यस्ता छन् सहरी विकासमन्त्रीका दुई महिने योजना – Nepal Press

यस्ता छन् सहरी विकासमन्त्रीका दुई महिने योजना

काठमाडौं- सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आफ्ना योजना व्यवस्थित बनाएर विकास निर्माणको कामलाई तिव्रता दिने प्रतिबद्धता जनाएका छन् ।

मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूले अनुगमन गरेका सबै विकास निर्माणको काम तोकिएकै समयमा सम्पन्न हुने विश्वास दिलाए । ‘माघ मशान्तसम्म गोदाबरीको हल निर्माण सम्पन्न हुनेछ, धोबीखोला करिडोरको बिजुलीबजारको पुलको अन्डरपास तयार भएर सञ्चालनमा आउनेछ,’ मन्त्री श्रेष्ठले भने ।

उनले दुई महिनाभित्र वीर अस्पतालको ५ सय क्षमताको बेडसहितको कोभिड संक्रमितको उपचार व्यवस्था गर्न लागिएको बताए ।

सम्मेलनमा मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले दुई महिनाको अवधिमा मन्त्रालय र सो अन्तर्गतका निकायहरूबाट सम्पन्न भएका र आगामी दुई महिनाभित्र सम्पन्न गर्ने मु्ख्य कार्यहरूबारे जानकारी दिएका थिए ।

दुई महिना अवधिमा मन्त्रालयले बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्ने, देशभरका नगरपालिकाहरूको फोहोरमैलाको आधुनिक प्रविधिमार्फत् व्यवस्थापनका लागि विज्ञ प्राविधिकको संयोजकत्वमा उच्चस्तरीय टोली गठन गर्ने योजना सुनाइएको थियो ।

मन्त्रालयको पहलमा ३ हजार २ सय ५५ फुसको छाना विस्थापित गरी जस्तापाताले छाना छाउने कार्य सम्पन्न यही बीचमा सम्पन्न भएको थियो । त्यसैगरी प्रधानमन्त्री निवास परिसरमा एमआई सत्र हेलिकोप्टर अवतरण गर्न सक्ने गरी हेलीप्याड तयार भई सञ्चालनमा रहेको कार्यप्रगति प्रवकक्ता दवाडीले सुनाएका थिए । भूकम्पप्रतिरोधी भवनहरूको निर्माण गर्न भवन संहिता १०५ (एनबिसि) लाई परिमार्जन गरी कार्यान्वयनमा ल्याइएको समेत उनले जानकारी दिए ।

२ महिनाभित्र ३७ हजार ५ सय लाभग्राहीहरू छनोट गर्ने, सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवन, ललितपुर भैंसेपाटीमा निर्माणाधीन प्रदेश प्रमुख तथा मुख्यमन्त्रीका लागि आवास तथा सम्पर्क कार्यालयको निर्माण सम्पन्न गर्ने, बुढानिलकण्ठमा निर्माणाधीन कालिका पार्क, नौलिन भद्रकाली, जगन्नाथ र भूकम्प स्मृति पार्कको निर्माण, ललितपुरको गणशेमान पार्क , देवीस्थान पार्क, फ्रेण्डस कोलोनी पार्क, नागदह पार्क निर्माण सम्पन्न गर्ने लक्ष्य प्रस्तुत गरिएको थियो ।

निर्माणाधीन सय मिटर उचाईको दमक भ्यू टावरको निर्माण तिव्रता दिने, मोरङको उर्लावारीको लोपोन्मूख सन्थाल जातिको एकीकृत वस्ती विकास कार्यक्रमको कार्ययोजना तयार गरी निर्माण प्रकया अघि बढाइने, देशभित्रका स्वास्थ्य भवन अन्तर्गतका थप १० वटा रुग्ण आयोजनाहरूको व्यवस्थापन गरिने, सहरी सडक मापदण्ड लागू गराउने, सहरी सडकहरूमा समेत साइकल लेन व्यवस्थापन गर्नका लागि गठित प्राविधिक टोलीका सुझाव कार्यान्वयनमा ल्याइने कार्ययोजना प्रस्तुत गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर