६० प्रतिशत नेपालीका खुट्टामा स्वदेशी जुत्ता ! – Nepal Press

६० प्रतिशत नेपालीका खुट्टामा स्वदेशी जुत्ता !

सुरक्षा निकायका लागि भने मापदण्ड पुगेन

काठमाडौं । केहि वर्ष अगाडिसम्म स्वदेशी जुत्ता उत्पादक कम्पनी लगानीको प्रतिफल जुटाउन धौ–धौको अवस्थामा रहन्थे । विदेशी ब्रान्ड विशेष गरी चिनियाँ उत्पादनका जुत्ताहरु सर्वसुलभ मूल्यमा बजारमा उपलब्ध हुनु स्वदेशी कम्पनीका लागि चुनौति थियो ।

अहिले अवस्था फेरिएको छ । केहि वर्षयता नेपालीहरु स्वदेशी ब्राण्डका जुत्ता–चप्पलमै आफूलाई सहज महशुस गर्न थालेका छन् । गोल्डस्टार, शिखर, क्रसरोडलगायत दर्जनौ ब्राण्डका स्वदेशी जुत्ताले नेपाली बजारलाई छपक्कै ढाकेको छ भन्दा फरक पर्दैन ।

कुनै समय थियो नेपालीहरुले लगाउन प्रत्येक जुत्ता विदेशबाट आयत गरिँदा करोडौं रुपैयाँ विदेशिन्थ्यो । नेपाल फुटवेयर महासंघका आनुसार अहिले नेपाली बजारमा उपलब्धमध्ये ६० प्रतिशत जुत्ता–चप्पल स्वदेशी उत्पादन हो । महासंघका अध्यक्ष कृष्णकुमार फुँयालका अनुसार नेपाली जुत्ता–चप्पल व्यवसायमा करीब ५० अर्व रुपैयाँको लगानी रहेको छ ।

स्वदेशी जुत्ता–चप्पल उद्योगमा अर्बाैंको लगानी भए पनि सुरक्षा संगठनहरुदले प्रयोग गर्ने जुत्ता भने नेपालमै उत्पादन हुन सकेको छैन । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले प्रयोग गर्ने छालाको जुत्ता (बुट) अहिले पनि टेण्डरमार्फत विदेशबाट आयात गरिन्छ ।

सेनाले लगाउने छालाको जुत्तामा तीन प्रकारको छाला प्रयोग हुने भएकाले स्वदेशी कम्पनीले मापदण्ड पूरा गर्न नसकेपछि विदेशबाट ल्याउनु परेको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए ।

‘सेनाले स्वदेशी उत्पादनलाई नै पहिलो प्राथमिकतामा राख्छ, टेण्डर आहन गर्दा पनि स्वदेशी कम्पनी नै छान्छौ । तर, अहिलेसम्म स्वदेशी जुत्ता–चप्पल उद्यागहरुले हाम्रो मापदण्ड नगरेकैले विदेशबाट मगाउनु परेको छ,’ उनले नेपालप्रेससँग भने ।

महासंघले भने सुरक्षा निकायका लागि आवश्यक गुणस्तरको जुत्ता उत्पादनमा स्वदेशी कम्पनी पूर्ण सक्षम रहेको दावी गरेको छ । अध्यक्ष फुँयालका अनुसार स्वदेशी उद्योगहरु सक्षम भए पनि खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले नेपाली जुत्ता–चप्पलको गुणस्तर मापन गर्न नसक्दा समस्या निम्तिएको हो ।

‘विभागमा बारम्बार गुणस्तर मापनका बारेमा बारम्बार कुरा हुने गरेको छ । तर, त्यहाँ जुत्ता–चप्पलको कच्चा पदार्थ मापन गर्ने मेशिन नै छैन । जुत्ता–चप्पलमा अनेक किसिमका कच्चापदार्थको प्रयोग हुन्छ र ती सबै कच्चापदार्थको मापन गर्न असमर्थ भएको जानकारी विभागले दिने गरेको छ,’ उनले थपे, ‘नेपाली जुत्ता–चप्पलमा कम्पनीहरुले ६ महिनाको वारेण्टी दिएका छन् । गुणस्तर मापन नहुँदा अझै यसलाई विश्वसनीय बनाउन सकिएको छैन । अहिले हाम्रो मुख्य माग नै ‘मेनपावर तथा गुणस्तर परीक्षण हो ।’

नेपाली बजारमा बार्षिक ८ देखि ९ करोड जोर जुत्ताको माग रहेको फुँयालको भनाइ छ । उद्योगहरुले अन्य मुलुकमा समेत नेपाली ब्राण्डका जुत्ता निर्यात गर्दै आएका छन् । नेपालबाट अन्य मुलुकमा बार्षिक रुपमा ६०/६५ लाख जोर जुत्ता नियार्त हुँदै आएको व्यावसायीको भनाइ छ । नेपाली जुत्ता–चप्पलकोे मुख्य बजार भारत हो ।

०७२ सालको भूकम्प अघि नेपालबाट एक करोड जोर जुत्ता–चप्पल भारतलगायत अन्य मुलुकमा निर्यात हुने गरेको थियो । भूकम्प र लगत्तै भएको नाकाबन्दीको मार नेपाली जुत्ता–चप्पल पनि पर्‍यो । जसले गर्दा जुत्ता–चप्पलको व्यापार केही खुम्चन पुग्यो । ०७६ पछि पुन नेपाली जुत्ता–चप्पलको व्यापारमा रौनकता थपिँदै गर्दा विश्वव्यापी रुपमा देखिएको ‘कोभिड–१९’ को मारमा परेको छ ।

स्वदेशी कम्पनीलाई जनशक्तिको समस्या

नेपाली जुत्ता–चप्पल उद्योगमा अधिकांश कालिगड तथा मजदुर भारतीय रहेका छन् । पछिल्लो समय कोरोना कै कारण जुत्ता–चप्पल उद्योग ९ महिना बन्द भए । गत साउनबाट बिस्तारै खुल्न थालेकोमा अहिलेसम्म करिव ७० प्रतिशत उद्योगहरु खुलिसकेका छन् । उद्योग खुले पनि काम गर्ने कर्मचारी, मजदुर तथा कालिगडको चरम अभाव भएको व्यावसायीको भनाइ छ ।

लामो समय उद्योग बन्द हुँदा कालिगड र अन्य कर्मचारी भारत फर्किएकाले पनि उद्योगमा कर्मचारी अभाव हुन पुगेको हो । ‘नेपाली मजदुर निकै कम छन् । हाम्रो मुख्य समस्यामध्येको एउटा मजदुर समस्या पनि हो,’ महासंघ अध्यक्ष फुँयालले भने । हाल स्वदेशी जुत्ता–चप्पल उद्योगले करीब ५० हजारभन्दा बढीलाई रोजगारी दिएका छन् ।

विद्यार्थी र सुरक्षा गार्डका जुत्ता उत्पादनमा आत्मनिर्भर
विद्यालय जाने विद्यार्थी वा नेपालमा सञ्चालित सुरक्षा सेवा प्रदायक कम्पनीहरुले नेपाली ब्रान्डका जुत्ता नै प्रयोग गर्न थालेका छन् ।

विद्यार्थी र सुरक्षा गार्डले लगाउने जुत्ता शतप्रतिशत स्वदेशी ब्राण्डको भएको अध्यक्ष फुँयालको भनाइ छ । ‘स्कुल र सुरक्षा गार्डले लगाउने जुत्ता नेपाली ब्राण्डका हुन् । आयातीत एक जोर पनि छैन,’ उनले भने । नेपालमा हाल १ हजार ५ सय जुत्ता–चप्पलका उद्योग छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर