शास्त्रमत, लोकमत तथा परामनोविज्ञानका दृष्टिमा श्राद्ध
नेपाली समाजमा आधुनिकताको नाममा केही धर्म परम्पराविरोधी तत्त्व र तर्कले राम्रै मलजल पाइरहेको छ । यस्तो अवस्थामा ‘मरेको बाउलाई केरा खुवाएर के काम’, ‘श्राद्ध गर्नु र पिण्डदान गर्नु व्यर्थ हो र केवल अन्नको नाशमात्रै हो’ भन्ने जस्ता कुतर्कले पनि राम्रै स्थान पाएको देखिन्छ । पितृ पनि देवता तुल्य नै भएको र पितृलाई पनि पितृदेव वा पितृदेवता भन्ने गरिएकाले शुद्ध मनले पितृलाई सम्झेर श्रद्धापूर्वक गरिब दुःखीलाई दान गरे पनि श्राद्धको फल त अवश्यै पाइन्छ भन्ने जस्ता तर्क पनि आउने गरेका छन् । केवल आधुनिकताको एकोहोरो चश्माले मात्रै नहेरी धर्म, अध्यात्म, मनोविज्ञान, परामनोविज्ञानलगायतका सबै क्षेत्र समेटेर फराकिलो दृष्टिले हाम्रा सभ्यता, संस्कार र परम्परालाई विवेचन नगरेसम्म समाजमा चलिआएका प्राच्य परम्पराको मर्म र भावनालाई बुझ्न सक्ने अवस्था रहँदैन ।
नेपाली समाजमा एउटा चर्चित वाक्य छ- मरेका बाउलाई केरा खुवाएर के फाइदा ? जिउँदै रहँदाको अवस्थामा खुवाएको भए पो काम लाग्छ त । अहिले सोह्र श्राद्धको समय छ । आफ्ना दिवङ्गत पितृहरूलाई सम्झने र उनीहरूका नाममा पिण्डदान गर्ने समय चलिरहेको छ । बडादशैंको नजिकको समयमा पितृकार्य गर्नुपर्ने यो चलनलाई नियालेर हेर्दा देव कार्यभन्दा पितृ कार्य बढी महत्त्वपूर्ण हुन्छ भन्ने मनुस्मृति ९ अध्याय (३, श्लोक २०३)को वाक्यबाट निर्देशित रहेको बुझ्न सकिन्छ ।
लोकमा पनि ‘देउताले दिएको पितृले हर्छन्’ भन्ने उक्तिले पनि देव कार्यभन्दा अघि पितृ कार्य गर्नैपर्ने र पितृलाई खुशी तुल्याउनैपर्ने कुरालाई स्पष्ट गर्छ । संसारका हरेक धर्म अनि सम्प्रदायमा आफ्ना पुर्खाहरुलाई सम्झने आआफ्नै विधिविधान र परम्परा रहेको बुझ्न सकिन्छ । जात अनुकूल, क्षेत्र अनुकूल, समयानुकूल सबैले आआफ्ना पुर्खालाई सम्झेरै कुनै न कुनै तरिकाले केही न केही कृत्य गरेकै हुन्छन् । नेपाली परम्परामा पनि आफ्ना पुर्खालाई सम्झने र उनीहरूका नाममा श्राद्ध आदि कर्म गरेर पिण्डदान गर्ने चलन शास्त्रसम्मत र लोकसम्मत रहेको बुझ्न सकिन्छ ।
हुन त श्राद्धका प्रकार र तौरतरिकाहरू धेरै किसिमका छन् । तर पनि व्यवहारयोग्य र प्रचलनमा बढी रहेका श्राद्धका प्रकारहरू थोरैमात्र अस्तित्वमा रहेको पाइन्छ । श्राद्ध आदि सबै कृत्य चन्द्रमानअनुसार नै सम्पन्न हुन्छन् । हाल सर्वाधिक चर्चामा रहेको श्राद्ध चाहिं सोह्र श्राद्ध हो । चन्द्रमानअनुसारको असोज कृष्णपक्षको प्रतिपदादेखि असोज कृष्णपक्ष औंसीसम्म १५ दिनको समयमा १६ वटा श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध पनि भन्ने गरिन्छ । सोह्र श्राद्धलाई शास्त्रीय भाषामा पार्वण श्राद्ध वा महालय श्राद्ध, अपरपक्ष श्राद्ध पनि भन्ने गरिन्छ । सोह्र श्राद्ध नगरिकन नवरात्रामा दुर्गा भवानीको आराधना गर्न नहुने मान्यता पनि छ । पितृ कार्यलाई देव कार्यको पूर्ववर्ती अङ्गका रूप भएको र देव कार्यभन्दा पितृ कार्य बढी महत्त्वपूर्ण हुन्छ भन्ने मनुस्मृतिको वचन पनि छ ।
श्राद्धकर्ताको कल्याणका कुरामा पनि भनिएको छ- जसले विधिपूर्वक शान्त भएर श्राद्ध गर्छ, त्यो सबै पापले रहित भएर मुक्ति प्राप्त गर्छ र फेरि यो संसार चक्रमा आउनुपर्दैन ।
आफ्ना मृत पुर्खा अर्थात् पितृगणको सम्मानको उद्देश्य राखेर श्रद्धापूर्वक जुन कर्म गरिन्छ, ती कर्म विशेषलाई श्राद्ध भन्न सकिन्छ । श्राद्धलाई पितृ यज्ञ पनि भन्न सकिन्छ । यस्ता कर्महरूको व्याख्यान मनुस्मृति आदि धर्मशास्त्रहरू, पुराणहरू तथा श्राद्ध कल्पलता, श्राद्धतत्त्व आदि अनेक ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ । महर्षि पराशरका अनुसार देश, काल तथा पात्रमा हविष्यादि विधिद्वारा जुन कर्म तिल, जौ, कुश तथा मन्त्रहरूद्वारा गरिन्छन्, त्यसैलाई श्राद्ध भनिन्छ । त्यस्तै ब्रह्मपुराणका अनुसार देश, काल र पात्रमा विधिपूर्वक श्रद्धाद्वारा पितृहरूको उद्देश्य गरेर जुन वस्तु ब्राह्मणहरूलाई दिइन्छ, त्यसैलाई श्राद्ध भनिन्छ ।
श्राद्धकर्ताको कल्याणका कुरामा पनि भनिएको छ- जसले विधिपूर्वक शान्त भएर श्राद्ध गर्छ, त्यो सबै पापले रहित भएर मुक्ति प्राप्त गर्छ र फेरि यो संसार चक्रमा आउनुपर्दैन । -कूर्मपुराण
अतः पितृगणको सन्तुष्टि र आफ्नो कल्याणका लागि पनि श्राद्ध अवश्य गर्नुपर्छ । यस संसारमा श्राद्धभन्दा कल्याणको अर्को कुनै उपाय छैन । श्राद्ध गर्नाले श्राद्धकर्ताको आयु, धन तथा कीर्तिलाई बढावा मिल्छ भन्ने शास्त्रीय मान्यता छ ।
पितृ भन्नाले नेपाली समाजमा परलोक गएका आफ्ना पुर्खा भन्ने बुझिए पनि अलिक फराकिलो दृष्टिले हेर्दा पितृ शब्दको दुई अर्थ लाग्ने गर्छ । पितृ भन्नाले पिता भन्ने पनि बुझिन्छ भने पितृ भन्नाले अर्को अर्थमा परलोक गमन भइसकेका आफ्ना स्त्री-पुरुषसहितका पुर्खा भन्ने पनि बुझिन्छ । त्यसका साथै श्राद्ध भन्नाले श्रद्धापूर्वक गरिने कार्यलाई श्राद्ध भन्ने गरिन्छ । यस्तो श्राद्ध आआफ्नो शाखा परम्परा, गृह्य सूत्र, लोकमतलाई पनि आधार मानेर गरिने गरिएको पाइन्छ ।
श्राद्धबाट सन्तुष्ट भएर पितृगणले श्राद्धकर्तालाई दीर्घायु, सन्तति, धन, विद्या, राज्य, सुख, स्वर्ग एवं मोक्ष प्रदान गर्ने हुन्छ । यसो हुनुको मुख्य कारण चाहिं मनुष्यको सबैभन्दा नजिकमा पितृगण रहन्छन् भन्ने परामनोवैज्ञानिक सिद्धान्त नै हो । जस्तो बालकको सबैभन्दा नजिकमा उसको पिता रहन्छन् र पिता नै बालकको उन्नतिको सर्वाधिक कारक हुन्छन् । त्यस्तै गरेर मनुष्यको उन्नति र संरक्षण अनि संवर्द्धनका लागि पितृगण सबैभन्दा नजिक हुन्छन् । देवताभन्दा शक्तिशाली भएर मनुष्यको सबैभन्दा नजिकमा रहने भएकाले नै देवतालाई दिएको फल पनि पितृगणले लिएर जान सक्छन् भन्ने मान्यता स्थापित भएको देखिन्छ ।
यसरी दैवी ऊर्जा तथा शक्ति मनुष्यले कति प्राप्त गर्न सक्छ भन्ने कुरामा उसका पितृगण मनुष्यसँग कति सन्तुष्ट छन् भन्ने कुरामा निर्भर रहन्छ । तसर्थ पनि देवतासँगको सान्निध्यका लागि तथा दैवी ऊर्जा र शक्ति प्राप्त गर्न पनि पितृहरूलाई श्रद्धा गर्नुपर्ने हुन्छ । पितृको जसले श्रद्धा गर्छन्, उनीहरूलाई दैविक दुःखबाट पितृहरूले सदैव मुक्त राख्छन् भन्ने लोकमत रहेको बुझ्न सकिन्छ ।
श्राद्धमा तीन कुराहरू अत्यन्त पवित्र मानिने गरिएको छ । कुतप नाम गरेको मुहूर्त अर्थात् दिनको दुई प्रहरपछिको समय, तिल र दौहित्र अर्थात् छोरीको सन्तान । कुतप नाम गरेको मुहूर्त श्राद्धकालका लागि अत्यन्तै शुद्ध समय मानिन्छ भने श्राद्धमा प्रयुक्त हुने तिलले श्राद्धस्थललाई पवित्र पार्ने र छोरीको सन्तानलाई झोलीको देवता मान्ने प्रचलन छ । यसरी हेर्दा शुद्ध समयमा, देवता सान्निध्य भएर, शुद्ध वातावरणमा श्रद्धापूर्वक गरिने कृत्य नै श्राद्ध हो ।
देवकर्ममा भाव नै मुख्य रूपले प्रधान हुने भए पनि पितृ कर्ममा भने भाव, विधि र भाषा पनि शुद्ध हुनुपर्छ भन्ने सिद्धान्त छ । त्यसैले भनिन्छ- ‘पितरो वाक्यमिच्छन्ति भावमिच्छन्ति देवताः’ । अर्थात्, पितृले वाक्य शुद्ध चाहन्छन् भने देवताले भाव शुद्ध चाहन्छन् ।
यसरी हेर्दा श्राद्ध एक पवित्र र कल्याणकारी कर्म हुनुका साथै यसमा विधिविधान, भाषा र भाव पनि प्रमुख रहने हुन्छ । श्राद्ध अनिवार्य गरिनुपर्ने कर्म भएकाले दीनहीन व्यक्तिले पनि सागैले मात्र भए पनि श्राद्ध गर्नैपर्छ, छोड्न हुँदैन भन्ने जस्ता शास्त्र वचनहरू निकै पाइने गरेको छ ।
श्राद्धको अघिल्लो दिनमा केश खौरेर शुद्ध भएर एक छाकमात्रै खाने चलन छ भने श्राद्धकर्ताकी पत्नीले भने केश खौरनुपर्ने नभए पनि श्राद्धको अघिल्लो दिन पिनाले टाउको नुहाउने प्रचलन रहेको छ । तर, श्राद्धकै दिनमा भने केश खौरन नहुने कुरा निर्णयसिन्धुमा पाइन्छ । प्रायश्चित कर्ममा तथा शुद्ध भएर गरिनुपर्ने कर्ममा कर्मको अघिल्लो दिन नै केश खौरनुपर्ने विधान नै रहेको पाइन्छ ।
देवकर्ममा भाव नै मुख्य रूपले प्रधान हुने भए पनि पितृ कर्ममा भने भाव, विधि र भाषा पनि शुद्ध हुनुपर्छ भन्ने सिद्धान्त छ । त्यसैले भनिन्छ- ‘पितरो वाक्यमिच्छन्ति भावमिच्छन्ति देवताः’ । अर्थात्, पितृले वाक्य शुद्ध चाहन्छन् भने देवताले भाव शुद्ध चाहन्छन् ।
जीवन र जगत दुई किसिमको हुन्छ । ती हुन्, १) भौतिक जीवन र जगत र २) अभौतिक अर्थात् आध्यात्मिक जीवन र जगत । यही भौतिक र अभौतिक जीवन र जगतलाई मुख्य आधार मानेर हाम्रो परम्परा चलेको छ र यो कुरा शास्त्रसम्मत पनि छ । स्वर्ग-नर्क-मोक्ष-उत्तम गति- परमानन्द जस्ता शब्दहरू र तिनको प्रयोग अभौतिक जगतसँग सम्बन्धित रहेको बुझ्न सकिन्छ ।
पूर्वजन्म र पुनर्जन्मको सिद्धान्त अवलम्बन गरिएको हाम्रो सभ्यतामा मानिस मरेपछि त निश्चय नै अर्को जन्म लिन पुग्छ वा अर्को योनीमा पुग्छ भन्ने शास्त्रमत र लोकमत पनि रहिआएकै छ । यस्ता अवस्थामा श्राद्ध गरेर के गर्ने ? १० वर्षअघि बित्नुभएको पिता अहिले पुनर्जन्मको चरणमा कता, कुन योनीमा पुगेर जन्मनु भइसक्नुभयो होला । अब अहिले यहाँ श्राद्ध गरेर पुनर्जन्ममा गइसकेको व्यक्तिलाई के फाइदा ? श्रम र समयको सत्यानाशमात्रै हुने भयो भन्ने जस्ता तर्क पनि नपाइने त होइन । तर, श्राद्ध आदि कर्म पारलौकिक जीवनलाई आधार मानेर गरिने भएकाले केवल भौतिक जगतको दृष्टिले मात्रै यस्ता तर्क गरिनु उचित होइन । पुनर्जन्मको चक्रमा गइसकेको भए पनि श्राद्धकर्ताले आफ्नो कर्तव्यलाई निर्वाह गरेको खण्डमा त्यसरी पुनर्जन्ममा गएको व्यक्तिले पनि श्राद्धको फल पाउने हुन्छ भने यदि त्यस्तो पुनर्जन्म यदि नीच योनीमा हुन गएको छ भने पनि त्यस्तो नीच योनीबाट छुटकारा दिलाएर उच्चतम योनीमा लैजाने र सुख र खुशी दिने कार्य श्राद्ध कर्मले गर्ने गर्छ ।
भनिन्छ, चन्द्रलोकको पारिपट्टिको लोकमा पितृहरू निवास गर्छन् । आफ्ना कर्मअनुसारको फलको भुक्तान जीवात्माले परलोकमा समेत गर्नुपर्ने भएकाले तदनुकूलको कर्मफल त भोगेकै हुन्छ । ती कर्मफलको भुक्तानमा थप शुभ फलदायक तत्त्वका रूपमा श्राद्ध गर्ने गरिन्छ ।
परामनोविज्ञानका अनुसार भने मनुष्य लोकको एक वर्ष पितृहरूका लागि एक दिन बराबरको हुने गर्छ । धर्तीमा दक्षिणायन रहेका बेलामा पितृलोकमा दिनको समय हुन्छ भने धर्तीमा उत्तरायण रहेका बखतमा पितृलोकमा रातको समय हुन्छ । वार्षिक रूपमा मृतकको तिथिअनुसारको गरिने तिथि श्राद्धले पितृहरूले रातको भोजन पाउने र सोह्र श्राद्धको समयमा गरिने श्राद्धले पितृलोकमा पितृहरूले दिनको भोजन प्राप्त गर्ने गर्छन् । दक्षिणायनको सुरुवात श्रावण महिनादेखि नै हुने भए पनि सोह्र श्राद्धको यो समय पितृलोकमा भोजनकालको समय हो भन्ने मान्यता पनि छ ।
तसर्थ पनि श्राद्धको रहस्य बुझ्न परामनोविज्ञान अनि अध्यात्म पनि बुझ्न आवश्यक पर्छ । भौतिक जीवनको मृत्युपछिको समयमा पनि जीवनको अर्थात् आत्माको अस्तित्व विद्यमान नै रहन्छ भने जीव आफ्नो मनोदशा अनुकूलको लोकलोकान्तरको यात्रामा जान्छ । यस्तो अवस्थामा ती यात्रारत जीवलाई अर्थात् पुर्खालाई सम्झेर दिइने पिण्डले आफ्ना पुर्खाको पनि सम्मान हुने र ती यात्रारत पुर्खाको जीवन पनि सहज हुने र उनीहरूको आशीर्वाद पनि लोकमा रहेकाहरूका लागि सुरक्षित रक्षाकवच बन्न पुग्ने हुन्छ । दृश्य र अदृश्य दुवैखाले प्राणीहरूमा सम्मान र आदर गर्नु भन्ने आदर्शलाई पनि श्राद्ध आदि कर्मले मलजल गरेको छ भने यसलाई उच्चतम मानव आदर्शको विन्दु पनि भनेर परिभाषित गर्न सकिन्छ ।
भनिन्छ, चन्द्रलोकको पारिपट्टिको लोकमा पितृहरू निवास गर्छन् । आफ्ना कर्मअनुसारको फलको भुक्तान जीवात्माले परलोकमा समेत गर्नुपर्ने भएकाले तदनुकूलको कर्मफल त भोगेकै हुन्छ । ती कर्मफलको भुक्तानमा थप शुभ फलदायक तत्त्वका रूपमा श्राद्ध गर्ने गरिन्छ ।
यस्तै गरेर महाभारतमा एक प्रसङ्ग आउँछ । मृत्युपछि दानवीर कर्ण स्वर्गमा पुगेछन् । उनलाई त्यहाँ सुनैसुनको थालीमा सुन नै भोजनका लागि दिइएछ । अन्न नदिएको र भोजनका लागि पनि सुनमात्रै दिएकाले कर्णले सोधेछन्- ‘किन मलाई खान अन्न नदिएर सुन दिएको ? सुन कसरी खान सक्नु मैले ? भोजन त अन्नको पो हुन्छ त !’ तब त्यहाँ कसैले कर्णलाई जवाफ दियो- ‘हे कर्ण ! तिमीले धर्तीमा रहँदा केवल सुनमात्रै दान गरेका थियौ । जीवनमा तिमीले कहिल्यै अन्नको दान नगरेका हुनाले तिमीलाई यहाँ पनि अन्न भोजनका रूपमा नदिएको हो । किनकि तिमीले स्वर्गमा अन्नको भोजन पाउन धर्तीमा रहँदासमेत अन्नकै दान गर्नुपर्थ्यो ।’ अब मैले के गर्ने त भन्ने कर्णले सोधेको प्रश्नमा फेरि जवाफ आयो- ‘तिमीले धर्तीमा आफू जीवित रहँदा अन्नदान नगरे पनि धर्तीमा रहेका आफ्ना आफन्तलाई भन्नु कि मेरा नाममा श्राद्ध तर्पण दिनुहोला । त्यही श्राद्धमा तर्पणमा दिइएको जल र पिण्डमा दिइएको अन्न नै मैले स्वर्गमा भोजनका रूपमा पाउनेछु ।’ त्यसपछि तदनुकूलको कार्य गरेपश्चात् नै कर्णले स्वर्गमा भोजनको प्राप्ति गरे भन्ने प्रसङ्ग पनि पाइन्छ ।
यी सबै कुराहरूलाई विचार गर्दा अन्नको महिमा ऊजागर हुनुका साथै लोक र परलोकको सम्बन्ध पनि रहेको बुझ्न सकिन्छ । अन्नको पिण्डलाई लगेर नदीमा विसर्जन गर्नाले उक्त अन्न अन्य जलीय जन्तुको पनि आहारा बन्नसक्ने हुन्छ । ‘वसुधैव कुटुम्बकम्’ भन्ने सिद्धान्तअनुरुप तथा पृथ्वीमा सबैको बाँच्न पाउने अधिकारको सुनिश्चितता पनि श्राद्धबाट हुन जाने देखिन्छ । त्यसरी दिइएको पिण्ड जलीय जन्तुले भक्षण गरे पनि वा नगरे पनि त्यसको अतिशय फल भने पितृलोक पुग्ने विश्वास छ भने श्राद्धमा नियुक्त भएको ब्राह्मणको शरीरमै पनि प्रवेश गरेर त्यसको अतिशय भाग पितृले ग्रहण गर्छन् भन्ने मान्यता छ भने श्राद्ध गराउने ब्राह्मणले पनि श्राद्ध सकिएपछिको अवस्थामा पनि त्यो दिन र रातको समय उच्च शुद्धिका साथ रहनुपर्छ भन्ने कुरा मनुस्मृतिमा पनि आएको छ ।
श्राद्ध गर्नुको रहस्यलाई बुझ्न परामनोविज्ञान तथा अध्यात्मलाई पनि बुझ्नु आवश्यक हुन्छ । आत्माको अमरताको सिद्धान्त हाम्रा विविध शास्त्रहरू अनि लोकमतमा पनि प्रचलित नै कुरा हो । मृत्युपछि पनि जीवनको अस्तित्व कायम छ भन्ने हाम्रो मान्यता नै यसको प्रमुख कारण पनि हो । जीवनको समाप्तिपछिको अवस्थामा जीव आफ्नो कर्मानुसारको लोकलोकान्तरमा जान्छ भन्ने शास्त्र वचन र लोक मान्यतालाई आत्मसात् गरेर हेर्दा पितृहरूलाई दिइने पिण्डले वा पितृहरूको कल्याणको उद्देश्य राखेर श्रद्धापूर्वक गरिएका श्राद्धले उनीहरूले परलोकमा भोगिरहेका कष्टहरू कम हुने र शान्तिको आभास गर्न पाउने हुन्छन् ।
पुनर्जन्मको सिद्धान्तअनुसार मरेपछि जीव आफ्नो कर्मानुसारको योनीमा जन्म लिन पुग्ला, त्यस्तो अवस्थामा श्राद्ध किन गर्ने भन्ने जस्ता प्रश्न पनि उठ्नसक्छ । यदि जीव मरेपछि पुनर्जन्मको क्रममा छ भने पनि यहाँ गरिएको श्राद्धले उसको वर्तमान जीवन शुद्ध हुने र प्राप्त भएको पिण्डले निच योनीबाट छुटकारा पाउने हुन्छ । यसका साथै पिण्ड प्राप्त भएपछि पितृहरूले दिने आशीर्वादको पनि ठूलो महत्त्व रहन्छ । पितृले खुशी भएर दिएको आशीर्वादले उक्त आशीर्वाद प्राप्त गर्नेका कुलमा उन्नत, जागरुक, वीर सन्तति जन्म लिन पुग्ने तथा श्राद्धकर्ताले यस लोक र परलोक दुवैमा सुख, शान्तिको अनुभूति गर्ने हुन्छ ।
त्यस्तै ज्योतिषीय मतमा पनि यदि कुण्डलीमा पितृदोष छ र त्यसले गर्दा जीवनमा उन्नतिमा असर गर्ने गरेको छ भने पनि त्यस्तो अवस्थामा पितृदोषको निवारणका लागि श्राद्ध गरेमा जीवन सहज हुन्छ । पितृदोषको असर कम गर्न श्राद्धभन्दा सहज र सरल उपाय अरू देखिँदैन ।
ज्योतिषीय मतमा पनि यदि कुण्डलीमा पितृदोष छ र त्यसले गर्दा जीवनमा उन्नतिमा असर गर्ने गरेको छ भने पनि त्यस्तो अवस्थामा पितृदोषको निवारणका लागि श्राद्ध गरेमा जीवन सहज हुन्छ । पितृदोषको असर कम गर्न श्राद्धभन्दा सहज र सरल उपाय अरू देखिँदैन ।
जसले पितृ श्राद्ध गर्दैन, त्यस कुलमा न वीर पुरुषार्थ प्रदर्शन गर्नेहरूले जन्म लिन्छ न त त्यस कुलमा निरोगी र दीर्घायु व्यक्तिहरू जन्मछन् । कसै गरे पनि पितृको अवहेलना गरेर श्राद्ध नगर्नेहरूको कल्याण हुँदैन र त्यस्ता व्यक्ति मरेपछि नरक जान्छ भन्ने शास्त्रवचन पाइन्छ ।
श्राद्ध नगर्नेलाई पाइला पाइलामा कष्टको सामना गर्नुपर्ने हुन्छ । श्राद्ध गर्नुपर्नेले नगरिदिँदा पितृहरूले बाध्य भएर श्राद्ध नगर्नेहरूको रगत पिउँछन् । साथसाथै तिनका पितृहरूले श्राप दिएर फर्कन्छन् भन्ने वचनहरू पनि श्राद्धमा पाइन्छन् । सर्वहितैषी तथा लोक कल्याणकारी कर्मका रूपमा रहेको श्राद्धलाई जसरी पनि गर्नैपर्ने मान्यताका साथ श्राद्ध परम्परा चलेको पाइन्छ ।
श्रीमद्भगवदगीतामा पनि पिण्ड क्रिया र जल क्रियाको नाश भएमा अर्थात् त्यसको प्रक्रिया नपुगेका खण्डमा पितृहरू आफ्नो स्थानबाट खस्न पुग्छन् । ‘पतन्ति पितरो ह्येषां लुप्तपिण्डोदकक्रियाः।’ -श्रीमद्भगवद्गीता १/४२ ।
त्यसैले पनि जतिसुकै दीनहीन अवस्थामा भए पनि व्यक्तिले आफ्नो यथाशक्ति श्राद्ध गरोस् । श्राद्ध कर्म छाड्न हुँदैन । एकै मुठी सागले भए पनि श्राद्ध गरोस् । तर, श्राद्धबाट विमुख नहोस् भन्ने शास्त्र वचन र लोकमत पनि रहेको पाइन्छ । देव कार्य तथा पितृ कार्य आदिमा कहिल्यै पनि आलस्य तथा प्रमाद गर्नुहुँदैन । आलस्य तथा प्रमाद गर्नाले पाप लाग्ने र त्यसरी गरिएको श्राद्ध पितृले नपाउने हुँदा श्राद्ध कर्म आलस्य तथा प्रमादरहित भएर सम्पन्न गर्नुपर्छ । श्राद्ध कर्म भौतिक जगत, मनोविज्ञान, परामनोविज्ञान, सृष्टिचक्र र आध्यात्मिक दृष्टिले पनि युक्त रहेको हुँदा श्राद्ध गर्नुपर्ने कर्तव्य भएका सबै व्यक्तिले आफ्ना पितृका नाममा श्राद्ध आदि कर्म अनिवार्य रूपले गर्नैपर्ने हुन्छ ।
नेपाली समाजको इतिहासलाई बुझ्दै जाँदा नेपाली समाज भौतिक जीवन सँगसँगै मनोविज्ञान, परामनोविज्ञान र आध्यात्मिक विज्ञानको एक उत्कर्षमा पुगेर पतनमा झर्दै जाँदा हालको अवस्थामा आइपुगेको बुझ्न सकिन्छ । यसका प्रमाणहरूका अवशेषका रूपमा नेपाली समाजमा र प्राच्य शास्त्रहरूमा विद्यमान रहेका मनोविज्ञान र परामनोविज्ञानका तथ्य र लोक व्यवहारलाई लिन सकिन्छ । सबै नेपालीले आआफ्नो परम्परा, शास्त्र, लोक सिद्धान्त आदिलाई आधार मानेर दिवङ्गत आफ्ना पुर्खालाई सम्झने गरेको पाइन्छ । मानव सभ्यताको उच्चतम अवस्थामा पुगेर अटुट परम्पराका साथमा आएको श्राद्ध परम्परा साँच्चै नै अद्भूत र आदरयोग्य अनि अनुशरणयोग्य रहेको मान्न सकिन्छ ।
समाजमा प्रचलित पूर्वजन्म र पुनर्जन्मका व्याख्या, तिनका बारेमा शास्त्रमा पनि व्याख्या पाइनु, समाजले पनि मनोवैज्ञानिक रूपले गर्दै आएका विविध उपचारहरू, मृत्युपछिका संस्कार तथा मृत्युपछिको अवस्थामा जीवको गतिका बारेमा समाज अनि शास्त्रमा भएका व्याख्या र लोक व्यवहारले पनि प्राच्य सभ्यता सबै खाले विशेषताले युक्त र त्यसलाई समाजमा व्यवहारिक रूपले नै प्रयोगमा ल्याइने गरेको बुझ्न सकिन्छ ।