कार्यकर्ता सडकमा उतारेर देउवाका चार दाउ – Nepal Press
नेपाल प्रेस टिप्पणी

कार्यकर्ता सडकमा उतारेर देउवाका चार दाउ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशैभरी सरकारविरुद्ध प्रदर्शन गर्‍यो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वसत्तावादको अभ्यास गरेको आरोप लगाउँदै कांग्रेसले ‘कम्युनिष्टले निर्वाचन जितेकै कारण जनताले दु:ख पाएको’ सन्देश दिन खोज्यो ।

प्रमुख प्रतिपक्षीका रूपमा खरो भूमिका खेल्न नसकेको आरोप लागिरहेका बेला सडकमा उत्रिएर कांग्रेसले आफ्नो राजनीतिक उपस्थिति मात्रै देखाएन, सरकारविरुद्ध नेताहरू आगो नै ओकले । कांग्रेसको प्रर्दशनको राजनीतिक बाछिटा सतहमा जे देखिएपनि अन्तर्यमा भने फरक छ । कांग्रेसको प्रदर्शनलाई सरकारले गम्भीर ढंगले नलिए पनि कांग्रेस सभापति शेरबहादुर देउवा भने सोमबारको प्रदर्शनमार्फत् केही खास सन्देश दिन सफल भएका छन् ।

चार पटकसम्म प्रधानमन्त्रीका रूपमा मुलुकको नेतृत्व गरिसकेका देउवा राजनीतिका चतुर खेलाडी हुन् भन्नेमा दुईमत नहोला । देउवाको यही क्षमता कांग्रेसको प्रदर्शनमार्फत प्रकट भएको छ । जसबाट उनले चलाएका चार तीर निशानामा लागेको खण्डमा त्यसको राजनीतिक लाभ कांग्रेसभन्दा बढी देउवाले नै पाउने निश्चित छ ।

सडकमा कांग्रेस उतार्ने, राजावादी रोक्ने

पछिल्लो केही हप्तायता देशका प्रमुख शहरहरूमा ‘राजतन्त्र र हिन्दूराष्ट्र’को पक्षमा विशाल प्रदर्शनहरू भए । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक किचलो उत्कर्षमा पुगेको र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पनि आन्तरिक मामिलामै अल्मलिएको मौकामा परिवर्तनविरोधी अभियानले तीव्रता पाउँदै थिए ।

एकातिर सरकारविरुद्ध उचित कदम चाल्न नसकेको भन्दै पार्टीभित्र र बाहिर हुने आलोचनाको केन्द्र देउवा बनेका थिए । अर्कोतिर राजावादीहरुले सडक ओगट्ने र सरकारले संसद नबोलाउने अवस्थामा कांग्रेस ‘घर न घाट’ को हुने सम्भावना थियो । हेटौंडाको सम्बोधनमा देउवाले राजतन्त्र फर्कने सम्भावना नरहेको र राजावादीको आन्दोलन सरकारकै कारण सम्भव भएको दावी गरे ।

एकातिर सरकारविरुद्ध उचित कदम चाल्न नसकेको भन्दै पार्टीभित्र र बाहिर हुने आलोचनाको केन्द्र देउवा बनेका थिए । अर्कोतिर राजावादीहरुले सडक ओगट्ने र सरकारले संसद नबोलाउने अवस्थामा कांग्रेस ‘घर न घाट’ को हुने सम्भावना थियो ।

यही राजनीतिक परिद‍ृश्यमा देशभर सडकमा कांग्रेसको शक्ति प्रदर्शन गराएर सरकार र राजावादी दुवैलाई कांग्रेसले मैदान नछाडेको सन्देश दिन देउवा सफल भएका छन् । सोमबारको प्रदर्शन सफल गराउने सन्दर्भमा सभापति देउवाले प्रमुख शहरहरूमा हुने प्रदर्शन राजावादीको भन्दा फितलो हुन नदिन कडा सर्कुलरसमेत गरेकै थिए ।

ओलीलाई चुनौतीसंगै

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा रहेको बेला गत मंसिर ६ गते प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका कांग्रेस सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता गरेका थिए । बालुवाटारमा भएको भेटमा ओलीले पार्टीभित्रको बाध्यता सुनाउँदै देउवालाई सत्ता सहकार्यको प्रस्ताव समेत गरे ।

प्रधानमन्त्रीसंग सत्ता सहकार्यबारे छलफल गरेको समाचार बाहिरिएलगत्तै कांग्रेसवृत्तमा देउवा आलोचित भए । नेकपा विवादमा निरपेक्ष रहन र सत्ता साझेदारीबाट अलग रहन देउवालाई कांग्रेसकै नेताहरुले आग्रह गरे । निरन्तर आलोचना खेपिरहेका देउवा संवैधानिक नियुक्तिमा ओलीसंग हैसियत अनुसारकै ‘भाग’ लिने पक्षमा थिए ।

मंसिर १७ मा आफ्नै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा प्रहरीले बलप्रयोग गरेपछि ओलीसंग देउवाले सहज संवाद गर्ने अवस्था बनेन । सर्वदलीय बैठकमा पनि केहीबेर मात्रै बसेर बाहिरिएका देउवाले मंसिर २९ का लागि सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय पार्टीबाट गराइसकेका थिए ।

त्यस्तो प्रदर्शनले ओलीनिकट रहेको आरोप लगाउनेहरुलाई जवाफ मिल्ने र संवैधानिक नियुक्तिका सन्दर्भमा ओलीलाई गलाउन पनि सकिने देउवाको आँकलन रह्यो । आइतबार प्रधानमन्त्रीले डाँकेको संवैधानिक परिषदमा अनुपस्थित रहँदै देउवाले ओलीसंग असन्तुष्टी बढेको जनाउ पनि दिए । सोमबारको प्रदर्शनले अबका दिनमा ओलीलाई ‘आफूले मागेजति दिन’ बाध्य पार्न सकिने देउवाको बुझाइ छ । किनकी पार्टीभित्रै अप्ठ्यारोमा परेका ओली पनि देउवालाई चिढ्याउन चाहदैनन् । कांग्रेसले संवैधानिक नियुक्तिहरुमा सम्मानजनक हिस्सा दावी गर्दै आएको छ ।

आलोचना छल्ने , महाधिवेशनमा नगल्ने

कार्यतालिका प्रभावित नभएको भए कांग्रेसको १४ औं महाधिवेशन फागुन ७ मा हुने निश्चित थियो । जुन महाधिवेशनबाट दोस्रोपटक सभापतिमा निर्वाचित हुने देउवाको दाउ छ । पुस पहिलो साता बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकबाट महाधिवेशनको नयाँ कार्यतालिका आउँदैछ । प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न नसकेको , कम्युनिष्ट सरकारले गरेका कमजोरीविरुद्ध खरो उत्रन नसकेको र कांग्रेसको जनमत बढाउन नसकेको आरोपबाट महाधिवेशन अगावै देउवा मुक्त हुन चाहन्छन् ।

त्यसका लागि पार्टीलाई आन्दोलनमा लैजाने उपयुक्त मौका देउवाले पर्खिरहेका थिए । कोरोनाका कारण नजुरेको मौका यसपटक छोप्न देउवा सफल भए । सोमबारको प्रदर्शनले कांग्रेसको आन्तरिक संरचनाहरूलाई चलायमान बनाएको छ । प्रतिपक्षको रूपमा कांग्रेसको भूमिका र आफ्नो नेतृत्वको ‘फेस सेभिङ’ गरेर महाधिवेशन सामना गर्न देउवालाई सहज हुनेछ ।

पार्टीका प्रतिपक्षी रिझाउने प्रयास

कांग्रेसभित्र सभापति देउवाले प्रतिस्पर्धी मान्ने कोही छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल नै हुन् । पार्टीका आन्तरिक विषयमात्रै होइन राष्ट्रिय राजनीतिमा पनि देउवाको कट्टर आलोचना गर्दै आएका थिए पौडेलले । ‘देशले ओली र कांग्रेसले देउवाको नेतृत्वबाट मुक्ति खोजेको’ दावी पौडेलले गर्ने गरेका थिए ।

पार्टीका आन्तरिक बैठकमा पनि पौडेलबाट आलोचना खेप्दै आएका देउवाले सोमबारको प्रदर्शनबाट पौडेल पनि रिझाएका छन् । खासगरी तनहुँ घटनामा सिंगो पार्टी पंक्तिलाई विरोधमा उतारेर लगत्तै देशव्यापी प्रदर्शन गराएर पौडेलको आक्रोश घटाउन देउवा सफल भएका छन् ।

तनहुँ घटनाका कारण कांग्रेस जागेको सन्देश जाँदा पार्टीभित्र आफूलाई राजनीतिक लाभ मिल्ने पौडेलको पनि आँकलन छ । यो अर्थमा सोमबारको प्रदर्शनले देउवा पौडेल सम्बन्धमा पनि सुधारको संकेत गर्दछ ।

कांग्रेसले सोमबारको प्रदर्शनबाहेक सरकारविरुद्ध थप आन्दोलनको घोषणा गरेको छैन । एकैपटकको प्रदर्शनबाट सरकारमाथि दवाव सिर्जना गर्ने र आफूमाथिका आक्षेपहरूको घनत्व घटाउने प्रयास देउवाले गरेका छन् । देउवाका ती चार तीर निशानामा लाग्लान् वा चुक्लान्, राजनीतिका पण्डितहरूमाझ चासोको विषय बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर