किन उठाउँदैछ सरकारले साउनमै ऋण ? – Nepal Press

किन उठाउँदैछ सरकारले साउनमै ऋण ?

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना (साउन) मै ऋण उठाउँदैछ । चालू आर्थिक वर्षभरी २ खर्ब ४० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको सरकारले साउन १९ गते नै १० अर्ब आन्तरिक ऋण उठाउने तयारी गरेको छ ।

गत वर्ष सरकारले कात्तिकमा मात्र ऋण उठाएको सार्वजनिक ऋण व्यवस्थापनको (पिडिएमओ) कार्यालयले जनाएको छ । तर यो पटक ब्याजदर केही सस्तो भएकोले ऋण उठाइहालौं भन्ने मानसिकतामा सरकार देखिएको हुन सक्ने पिडिएमओ स्रोतले बताएको छ ।

अर्कोतर्फ भदौ असोजमा खर्च गर्ने पैसा पनि नहोला भनेर अहिले देखिनै जोहो गर्न खोजेको पनि हुनसक्ने स्रोत बताउँछ । यो वर्ष सरकारले साउनमा मात्रै २ पटक गरी २० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदैछ । अहिले करिब ६ प्रतिशत ब्याजदर रहेको पिडिएमओले जनाएको छ । गत वर्ष सरकारले १२ प्रतिशतसम्मको ब्याजदरमा आन्तरिक ऋण उठाएको थियो ।

पहिलोपक नेपाल राष्ट्र बैंकले ६ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘छ’ बोलकबोल प्रक्रियाद्वारा साउन १९ गते निष्काशन गर्न लागेको छ । १० अर्बको विकास ऋणपत्र १८ गते बोलकबोल हुनेछ । यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने र अर्धवािर्षक रुपमा भुक्तानी हुनेछ ।

यो ऋणपत्र धितो राखी कर्जा लिन/दिन पाइनेछ । बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले ऋणपत्र खरिद गर्न सक्नेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात ८.५ अर्ब र १.५ अर्ब छुट्याइएको छ ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने केन्द्रीय बैंकले जनाएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिनेछ ।

राष्ट्र बैंकमार्फत सरकारले पहिलो त्रैमासमा नै (साउन देखि असोजसम्म) ५५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । नेपाल सरकारले आर्थिक विकासका लागि न्यून वित्त परिचालनको स्रोतका रूपमा आन्तरिक ऋण लिदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *