चिसोसँगै क्षयरोगको विरामी बढ्दै – Nepal Press

चिसोसँगै क्षयरोगको विरामी बढ्दै

मोरङ । नेपालमा क्षयरोग टिबीबाट प्रत्येक वर्ष पाँचदेखि सात हजार मानिसको मृत्यु हुने गरेको छ ।

नेपाल क्षयरोग निवारण संस्था विराटनगर शाखाका कार्यक्रम संयोजक घनश्याम कोइरालाले जनचेतनाको अभावका कारण र औषधि नियमित सेवन नर्गनाले बर्सेनि सो सङ्ख्यामा मानिसको मृत्यु हुने गरेको जानकारी दिए ।

अहिले चिसो बढेसँगै क्षयरोगीको सङ्ख्या बढ्न थालेको कोइरालाले जानकारी गराए।

समयमा उपचार नगराउने, खानपानमा ध्यान नदिने, मानिसमा चेतनाको कमी हुनु र पूरा समय औषधि सेवन नगर्नाले मृत्यु दर र रोगीको सङ्ख्यामा वृद्धि भइरहेको हो ।

मोरङ जिल्लामा आर्थिक वर्ष २०७५÷७६ मा एक हजार १५० र आव २०७६÷७७ को चैत मसान्तसम्ममा ७४१ रोगी शाखामा उपचारका लागि आएका संयोजक कोइरालाले बताए।

क्षयरोग सुन्ने बित्तिकै बिरामी शुरुमा आत्तिने र डराउने गरेको, आफूहरुलाई सम्झाउन निकै गाह्रो पर्ने गरेको र धेरै मानिसमा क्षयरोगबारे ज्ञान नभएकाले यस्तो समस्या आउने गरेको छ ।

क्षयरोग आँखाले देख्न नसकिने सूक्ष्म कीटाणुबाट हुने एक प्रकारको सरुवा रोग हो । एक क्षयरोगीले उपचार नगराउँदा एक वर्षमा १० देखि १५ जनासम्मलाई सो रोग सर्ने सम्भावना हुन्छ ।

नियमित क्षयरोगीका बिरामीले उपचार र औषधि सेवन गरेमा यो रोग ९१ प्रतिशत निको हुने संयोजक कोइरालाको भनाइ छ । उनले यो रोगबाट भयभित हुन नहुने तर्क गर्दै उपचारमा आएमा निको हुन्छ भने ।

दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु क्षयरोगको मुख्य लक्षण हो । ज्वरो आउनु, खान नरुच्नु, छाती दुख्नु र खकारमा रगत देखापर्नु क्षयरोगका लक्षण रहेका छन् । यदि कसैमा यस्ता लक्षणहरु देखापरेमा नजिकको स्वास्थ्य संस्थामा गएर सम्पर्क गर्न संयोजक कोइरालाले आग्रह गरे ।

क्षयरोगका बिरामीलाई निःशुल्क औषधि वितरण गरिँदै आएको र औषधिको अभाव नरहेको जनाइएको छ । गत आवमा विराटनगर महानगरपालिकामा १८६ जना क्षयरोगी उपचारमा आएका छन् ।

हालको तथ्याङ्कअनुसार देशभरमा ८० हजारभन्दा बढी क्षयरोगीले उपचार गराइरहेका जानकारी उनले दिए ।

यस्तै सामान्य क्षयरोगको उपचार नगराउँदा वा नियमित औषधि सेवन नगरेमा यो जीर्ण क्षयरोगमा परिणत हुने गर्छ । यो पनि नियमित उपचार गराएर नियमित औषधि सेवन गरेमा निको हुन्छ । जीर्ण क्षयरोगीले २० देखि २४ महिनासम्म औषधि नियमित खानुपर्ने हुन्छ ।

जीर्ण क्षयरोगीको उपचार लामो समयसम्म चलिरहने भएकाले क्षयरोग निवारण संस्था विराटनगरले जीर्ण क्षयरोगीका बिरामीलाई डिआर आभासगृहमा राखी उपचार गराउँदै आएको छ ।

जीर्ण क्षयरोगी ५६ जनामध्ये हाल १५ जना सो गृहमा बसेर आफ्नो उपचार गराउँदै आइरहेका छन् । सो गृहमा उपचार गराइरहेकालाई खाना र खाजाको समेत व्यवस्था गरिएको छ ।
 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर