१३६ केजीकी मुटुरोगी महिलाको एकै पटक दुई जटिल शल्यक्रिया – Nepal Press

१३६ केजीकी मुटुरोगी महिलाको एकै पटक दुई जटिल शल्यक्रिया

काठमाडौं । दुरबिन प्रविधिबाट १ सय ३६ किलो तौल भएकी एक महिलाको एकैसाथ दुई जटिल शल्यक्रिया सम्भव भएको छ  । थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा आज ती महिलाको महिलाको दुरबिन प्रविधिको प्रयोग गरी पाठेघर र पित्तथैलीको एकैपटक शल्यक्रिया गरिएको हो ।

नर्भिक अस्पतालमा वरिष्ठ स्त्री रोग विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मा, वरिष्ठ सर्जन डा. सञ्जय पौडेल, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. जेपी जैसवाल र डा. सुरेश लामिछानेसहितको टोलीले करीब साढे २ घण्टा लगाएर ललितपुर पाटनकी ३८ वर्षीया रत्ना महर्जनको शल्यक्रिया गरेको हो ।

सामान्यत: १ सय ३६ किलो तौल भएका बिरामीको दुरबिन प्रविधिबाट पाठेघर र पित्त थैलीको एकै पटक शल्यक्रिया गर्नु एकदमै कठिन कार्य हो । तर, गुणस्तरीय सुविधाले सहज रूपमा बिरामीको शल्यक्रिया सम्भव भएको डा. शर्माले बताइन् ।

“पाठेघरमा अधिक मासु पलाएको र पित्त थैलीको समस्याका कारण बिरामी सामान्य हिँडडुल नै गर्न नसक्ने अवस्थामामा हुनुहुन्थ्यो,” ल्याप्रोस्कोपिक सर्जन डा. शर्माले भनिन्, “शल्यक्रियाको दुई दिनमा उहाँ राम्रोसँग हिँड्ने अवस्थामा हुनुहुन्छ, शल्यक्रियापछि तीन दिन आराम गराएर भोलि हामी उहाँलाई डिस्चार्ज गर्दैछौँ ।”

दुरबिनबाट शल्यक्रिया गरेका कारण अवको एक हप्तापछि उनले नियमित काम गर्न सक्ने डा. शर्माले बताइन् । शरीरको बढी तौल र मुटुको समस्यासमेत भएकी बिरामीको सहज शल्यक्रिया सम्भव भएकोमा खुशी व्यक्त गरिन् ।

बढी तौल भएकाहरूको पेट चिरेर शल्यक्रिया गर्दा रगत धेरै बग्ने, घाँउ निको हुन समय लाग्ने र घाउ पाक्ने जस्ता समस्या आउने भएकाले बिरामीलाई आवश्यक हुने जति आराम र सुविधा दिन दुरबिन प्रविधि निकै लाभदायक हुने चिकित्कहरूको भनाई छ ।

आधुनिक प्रविधि र सुविधा भए उच्च जोखिममा रहेका बढी तौल भएका बिरामीको शल्यक्रिया पनि सहज रुपमा गर्न सकिने डा. शर्माले बताइन् ।  टेष्ट ट्युव बेबी विशेषज्ञ समेत रहेकी डा. शर्माले गत असारमा नर्भिक अस्पतालमै १ सय ६८ किलो तौल भएकी महिलाको शल्यक्रिया मार्फत सफल प्रसुती गराएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर