आफैं‌‌‌‌ले बनाएको संविधानविरुद्ध कांग्रेस उभिंदैन : नेता सिंह – Nepal Press

आफैं‌‌‌‌ले बनाएको संविधानविरुद्ध कांग्रेस उभिंदैन : नेता सिंह

जनकपुरधाम । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेस संविधानले सुनिश्चित गरेका उपलब्धि उल्टिन नदिन सचेत रहेको बताएका छन् ।

जनकपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता सिंहले धर्मनिरपेक्षतासहितको संघीय लोकतान्त्रिक गणतन्त्र नै कांग्रेसको बटमलाइन भएको बताए ।

‘कांग्रेसकै नेतृत्वमा जारी भएको संविधानले दिएका राजनीतिक उपलब्धि निरन्तर रहनुपर्छ । राजतन्त्र वा हिन्दूराष्ट्रका नाममा परिवर्तनको विरुद्धमा कांग्रेस उभिंदैन’, सिंहले भने ।

कांग्रेसका केही नेताहरुले हिन्दू राष्ट्र वा राजतन्त्रको पक्षमा बोलेको सन्दर्भलाई पार्टीको आधिकारिक धारणा मान्न नमिल्ने सिंहको भनाइ छ । ‘कसले के भन्यो वा भने त्यसमा मेरो टिप्पणी छैन । नेपाली कांग्रेस पार्टी संघीयता, समावेशिता, धर्मनिरपेक्षता र गणतन्त्रप्रति प्रतिबद्ध छ’, उनले भने ।

फरक प्रसंगमा नेता सिंहले केपी ओली नेतृत्वको कम्युनिष्ट सरकार पूर्ण रुपमा असफल भएको दावी गरे । सरकारकै संरक्षणमा अपराध र भ्रष्टाचार मौलाएको दावी गर्दै नेता सिंहले सरकार बहुमतको भए पनि अत्यन्त कमजोर सावित भइसकेको बताए ।

कोरोनाका कारण ठप्प भएका गतिविधि विस्तारै सामान्य बनाउँदै लैजानुपर्नेे सिंहको भनाइ छ । उनले सीमा नाका बन्द गर्दा सीमा क्षेत्रका जनता समस्यामा परेको हुनाले विस्तारै सुचारु गर्न सरकारसँग माग गरे ।

सरकारले लामो समयसम्म संसद अधिवेशन स्थगित गरेर आफ्नो उत्तरदायित्व बिर्सिएको आरोपसमेत नेता सिंहले लगाए । ‘जनताका आवाज उठ्छन् र सरकारको आलोचना हुन्छ भनेर संसद ठप्प राखिएको छ’ सिंहले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर