किसानलाई रुवाएर समाजवाद आउँछ सरकार ? – Nepal Press
टिप्पणी

किसानलाई रुवाएर समाजवाद आउँछ सरकार ?

उखु किसानको आँशुले नपोलोस् !

वर्षभरि खनजोत गर्‍यो, जाडोयाममा उखु रोप्यो, कालोबजारीमा मल खरीद गर्‍यो, गोडमेल गर्‍यो, सिंचाइ गर्‍यो, उखुका लाँक्रा काट्यो, छिमल्यो र गाडी भाडामा लिएर चिनी मिलसम्म पुर्‍यायो । यति गरुञ्जेल किसानको रगत पसिना बनेर कैयन् पटक बगिसकेको हुन्छ ।

सरकारले तोकिदिएको मुख्य नगदेबाली उखु भने हाताहाती पैसा लिएर बिक्री गर्न पाइँदैन । चिनी मिललाई उधारोमा दिनुपर्छ । एक दिन नगद पाइएला भनेर उखु मिल मालिकलाई दिएर किसान घर फर्किन्छन् ।

घरमा अनेक कुराको खाँचो हुन्छ । नयाँ खेती लगाउन पूँजी हुँदैन । छोराछोरीको स्कूल फिस, लत्ताकपडा र औषधि उपचार । आफूले उत्पादन गरेको उखु उधारोमा बिक्री गर्ने किसानले खुदको गर्जो टार्न सयकडा तीन प्रतिशत मासिक ब्याजदरमा साहुसँग ऋण लिन्छन् ।

तोकिएको दिन किसान भुक्तानी माग्न मिलमा जान्छन् । कहिले मालिक हुन्नन् । कहिले लेखापाल हुन्नन् । आज रकम आएन भनिन्छ । किसान हैरान हुन्छन् ।

किसानले चिनी मिलका निर्दयी साहुलाई कमिज उचालेर दोब्रिएको पेट देखाउँछन् । ‘हजुर भोकै छौं’ भनेर पैसा माग्छन् । चिनी मिलले कहिले रातो र हरियो मसीले चेक भरेर दिन्छ । कहिले हस्ताक्षर गलत गरेर वा स्ट्याम्प नलगाई चेक दिएर पठाइन्छ । सोझासाझा किसान चेक लिएर बैंक आउँछन् । चेक साटिंदैन । फेरि फर्केर मिल पुग्छन् । यस वर्षको उखुको पैसा तीन वर्षसम्म पनि भुक्तानी हुँदैन ।

धाउँदा धाउँदा थकित हुन्छन् । उखुको भुक्तानी लिन दौडाहामा रहेका किसानलाई सोध्नुस्, खुईए… गर्छन् । सुस्केरा काढ्छन् । भन्छन्, हजुर बाँसको खुट्टा भए खिइएर घुँडासम्म आइसक्थ्यो । कति पटक कुद्नु, कति पटक धाउनु ?

त्यति गर्दा पनि रकम नपाएपछि आन्दोलनमा उत्रिए किसान । स्थानीय ठाउँमा आन्दोलन गर्दा पनि भएन । काठमाडौं पुगे । सिंहदरबार घेरे । प्रहरीको लाठो आङमा थापे । जाडोमा कठ्याङ्ग्रिएर बसे । सरकारले अनेक आश्वासन दियो तर पनि भुक्तानी पाएनन् । अब के गर्ने र कहाँ जाने !

यही हो कटुसत्य । किसानले भोग्नु परेको सास्ती, भुक्तमान र दुर्दशा । यो प्रक्रिया एक परम्परा नै बनेको छ । किसान भोकले लम्पट लागेर कंकाल जस्तै बनेका छन् । तर चिनी मिल मालिक भुँडी फुटुञ्जेल खाएर उघ्राएको साँढे जस्तो डुक्रिन्छ । पाउर गर्दै विलासी भवनमा सञ्चो सुविस्ताले बसेका छन् ।

किसानको उखु सित्तैंमा लिएर चिनी बनाएर नगदमा बिक्री गर्छन् । सके चिनीको कृत्रिम अभाव सिर्जना गरेर कालोबजारीमा अतिरिक्त मुनाफा लिएर बेच्छन् । तीन, चार वर्षसम्म किसानलाई भुक्तानी नदिएर सोही रकम लिएर अन्य उद्योग र कारखाना खोल्छन् । चिनी मिल मालिक करोडपतिबाट अर्बपति र अर्बपतिबाट खर्बपति बन्छन् । किसानको खेत पाँच वर्षमा साहुले लिलाम गर्छन् वा बैंकले लिलाम गर्छ । यही हो त नेपाली समाजवादको मोडल ?

उखु किसान दुई चार वर्ष अघिदेखि मात्र शोषणमा परेका होइनन् । यो सबै राजनीतिक कालको व्यवस्था र विवशता हो ।

तर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई तिहाइ बहुमतको सरकार बनेपछि उखु किसानले उद्धार होला भन्ने आश गरेका थिए । कम्युनिष्ट सरकारले त्राण देला भन्ने भरोसा थियो । शोषणपूर्ण उखु अर्थराजनीतिको अन्त्य होला भन्ने चिताएका थिए । उखु मिल र तिनका मालिकहरूलाई कानूनको दायरामा ल्याइन्छ भन्ने विश्वास थियो । उखु नगद नारायणमा बिक्री हुने वा निश्चित समयभित्र विना कुनै झमेला भुक्तानी पाइने व्यवस्था लागू होला भन्ने आश थियो । तर किसानका सबै आशा भरोसाको चिहान बन्यो सिंहदरबार ।

अन्नदाता किसानको हुर्मत लिने र शोषण गर्नेहरूलाई ठीक लगाइन्छ भनेर चुनावमा बहुमत मागिएको थियो । जनताले चुनावी घोषणापत्रमा बोलकबोल गरेको सुन्दर भविष्यलाई पढेर सुनेर पत्याएर मतपत्रमा सूर्य हेर्दै छाप लगाएका थिए । किसानको घरमा पनि समृद्धि पुग्छ भनेर ह्वारह्वार्ती मत खन्याइएको थियो ।

झन् समाजवादका व्याख्याता घनश्याम भुसाल कृषिमन्त्री बनेपछि चाउरी परेका पेट देखाउन उखु किसानहरू काठमाडौंसम्म पुगे र मुटुको रगत जमाउने चिसोमा माइतीघर मण्डलमा कैयन् रात गुजारे ।

सरकार नामको संस्थाले किसानलाई तीन महीनामा जुनै हालतमा पनि उखु किसानको बक्यौता भुक्तानी गराउने वचनबद्धता गर्‍यो । भोको पेटमा आश्वासनको खीर खाएर किसान मुख मिठ्याउँदै फर्किए । तर किसानको दुर्दशा उस्तै छ ।

किसान फेरि पनि ठगिए । सरकारले पनि ठग्यो किसानलाई । आफैंले आश्वासन दिएर पठाएको किसान एक दिन भोको पेट लिएर फेरि माइतीघरमण्डलमा आइपुग्लान् भन्ने पटक्कै हेक्का रहेन । उखुको बक्यौता राख्ने मिल मालिकहरूलाई पाता फर्काउनु त के ठूलो स्वरमा ताकेता पनि गरेन सरकारले ।

‘मरता क्या नहीं करता’ भने झैं भोका किसान फेरि निन्याउरो अनुहार लिएर पुनः काठमाडौं गएका छन् । घरमा बालबच्चा भोकै छन् । आङ ढाक्ने कपडा छैन । साहुको ऋण सावाँ र ब्याजको कचकच छ । अनेक पिरलो छ । तर आन्दोलनमा उत्रिनुको विकल्प छैन ।

भँगेरे टाउका जत्रा अक्षरमा राष्ट्रिय अखबारहरूमा उखु किसानका पीडा र दुःख छापिएका छन् । समाजवादी धाराका नेकपाका नेता तथा समृद्धि ल्याउँछु भनेर ठोकुवा गर्ने सरकारका मन्त्रीका टेबुलमा एकाबिहानै पत्रिका पुग्छ । तर किसानका बारेमा छापिएका सवालमा कम्युनिष्ट नेता र सरकारका मन्त्रीलाई कुनै वास्ता छैन । माइतीघरमा किसान रोएको, चिच्याएको सिंहदरबारमा सुनिन्छ । तर कम्युनिष्ट सरकार यति बहिरो बनेको छ कि किसानको क्रन्दन पटक्कै सुन्दैन ।

उखु किसानले भुक्तानी नपाउनु कम्युनिष्ट सरकारको मुखमा पोतिएको कालोमोसो हो । किसान आन्दोलनमा उत्रिनु र माइतीघरमण्डलको चिसोमा सुत्नु कम्युनिष्ट सरकार रसातलमा पुग्नु हो । समाजवादी पक्षधर भनिने कम्युनिष्ट नेताहरूको आस्था र विश्वासको चिहान खनिनु हो ।

कवीर दासले भनेका छन्–‘अजहु चेत गवाँर’ । समाजवादका खोल ओढेका दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकार चेत समय छँदै चेत । हुन त समय घर्किसक्यो । कम्युनिष्ट सरकारको बदनामीको फेहरिस्त समाजको हातमा परेको छ । अझै सम्हालिन सकिन्छ । तर यही रवैया रहिरह्यो भने उखुको पतकर झैं कम्युनिष्ट सरकारको हालत हुनेछ । उखु किसानको व्यथाले कम्युनिष्टलाई भत्भती पोल्नेछ ।

कम्युनिष्टहरू हो, समाजवाद निर्वाचनको बेला मत माग्ने भिक्षापात्र नबनाऊ । उखु किसानको पीडाले बर्लिनको पर्खाल भत्किए झैं धुम्बाराहीको महल गल्र्यामगुर्लुम्म ढल्नेछ ।

सोभियत संघ कित्ताकाट भएझैं कम्युनिष्ट टुटफुट हुनेछ । पूर्वी युरोपमा सफाया भएको कम्युनिष्ट शक्तिको हविगत नेपालमा नहोस् । भारतमा आज कंग्रेस आईको के हालत छ ? पश्चिम बंगालबाट कम्युनिष्ट ताकत कता हरायो ? बेलैमा विचार गरे हुन्छ ।

उखु किसान डुबेकै छन् । तर कम्युनिष्ट सरकारलाई लिएरै डुब्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाल अपडेट ट्रेन्डिङ