त्र संस्थागत भए राजतन्त्र कमजोर हुन्छ भन्ने ठानेरै होला राजाले हठात् निर्णय लिए । सत्र साल पुस १ गते त्यस्तो निर्णय नभएको भए आज प्रजातन्त्र र संवैधानिक राजतन्त्र दुवै जीवित हुन्थे ।

०००

कहिलेकाहीँ धेरै उमेर किन बाँचिएछ ? जस्तो लाग्छ । ९२ वर्षको उमेर पुग्यो । नेपालकै पहिलो विद्यार्थी आन्दोलनदेखि आजसम्म अनेक देखियो । देख्नै नपरेको भए बोल्नै पर्दैनथ्यो ।

चन्द्रशमशेरको मृत्यु भएर भीमशमशेर प्रधानमन्त्री भएको मलाई थाहा छ । त्यसदेखि यता राणा , राजा, बहुदल गणतन्त्र सबै भोगियो । जनता आजसम्म खुसी देख्दिनँ । आजपनि मान्छेहरु यो भएन, त्यो भएन भनेर लागेका छन् । यदि राजा महेन्द्रले त्यत्ति काम नगरेको भए यस्ता गुनासो हुँदैनथ्यो । महेन्द्रको होइन वीपीकै बाटोमा देश अगाडि बढेको भए हामी विश्वकै सम्पन्न राष्ट्र भइसक्थ्यौं होला । खैर ६० वर्ष बितिसकेछ , त्यो कालोदिनको ।

नेपालको पहिलो संसद्का सांसद अच्यूतराज रेग्मीसँग नेपाल प्रेसका लागि नकुल अर्यालले गरेको कुराकानीमा आधारित।

प्रतिक्रिया

4 thoughts on “महेन्द्र भन्दा बीपी नै सही थिए, पुस १ नै गणतन्त्रको प्रस्थानविन्दु

  1. एकाङ्की सोच । वीपी त्योबेला विदेषीको गोटी थिए ।

    1. लेख राम्रो छ।
      वास्तविक जीवनमा भएको घटना यथार्थ चित्रण गरिएको छ।
      यहाँ लाई हार्दिक धन्यवाद दिन चाहान्छु।

  2. राजाबाट समेत यिनले व्यक्तिगत स्वार्थसिध्द गरेका जगजाहेर नै छ । तर अहिले प्रजातन्त्रकाे वकालत गर्छ । राजतन्त्र नै अवसान भइसकेकाे अहिलेकाे समयमा मरिसकेका राजाकाे बदख्वाइ गर्छ । राजनीतिमा लागेका बाहुनहरूले नै देश बिगारेका हुन् । यिनीहरूकाे विश्वास हुँदैन भनेकाे सही जस्ताे लाग्दैछ ।

  3. Three question sir… a.Why did Delhi agreement signed? I mean, was BP(NC) weak enough to run movement? (b) Why didn’t BP(NC) able to conduct election of constituent assembly(instead of General election/why did NC participate) that should be done by 2009 bs accordingly. (C) Why did artical 55 of constitution 2015 signed/passed. I am getting die to have this answer so that I could explain my students. Thanks.

Leave a Reply

Your email address will not be published. Required fields are marked *