अबको हलिउड लडाइँ अल्गोरिदमसँग – Nepal Press

अबको हलिउड लडाइँ अल्गोरिदमसँग

फिल्म समीक्षा : टेनेट

के आर्टिफिसियल इन्टेलिजेन्स वा अल्गोरिदम (कम्प्युटर शासन) मानव जगतको भविष्यलाई चुनौती बन्नेछन् ? युवा वैज्ञानिक युभल नोहा हरारी हुन् या फिल्म निर्देशक क्रिस्टोफर नोलन । यी दुवैको संश्लेषण के हो भने : अल्गोरिदमले मान्छेलाई ह्याक गर्नेछ र मानव जाति स्वयम् संकटमा पर्नेछ । नोलन निर्देशित पछिल्लो फिल्म ‘टेनेट’को केन्द्रीय द्धन्द्ध पनि मेसिन भर्सेस मान्छे हो । आफ्ना फिल्ममा समय, स्पेस र आदिभौतिकवादलाई चित्रण गर्न माहिर नोलनले ‘टेनेट’मा पनि स्वैरकल्पनाको जासूसी कथा भन्ने प्रयत्न गरेका छन् ।

हामीले यसअघि ‘एभेन्जर्स एन्ड गेम’मा टाइम ट्राभलको कथा हेरेका थियौं । नोलनले विज्ञानको यो सिद्धान्तलाई थ्रीलरसँग जोडेका छन् । नोलनको फिल्म स्टाइल र टाइम ट्राभल थ्याैरी नबुझ्नेलाई ‘टेनेट’ अन्याेल लाग्नसक्छ । यसको मुख्य कथासार भनेकै अविश्वसनीय संकटबाट संसारलाई जोगाउन सीआईएका एक नामविहीन मुख्य पात्रले गर्ने संघर्ष हो । युक्रेनको किभस्थित एक ओपेरादेखि सुरु भएको ‘टेनेट’ नामको जासूसी अप्रेसन रसियाको एक हिमाली गाउँमा पुगेर टुंगिन्छ ।

मुख्य पात्रको भूमिकामा जोन डेभिड वासिङ्टनले अभिनय गरेका छन् । उसको भेट लाउरा (क्लिमेन्स पोइजी)सँग हुन्छ । लाउराले उसलाई समय उल्टो गतिमा भूतकालतर्फ अगाडि बढिरहेकाले संकटको समाधान अतीतमै भएको बताउँछिन् । बन्दुकबाट गोली निस्किने होइन कि गोली बन्दुकमा पस्ने, कार उल्टो गुड्ने र भत्किएका भवन र संरचना पुरानै अवस्थामा फर्कने संकट बताउँछिन् । यो प्रक्रिया भविष्यका लागि चुनौती भएकाले मुख्य पात्रसामु टाइम ट्राभलमार्फत यसलाई रोक्नुको बाध्यता आइलाग्छ । के मुख्य पात्र उद्देश्यमा सफल हुन्छ ?

नोलनले पहेंलीजस्तो लाग्ने कथालाई सरल ढंगले चित्रण गरेका छन् । १५० मिनेट लामो पटकथाले दर्शकलाई इन्गेज त तुल्याउँछ तर, कन्फ्युजन पनि उत्तिकै । जसले केही दर्शकलाई फिल्मको एकाध प्लट बुझ्न हलबाट निस्किएपछि गुगल वा विकिपेडिया सर्च गर्नुपर्ने बाध्यता आइलाग्छ । तीक्ष्ण संवाद र केही कमेडी टाइपका डायलगले फिल्मलाई बलशाली तुल्याएको छ । अगाडि–पछाडि–पछाडि–अगाडि टाइपको पटकथाले क्लाइमेक्सलाई लुज तुल्याएको छ । अन्त्यमा मुख्य पात्र भन्छन् : हरेक चीज भ्रमित नै रहेछन् । नोलनले यस्तो टाइपको मानसिक थ्रीलरलाई इन्सेप्सन, इन्सोम्निया लगायतमा प्रयोग गरिसकेका छन् ।

यस्तो खाले कथ्य शैली, संरचना, लार्ज फर्म्याटको फोटोग्राफी, भौतिकवादी दृष्टिकोण, एक्सपेरिमेन्टल ल्यान्डस्केप, प्राक्टिल स्पेसल इफेक्टले फिल्मलाई अब्बल तुल्याएको त छ नै सिनेम्याटिक अपिलिङसहित मनोरञ्जक तुल्याउनु महत्वपूर्ण पक्ष हुन आउँछ । नोलनले थ्रीलर र ड्रामाको क्षणलाई पहिलोपटक सेल्युलोइडमा प्रस्तुत गरेका छन् जसले दर्शकलाई रोमाञ्चक तुल्याउँछ । दोस्रो हाफका कथानक घुम्तीले दर्शकलाई इन्गेज बनाउँछ । तर, दर्शकलाई बुझाउन धेरै जटिल कथ्य नबनाउनु पर्थ्याे भन्ने हो । नोलनको अवधारणा केही थलोमा कठिन देखिन्छ ।

फिल्ममा प्रायः दोहोरिने वाक्य भनेकै : हामी चम्किलो विश्वमा बस्छौं जसको चरित्र दोहोरो हुन्छ भन्ने हो । अल्गोरिदम, हिप्पोसेन्टर, न्युक्लियर अस्त्र, विकिरणजस्ता भौतिकविज्ञान कथाको केन्द्रमा राखिएको छ । यो एउटा भूत र भविष्यको कथा हो जहाँ रसियाको आणविक थलो होस् वा युरोपको चम्किलो सहर जहाँ हलिउडको पीडादायी उपस्थिति छ । नोलनले एकैसाथ समानान्तर विश्वको परिकल्पना पनि गरेका छन् फिल्ममा । फिल्मका मुख्य पात्र क्याट र एन्ड्रोइको चिनापर्चीले न्यारेटिभमा उत्साह थपेको छ । ओस्लोको फ्रिपोर्टमा हुने ‘रिभर्स अट्याक’ले फिल्मलाई गति दिएको छ ।

हिरोइनलाई लिएर बनाइएको कन्सेप्टले दर्शकलाई अन्याेल तुल्याउन सक्छ । तर, इन्टरभलपछिको प्लटले दर्शकलाई अवधारणाबारे जानकारी गराउँछ । केही प्रश्नको उत्तरलाई मिठासपूर्वक दिइएको छ जब मुख्य पात्र निश्चित उद्देश्यसहित अप्रेसनमा जान्छ । क्लाइमेक्स दृश्य निकै रोचक छ जहाँ मुख्य पात्र अगाडि बढ्छ र एन्टागोनिस्ट फोर्स उल्टो गतिमा हिँड्छ । अगाडि र पछाडि कुद्ने यो कन्सेप्ट नयाँ र रोचक अवश्य छ । विश्व फिल्मको यस्तो प्रयोग विरलै देख्नलाई मिल्छ ।

फिल्मको अन्तिम सिक्वेन्स अनपेक्षित छ तर, यसले दर्शकलाई धेरै प्रश्नहरु छाडेर जान्छ । एक किसिमले यो ओपनिङ इन्डिङ (खुला समाप्ति) हो ।

जोन डेभिड वासिङ्टनको अभिनय मलाई उनको अघिल्लो फिल्म ‘ब्ल्याकान्सम्यान’पछिको दमदार लागेको हो । भावनाको प्रस्तुति र शरीर भाषाको माध्यमबाट उनले कन्फ्युजन र चुनौतीको प्लटलाई न्याय गरेका छन् । रोबर्ट प्याटिन्सनको भूमिका सधैंजसो शक्तिशाली छ । एलिजाबेथ डेकेटीसँग चुनौतीपूर्ण भूमिका छ र एक्सप्रेसन गजब छ । डिम्पल कपाडिया, हिमेश पटेल, क्लिमेन्स पोइजी, माइकल क्लेन, डेन्जल स्मिथको अभिनय सुन्दर लाग्छ ।

लडविग गोरान्सनको संगीत (ब्याकग्राउन्ड स्कोर) फिल्मको सशक्त पक्ष हो । होइट भान होइटेमाको छायांकन शक्तिशाली छ । ठूलो पर्दामा हेर्दा मात्र मजा लाग्ने दृश्य खिचिएको छ । हुनसक्छ, यही कारण क्रिस्टोफर नोलानले फिल्मलाई हलमै हेर्नुपर्छ भन्ने अवधारणाको वकालत गरेका हुन् । कन्फ्युज र पजल नै किन नहोस् टेनेट, यसले दर्शकलाई नयाँ सिनेम्याटिक अनुभवको बोध चाहिं अवश्य गराउनेछ । कन्सेप्ट, म्युजिक स्कोर, भीएफएक्स र एक्सनको कारण फिल्म अब्बल बनेको हो । महामारीको समयमा नेपालमा हलमा रिलिज हुन नसके पनि एचबीओ म्याक्ससहितका ओटिटी प्लेटफर्मबाट फिल्म रिलिज भएको छ ।

रेटिङ : ३
निर्देशक : क्रिस्फोटर नोलन
कास्ट : जोन डेभिड वासिङ्टन, रोबर्ट प्याटिन्सन, केनेथ ब्रानग, एलिजाबेथ डेबेस्की, डिम्पल कपाडिया


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर